काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूले रातभर जाग्राम बसेर मतदान गरेका छन्।
एमालेको ११ औँ महाधिवेशन नयाँ नेतृत्व छान्न २२ घण्टापछि बिहीबार बिहान मात्र मतदान सकिएको छ। बुधवार बिहान सवा ९ बजे सुरु भएको मतदान बिहान ७ बजे सकिएको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए।
२ हजार २६३ महाधिवेशन प्रतिनिधि मध्ये ६३ जना अनुपस्थित भएका उनले बताए। २ हजार २२७ अर्थात् ९८ दशमलव ०४ प्रतिशत मत खसेको छ।
८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिए पनि छरितो हुन सकेन। एकै व्यक्तिलाई भोट खसाल्न ९ मिनेटदेखि २ घण्टासम्म समय लाग्दा मतदान रातभर चलेको हो।
पोखरेलका अनुसार अब मुचुल्का उठाउने काम सम्पन्न गरेर मतगणना सुरु हुनेछ। तीन घण्टाभित्रमा परिणाम सार्वजनिक भइसक्ने उनले बताए।
बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक, प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम राखिएको छ। एमालेको आगामी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्।
विजयी पक्षले पराजित भएको पक्षलाई सम्मान गर्न नसक्दा विगतमा पार्टी फुट रोक्न नसकिएको अवस्थामा यसपटक भने मिश्रित परिणाम दिनुपर्ने मनोविज्ञान प्रतिनिधिहरूमा देखिएकाले मिश्रित परिणाम आउन सक्ने आङ्कलन गरिएको छ।
मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन अन्तर्गत मङ्सिर २८ गतेदेखि बन्दसत्र सुरु भएको थियो।
मतदानको प्रक्रिया झन्झटिलो हुँदा महाधिवेशन दुई दिन लम्बिएको हो। एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६४२ जनाको उम्मेदवारी परेको थियो। त्यसमध्ये ११ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.