जेनजी आन्दोलन छानबिन लम्बिँदै, ओली–लेखकको बयान तयारी

जेनजी आन्दोलन छानबिन लम्बिँदै, ओली–लेखकको बयान तयारी

320
SHARES

काठमाडौं – जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले लिखित प्रस्ताव आएमा एक महिना म्याद थप गर्न सकिने बताएकी छन्।

गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई तीन महिनाको कार्यादेश दिइएको थियो।

आयोगको म्याद यही पुस ९ गते सकिँदै छ। म्याद सकिन एक साता मात्रै बाँकी रहँदा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्।

आयोगका संयोजक कार्कीका अनुसार दसैँ–तिहार, छठलगायतका पर्व बिदा तथा प्रहरीको असहयोगका कारण आयोगले तोकिएको अवधिभरि प्रभावकारी रूपमा काम गर्न सकेन। प्रधानमन्त्री कार्कीसँगको भेटपछि उनले केही समय थप गर्नुपर्ने अवस्था आएको बताए।

अध्यक्ष कार्कीले भने, ‘हाम्रो म्याद सकिन लाग्यो। काम अझै बाँकी छ। हामी प्रधानमन्त्रीसँग त्यही कुराकानी गर्न आएका हौँ। प्रहरीले एक महिनासम्म सूची पठाएन। त्यसकारण काम गर्न ढिलाइ भयो। त्यसकारण एक महिना थप्नु पर्‍यो भन्यौँ। प्रधानमन्त्रीले प्रस्ताव पठाउनु थपिदिन्छु भन्नुभयो।’

जाँचबुझ आयोगले आउँदो साता जेनजी आन्दोलनका क्रममा भएका निर्णय र भूमिकाबारे तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीसहितका राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ। आयोगले यसअघि सुरक्षा निकायका प्रमुखहरूसँग बयान लिइसकेको जनाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेको आयोगले आगामी साता उनीहरूको बयान लिने तयारी गरेको हो।

केपी ओली र रमेश लेखकको बयान हुन्छ? भन्ने पत्रकारको प्रश्नमा संयोजक कार्कीले ‘सबैलाई बोलाउँछौँ’ भन्ने जवाफ दिए। यद्यपि, ओलीले यसअघि नै उक्त आयोगमा बयान दिन नजाने बताउँदै आएका छन्।

समाचार शेयर गर्नुहोस्
320
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.