काठमाडौँ – नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बुधवार मतदान हुने भएको छ। मतदान गर्न लाइनमा बसेका प्रतिनिधिहरू मङ्गलवार बेलुकी निराश हुँदै महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपबाट फर्किए।
अध्यक्ष पदका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेलबीच कानेखुसी भएपछि मतदान प्रक्रिया रोकिएको हो। ओली प्यानलका महासचिव शङ्कर पोखरेलले मतदान प्रक्रिया बुधवार बिहान सुरु हुने जानकारी गराएपछि लाइनमा बसेका प्रतिनिधिहरू फर्किएका हुन्।
एमालेले विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै मङ्गलवार बेलुकी ७ बजेदेखि सुरु हुने भनिएको मतदान बुधवार बिहान ८ बजेदेखि सुरु गर्ने गरी स्थगित गरिएको जानकारी दिएको छ। यसअघि अपराह्न ४ बजेदेखि मतदान हुने तालिका रहे पनि पटक–पटक समय सारिँदा प्रतिनिधिहरू लामो समय मतदान स्थलमै पर्खिन बाध्य बनेका थिए।
मङ्गलवार बेलुकी ७ बजेदेखि मतदान हुने भनिएकाले प्रतिनिधिहरू भृकुटीमण्डपमा लामबद्ध बसेका थिए। तर विद्युतीय भोटिङ मेसिन सञ्चालनमा प्राविधिक समस्या आएको, मतदान केन्द्र व्यवस्थापन र मतदाता व्यवस्थापन अपेक्षित रूपमा तयारी नपुगेको भन्दै अन्ततः मतदान स्थगित गरिएको हो।
एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। भृकुटीमण्डपस्थित मतदान स्थलमा ओली र ईश्वर गुटका नेताहरूले दिनभर आफ्ना उम्मेदवारका पक्षमा भोट मागेका थिए।
उम्मेदवारीलाई लिएर असन्तुष्ट बनेका एमालेका केही नेताहरू अध्यक्ष ओलीसँग टाढिएका छन्। उनीहरू प्यानल छोडेर पार्टीभित्रकै स्वतन्त्र उम्मेदवार बनेका छन्। महासचिव पदमा ओली पक्षबाट शङ्कर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डेय उम्मेदवार छन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीलाई सामूहिक नेतृत्वमा लैजान आफूले अध्यक्षको उम्मेदवारी दिएको भन्दै सबै प्रतिनिधिले मतदान गरेर जिताउने विश्वास व्यक्त गरेका छन्।
कुनै बेला केपी शर्मा ओलीलाई ‘फुटबलको पेले’ भन्ने एमाले नेता कृष्णगोपाल श्रेष्ठ पछिल्लो समय भने ईश्वर पोखरेल समूहबाट सचिव पदका उम्मेदवार बनेका छन्। पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका श्रेष्ठले नयाँ नेतृत्वसहित पार्टी रूपान्तरण गर्ने उपयुक्त अवसर आएको बताएका छन्।
एमाले केन्द्रीय नेतृत्वका लागि ३ सय १ पदमा साढे ६ सयभन्दा बढी उम्मेदवार रहेका छन्। महाधिवेशनमा २ हजार २ सय ६३ जना मतदाता छन्। विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भए पनि उम्मेदवार सङ्ख्या धेरै भएकाले मतदान सम्पन्न हुन कम्तीमा १० घण्टा लाग्ने पार्टी केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले जानकारी दिएका छन्।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्षमुनिका लीलामणि गौतम, सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन्।
यस्तै, केन्द्रीय सदस्य युवा (४० वर्षमुनि) समूहबाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्षमुनिको उमेर समूहबाट अमरकुमार यादव र रौनित साह, मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धिकी, पिछडिएको क्षेत्र महिलातर्फ वदमी क्वारी बुढा (बोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्।
पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार दुई जनाको उम्मेदवारी खारेज गरिएको छ। केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको हो।
यस्तै, एक उपमहासचिवसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलका अनुसार उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
ओलीलाई नेता व्यवस्थापन गर्न सकस, उपाध्यक्षमा बिन्दा एक्ली महिला उम्मेदवार
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.