एमाले महाधिवेशनमा विद्युतीय मतदान सुस्त, रातभर चल्ने

एमाले महाधिवेशनमा विद्युतीय मतदान सुस्त, रातभर चल्ने

258
SHARES

काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान जारी छ। रातभर मतदान चलिरहने एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

विद्युतीय भोटिङ मेसिनबाट सुरु गरिएको मतदान प्रक्रिया भने अत्यन्तै सुस्त गतिमा अघि बढेको छ। जम्मा आधा प्रतिनिधिले मात्र आफ्नो मत खसाल्न सकेका छन्।

मतपेटिकामा हुने परम्परागत मतदानभन्दा पनि ढिलो गतिमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको तथ्यले प्रतिनिधिहरूलाई नै आश्चर्यमा पारेको छ।

प्रविधिको प्रयोग गरेर स्मार्ट देखिन विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको हो। तर व्यवहारमा भने विद्युतीय मतदान नाम मात्रको बनेको छ। मतपेटिकामा मतदान गर्दा जति समय लाग्थ्यो, त्यसभन्दा पनि बढी समय विद्युतीय भोटिङ मेसिनबाट मत दिन लाग्ने अवस्थाले एमाले प्रतिनिधिहरूले शङ्का व्यक्त गरेका छन्।

देशभर स्याउलाले बारेका बुथमा, उम्मेदवारका नाममा रेजा टाँसेर, औँलामा थुक लगाउँदै मत गनेर नतिजा कुरियरमार्फत काठमाडौँ पठाउने अभ्यासबाट पनि समयमै नतिजा आउने गर्थ्यो। तर ‘बिजुली मतदान’ भनिए पनि मत दिन घण्टौँ लाग्ने अवस्थाले प्रणालीप्रति नै शङ्का पैदा गरेको छ।

नेतृत्व चयनका लागि जारी मतदान निकै सुस्त गतिमा चलिरहेको छ। बिहानदेखि भइरहेको मतदान क्रममा लामो समयसम्म लाइनमा पर्खनुपरेकाले केही महाधिवेशन प्रतिनिधि बेहोस नै भएका छन्।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही मतदाता बेहोस हुने स्थिति आएको जानकारी दिए। उनका अनुसार मतदान सक्न अत्यधिक समय लागेकाले तीन–चार जना प्रतिनिधि बेहोस भएका हुन्।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्। अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले आफूलाई मतदान गर्न १ घण्टा ४ मिनेट लागेको जानकारी दिएका छन्।

मतदाताहरू बेहोस हुने स्थिति आएपछि लाइनमा बसेका र लाइनमा नबसेका महाधिवेशन प्रतिनिधिलाई टोकन बाँडिएको छ। सोही टोकनका आधारमा मतदान गर्न बोलाउन थालिएको छ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएका छन्। महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि ६४२ जनाले उम्मेदवारी दिएका छन्।

पदाधिकारीतर्फ अध्यक्ष १ पदका लागि २ जना, उपाध्यक्ष ५ पदका लागि ११ जना, महासचिव १ पदका लागि २ जना, उपमहासचिव ३ पदका लागि ७ जना र सचिव ९ पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्।

समाचार शेयर गर्नुहोस्
258
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.