निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘बुद्धलाई पनि शोभराज बनाउने दलको मेसिन’

‘बुद्धलाई पनि शोभराज बनाउने दलको मेसिन’

नयाँ पुस्ताको राजनीति, पुरानो दलको सङ्कट

85
SHARES

जेनजी आन्दोलनपछि फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएको छ। उक्त निर्वाचनमा भाग लिनका लागि २६ वटा नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्।

यसअघिका पुराना राजनीतिक दलहरू आफूलाई समयअनुसार रूपान्तरण गर्न नसकेकै कारण नयाँ दलहरू जन्मिन पुगेको लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल बताउँछन्।

नयाँ राजनीतिक दलहरूको उदय र पुराना दलहरूको पुनर्गठनको आवश्यकता विषयमा मार्टिन चौतारीले छलफल आयोजना गरेको थियो। उक्त छलफलमा राजनीतिक अभियन्ता दाहालले नयाँ दलहरू किन र कसरी उदय भए भन्ने कारणहरूबारे आफ्नो धारणा राखे।

छलफलमा नेपालको इतिहासमै पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नेतृत्वमा निर्वाचनमा भाग लिन लागेको समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बु (चञ्चला)ले दल दर्ता गरेर चुनावी प्रक्रियामा जानु पर्ने बाध्यता र आवश्यकता औँल्याइन्।

दाहालका अनुसार राजनीति एउटा समग्र विषय हो। राजनीतिका धेरै पक्षहरू हुन्छन् र कहीँ न कहीँ सबै नागरिक राजनीतिका अङ्ग हुन्। राजनीतिका अनेकौँ अङ्गहरूमध्ये राजनीतिक दल पनि एक महत्त्वपूर्ण अङ्ग हुन्। पुराना दलहरूलाई किन आलोचना गरिन्छ भन्ने प्रश्नको उत्तर सहज रहेको उनको भनाइ छ,समाजलाई छिटोछिटो परिवर्तन चाहिएको छ।

उनका अनुसार राजनीति समय, सपना र समाजसँग गाँसिएको विषय हो। राजनीति समयसँगै अघि बढ्नुपर्छ। यदि कुनै राजनीति समयसँग हिँड्न सकेन, लय मिलाउन सकेन र ताल मिलाउन सकेन भने त्यो राजनीति समाजका लागि उपयुक्त रहँदैन। यस्तो राजनीतिले समाजलाई योगदान गर्न सक्दैन।

समय अत्यन्त तीव्र गतिमा अघि बढिरहेको अवस्थामा राजनीतिले त्यो गति समाउन नसक्दा त्यस्तो राजनीति आलोचना योग्य बन्छ। दाहालका अनुसार नेपाली राजनीतिको दुर्दशा यही अवस्थाबाट देखिन्छ।

उनले प्रश्न उठाए, नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू गठन हुँदाका बेला हाम्रो समय कस्तो थियो? हाम्रो समाज कस्तो थियो? समाजका आवश्यकताहरू के थिए? समाजका सपनाहरू के थिए? हाम्रो उत्पादन सम्बन्ध कस्तो थियो? हाम्रो सामाजिक जीवन कस्तो थियो? यी सबै पक्ष हेर्दा आजको अवस्था नितान्त फरक ठाउँमा पुगेको छ।

हिजो नेताले टिकट बाँड्दा, नेताको खल्तीबाट टिकट दिँदा कसैले प्रश्न उठाउँदैनथ्यो होला। आज भने प्राइमरी इलेक्सनको बहस सुरु भएको छ। यसले लोकतन्त्रलाई हेर्ने दृष्टिकोण नै फेरिएको सङ्केत गर्छ।

समय तीव्र गतिमा अघि बढ्दै जाँदा उत्पादन सम्बन्धहरू फेरिए। मानिसको सोच्ने तरिका फेरियो। आवश्यकताहरू फेरिए। सपनाहरू फेरिए। तर राजनीतिले समाजका बदलिएका आवश्यकता र सपनालाई सम्बोधन गर्ने, अनुभूति गर्ने र बुझ्ने सामर्थ्य गुमाउँदै गयो।

यही कारणले अब यो राजनीति काम लाग्दैन, यो पार्टीले समाजलाई योगदान गर्न सक्दैन भन्ने निष्कर्षमा समाज पुगेको दाहालले बताए। किनकि यस्तो राजनीतिले समाजको सपना बुझ्न सक्दैन, आवश्यकता बुझ्न सक्दैन र अपेक्षाहरू बुझ्न सक्दैन। यसले आफूलाई रूपान्तरण गर्ने र समाजको गतिसँग आफ्नै गति मिलाउने सामर्थ्य गुमाइसकेको छ।

त्यसैले राजनीतिको पुनर्गठन आवश्यक भएको निष्कर्षमा पुगिएको उनको भनाइ छ। पहिलो कुरा समाज फेरियो, त्यससँगै राजनीतिका आवश्यकता पनि फेरिए। दाहालका अनुसार नेपाली कांग्रेस वा एमालेजस्ता कम्युनिस्ट पार्टीहरू गठन हुँदै गर्दा उनीहरूले विचारको तहमा लोकतन्त्र र समाजवाद चाहिएको बताएका थिए।

नेपाली कांग्रेसले २००७ सालमा भनेको लोकतन्त्र कस्तो थियो? आजको पुस्ताले जुन तहको लोकतन्त्रको कल्पना गर्छ, सहभागितामूलक र समावेशी लोकतन्त्र। त्यस्तो लोकतन्त्रको अवधारणा नेपाली कांग्रेस स्थापना हुँदाका बेला विद्यमान नै थिएन। त्यसबेला लोकतन्त्र औपचारिक स्वरूपमा बुझिन्थ्यो । पार्टी खोल्ने, चुनाव गर्ने, जसले जित्छ उसैले सत्ता सञ्चालन गर्ने, र जो कमजोर हुन्छ ऊ प्रतिपक्षमा बस्ने, लोकतन्त्रको यही बुझाइ थियो।

औपचारिक लोकतन्त्रको स्थापना गर्न नेपाली कांग्रेसले करिब ३० वर्ष लामो सङ्घर्ष गर्‍यो। त्यस अर्थमा त्यो सङ्घर्ष सही नै थियो। तर प्रश्न उठ्छ, के आजको लोकतन्त्र त्यही स्तरको लोकतन्त्रमै सीमित हुन सक्छ? फर्केर हेर्दा आजको समाज, आजको समय र आजको पुस्ताका सपना औपचारिक लोकतन्त्रले मात्रै सम्बोधन गर्न सक्दैन भन्ने देखिन्छ।

आज हामी सहभागितामूलक लोकतन्त्रको कुरा गरिरहेका छौँ। समावेशी लोकतन्त्रको बहस गरिरहेका छौँ। पार्टीभित्र सार्वभौम सदस्य (सोभरेन्ट मेम्बर) भएर बोल्न पाउने अधिकारको चर्चा भइरहेको छ। पहिले सदस्यहरूलाई केवल सङ्घर्ष गर्ने र आहुति दिनका लागि पार्टीमा आबद्ध गरिन्थ्यो। अहिले भने प्रश्न गर्ने, आलोचना गर्ने र पार्टीभित्र अधिकार सम्पन्न, सार्वभौम सदस्यको अवधारणा स्थापित हुँदै गएको छ।

पहिले एउटै व्यक्ति सर्वेसर्वा हुने, सम्पूर्ण प्राधिकार उसैमा केन्द्रित हुने पार्टी संस्कृतिबाट आज एक व्यक्ति, दुई कार्यकालको बहससम्म आइपुगिएको छ। हिजो नेताले टिकट बाँड्दा, नेताको खल्तीबाट टिकट दिँदा कसैले प्रश्न उठाउँदैनथ्यो होला। आज भने प्राइमरी इलेक्सनको बहस सुरु भएको छ। यसले लोकतन्त्रलाई हेर्ने दृष्टिकोण नै फेरिएको सङ्केत गर्छ।

विचारको तहमा लोकतन्त्रको त्यो सङ्कुचित घेराबाट समाज धेरै अगाडि बढिसकेको छ। आज हामी खुला आकाशमा आइपुगेका छौँ, जहाँ लोकतन्त्रको नाममा स्वतन्त्र रूपमा उड्न सकिन्छ र आफ्नै सार्वभौमिकता प्रकट गर्न सकिन्छ। यही दृष्टिकोणबाट हेर्दा अब राजनीतिक दलहरूको पुरानो बुझाइले मात्र पुग्दैन।

त्यसैले विचारको तहमा र लोकतन्त्रको अभ्यासको तहमा अब राजनीतिक दलहरूको पुनर्गठन आवश्यक भइसकेको निष्कर्षमा बहस पुगेको छ।

यस्तै कुरा कम्युनिस्ट राजनीति र समाजवादका सन्दर्भमा पनि लागू हुन्छ। कम्युनिस्टहरू स्थापना हुँदाको मूल लक्ष्य ‘हामी समाजवाद स्थापना गर्छौँ’ भन्ने नै थियो। तर प्रश्न उठ्छ— त्यो समाजवाद कहाँ पुग्यो? तीन दशकभन्दा बढी समयको समाजवादी अभ्यासले हाम्रो जीवनमा के परिवर्तन ल्यायो? अझ कम्युनिस्ट पार्टीहरू जुन ढङ्गले सत्तामा पुगे, त्यस अवधिमा हामीले समाजवादको छेउ टुप्पोसमेत देख्न सकेनौँ।

हाम्रा पार्टीहरू कुवाजस्ता भएका छन्। कुवामा एउटै पानी हुन्छ। तर पार्टीहरू कञ्चन झरनाजस्ता हुनुपर्ने थियो, जहाँ निरन्तर पानी फेरिन्छ, नयाँ पानी आउँछ र पानी सधैँ कञ्चन रहन्छ। उनका अनुसार पुराना पार्टीहरूले आजको युग र आजको पुस्तालाई सम्बोधन गर्न सक्ने क्षमता गुमाइसकेका छन्।

विश्वभरका समाजवादी अनुभवहरूले पनि के देखाएका छन् भने तिनले हाम्रो जस्तो उदार, स्वतन्त्र र बहुआयामिक सपनाहरूलाई सम्बोधन गर्न सकेनन्। त्यसैले हाम्रो राजनीति अहिलेसम्म जे विचार र एजेन्डा बोकेर आइरहेको छ, त्यो अब काम नगर्ने अवस्थासम्म आइपुगेको निष्कर्षमा बहस पुगेको छ।

अब या त पुराना पार्टीहरू पुनर्गठित हुनुपर्‍यो, रूपान्तरित हुनुपर्‍यो, अन्यथा तिनले समाजलाई कुनै योगदान दिन सक्दैनन्। हिजोका पार्टीहरू लोकतन्त्रको आन्दोलनका एजेन्डा बोकेर अगाडि बढे।

तर आजको समाजका लागि पर्यावरण महत्त्वपूर्ण एजेन्डा बनेको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका सवालहरू केन्द्रीय एजेन्डा बन्दै गएका छन्। हाम्रा धेरै पार्टीहरूलाई आजको समाजले देखिरहेका यी सपनाहरू र एजेन्डाबारे थाहा नै छैन।

जब यी कुरा थाहा हुँदैनन्, एजेन्डा बन्दैनन्। जब एजेन्डा बन्दैनन्, राजनीतिमा सही विषय प्रवेश गर्न सक्दैनन्। र, जब सही एजेन्डा हुँदैनन्, तब ती पार्टीहरूको उपादेयता स्थापित हुन सक्दैन। त्यसैले विचारको तहबाट पनि पुनर्गठन आवश्यक भयो, एजेन्डाको तहबाट पनि पुनर्गठनको आवश्यकता देखियो।

राजनीतिक संस्कृतिको दृष्टिले हेर्दा पुराना पार्टीहरूले यस्तो संस्कार स्थापित गरे, जहाँ नेताहरू विशिष्ट बन्दै गए। नेताहरू ‘अर्कै वर्ग’का मानिस बने, र कार्यकर्ता, सदस्य तथा आम नागरिक भने त्योभन्दा तल्लो तहमा बस्नुपर्ने ठुलो वर्गका रूपमा निर्माण भए। यस्तो संस्कृतिले लोकतन्त्रको मूल सार कतै पनि स्थापित गर्न सकेन।

फर्केर हेर्दा हाम्रो समाजमा लोकतन्त्रको ‘स्कुल’ नै सही ढङ्गले स्थापित हुन सकेन कि भन्ने प्रश्न उठ्छ। लोकतन्त्रमा जसरी सोच्नुपर्ने थियो, त्यसरी किन सोचिरहेका छैनौँ? नेताहरूले लोकतान्त्रिक ढङ्गले सोच्ने अभ्यास किन गर्न सकेनन्?

हाम्रो राजनीतिक संस्कृति यस्तो बन्यो कि नेतालाई सय केजीको माला लगाइदिएपछि मात्र नेता जस्तो देखिने। अध्यक्षलाई विशेष सोफामा राख्नुपर्ने। ठिक ढङ्गले सम्बोधन गरेन भने नेता रिसाउने। यही क्रमले पार्टी बिस्तारै निजी कम्पनीजस्तै बन्दै जाने र सबैले ‘उहाँको आदेश’ पालना गर्नुपर्ने व्यवहारिक संस्कृति विकास भयो।

लोकतान्त्रिक संस्कृतिको दृष्टिले हेर्दा यो अवस्था आश्चर्यजनक देखिन्छ। अधिवेशन हुन्छ, देशभरिबाट कार्यकर्ता आएर छलफल गर्छन्,अधिवेशनले केही एजेन्डा पारित गर्छ। तर केही महिनामै ती एजेन्डा खण्डित हुन्छन्। उदाहरणका लागि भदौ २२ गते नेकपा एमालेले विधान महाधिवेशन सम्पन्न गर्‍यो।

विधान महाधिवेशनमा जे विषय संशोधन गरियो, त्यसैलाई अहिले ठ्याक्कै जस्ताको तस्तै पुनः बहाली गरियो, एउटा विषय, उमेर हद बाहेक। चार–पाँच दिनसम्म छलफल गरेर अन्त्यमा महाधिवेशन यसो भन्दै टुङ्ग्याइयो, अब बाँकी केन्द्रीय सदस्यको नामावली तयार गर्ने जिम्मा अध्यक्षलाई दिइयो।

यो अवस्था एउटा पार्टीमा मात्र सीमित छैन। यस्ता उदाहरण धेरै पार्टीहरूमा देख्न सकिन्छ। यस्तो संस्कृति कस्तो हो? यस्तो लोकतन्त्र कस्तो हो? एउटा व्यक्तिमा सम्पूर्ण अधिकार केन्द्रित गर्ने यो अभ्यास कस्तो हो? अधिकार लिने मान्छे यस्तो संस्कृतिबाट कसरी निर्माण हुन्छ?

अहिले नै बुद्ध मेसिनभित्र पसे पनि शोभराज भएर निस्कनुहुन्छ, किनकि मेसिन नै खराब छ। त्यसैले मेसिन नै नयाँ बनाउन आवश्यक छ।

कार्यकर्ता सार्वभौम हुने संस्कृति स्थापित गर्नुपर्ने थियो। त्यो संस्कृति निर्माण गर्नुपर्ने थियो। तर त्यो पनि हामीले स्थापित गर्न सकेनौँ।

परिणाम के भयो भने हाम्रो समाजमा लोकतन्त्र दलतन्त्रतिर, नेतातन्त्रतिर सरेको छ भन्ने बहस तीव्र भएको छ। पछिल्लो समयको हाम्रो मुख्य चर्चा नै यही हो। कतिपयले भन्छन्, बहुदलीय व्यवस्थामा दलतन्त्र त हुन्छ नै। तर बहुदल र दलतन्त्र एउटै कुरा होइनन्। बहुदल भनेको नागरिकका राजनीतिक अधिकारसँग सम्बन्धित विषय हो।

बहुदलीय व्यवस्थाले हरेक नागरिकलाई दल खोल्ने र दलमा आबद्ध हुने स्वतन्त्रता सुनिश्चित गर्छ। तर दलतन्त्र भनेको शासकीय प्रभुत्वको कुरा हो। हामी दलको शासन चाहँदैनौँ। हामी निर्वाचित जनप्रतिनिधिको शासन चाहन्छौँ। लोकतन्त्रको मूल उद्देश्य नै निर्वाचित जनप्रतिनिधिको शासन सुनिश्चित गर्नु हो।

ती निर्वाचित जनप्रतिनिधि स्वतन्त्र पनि हुन सक्छन्, दलबाट पनि हुन सक्छन्। तर दलकै शासन कायम भयो भने त्यो दलीय सर्वसत्तावाद हुन्छ। दलको शासन रह्यो भने लोकतन्त्र रहँदैन। त्यो परम्परागत कम्युनिस्ट सत्ता जस्तै हुन्छ, जहाँ दल नै शासकीय सत्ता बन्छ। हामी शासकीय सत्ता निर्वाचित जनप्रतिनिधिको हातमा हुनुपर्छ भन्ने विश्वास राख्छौँ।

विचारको तहमा जुन स्तरको रूपान्तरण आवश्यक थियो, त्यो हुन सकेन। आजको समय, सपना र समाजलाई सम्बोधन गर्ने स्तरका एजेन्डाहरू निर्माण हुन सकेनन्। हाम्रो राजनीतिको लोकतान्त्रिक संस्कृति नै कमजोर हुँदै गएको देखिन्छ।

लेखक तथा राजनीतिक अभियन्ता केशव दाहालले भने, हाम्रा पार्टीहरू कुवाजस्ता भएका छन्। कुवामा एउटै पानी हुन्छ। तर पार्टीहरू कञ्चन झरनाजस्ता हुनुपर्ने थियो, जहाँ निरन्तर पानी फेरिन्छ, नयाँ पानी आउँछ र पानी सधैँ कञ्चन रहन्छ। उनका अनुसार पुराना पार्टीहरूले आजको युग र आजको पुस्तालाई सम्बोधन गर्न सक्ने क्षमता गुमाइसकेका छन्।

पार्टीहरू यति धेरै सङ्कुचित भए कि तिनले आवश्यक सामर्थ्य नै राख्न सकेनन्। त्यसैले रूपान्तरण अपरिहार्य भएको दाहालको निष्कर्ष छ। दुर्भाग्य के छ भने समाजले राजनीतिक रूपान्तरण र पुनर्गठनको कुरा गरिरहँदा पनि दलहरू भने एकीकरण र ध्रुवीकरणतर्फ मात्रै गइरहेका छन्।

दाहालका अनुसार एकीकरण, ध्रुवीकरण र पुनर्गठन नितान्त फरक कुरा हुन्। कम्युनिस्टहरू रूपान्तरित भए भने एउटा नयाँ राजनीतिक संस्कार जन्मिन सक्छ, तर खराब संरचना र सोच एकीकृत भयो भने त्यो झन् ‘महाखराब’ बन्छ। त्यसैले आवश्यक कुरा एकीकरण होइन, रूपान्तरण हो, विचारमा, एजेन्डामा, नेतृत्वमा, संस्कार–संस्कृतिमा रूपान्तरण। अन्तरपार्टी लोकतन्त्रमा रूपान्तरण।

जहाँ समस्या छ, त्यहीँ जस्ताको तस्तै राखेर दलहरू एकीकरण र ध्रुवीकरणतर्फ गएका छन्। पुनर्गठनतर्फ गएका छैनन्। किनकि पुनर्गठन भनेको के हो भन्ने बुझाइ नै उनीहरूमा छैन।

नेपाली कांग्रेसभित्र पनि बहस चलिरहेको छ। तर त्यो बहस नेतृत्व परिवर्तनमै सीमित हुने खतरा देखिन्छ। दाहालका अनुसार पुनर्गठन भनेको केवल नेतृत्व परिवर्तन होइन।

यदि विचार, एजेन्डा र पद्धतिका सबै मेकानिजम जस्ताको तस्तै राखियो भने त्यो मेसिनभित्र बुद्धलाई छिराए पनि शोभराज निस्कने अवस्था हुन्छ। यही हालत आजका राजनीतिक दलहरूमा देखिन्छ।

अहिले नै बुद्ध मेसिनभित्र पसे पनि शोभराज भएर निस्कनुहुन्छ, किनकि मेसिन नै खराब छ। त्यसैले मेसिन नै नयाँ बनाउन आवश्यक छ।

मेसिन नयाँ बनेपछि मात्रै राजनीतिक दलहरूले आजको समयसँग चाल मिलाउन सक्छन्। आजको समयसँग राजनीतिक दलहरूको लय मिल्न सक्छ। त्यसपछि मात्रै राजनीति सफल हुन सक्छ।

दलहरूको विरोध गर्नु नै मुख्य उद्देश्य होइन। हामीले चाहेको कुरा हाम्रो पुस्तालाई माया गर्नु हो, हाम्रो समयलाई माया गर्नु हो। दलहरू रूपान्तरित भएनन् भने हाम्रो समाजका सपना पूरा हुँदैनन्। हामीपछिको पुस्ताका सपना पनि पूरा हुँदैनन्।

यदि हामी यही दिशातर्फ जान चाहन्छौँ भने रूपान्तरण अपरिहार्य छ। रूपान्तरण भएन भने नयाँ पार्टीहरू जन्मिने प्रक्रिया स्वाभाविक रूपमा अघि बढ्नेछ।

(यो विचारपूर्ण समाचार मार्टिन चौतारीले नयाँ राजनीतिक दलको उदय र पुराना दलको पुनर्गठन बहसमा लेखक तथा राजनीतिक अभियन्ता केशव दाहालले दिएका अभिव्यक्तिको सम्पादित अंश हो।)

समाचार शेयर गर्नुहोस्
85
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.