काठमाडौँ – पुरानो पितृसत्तात्मक सोच र रूढिवादी परम्पराका कारण पछाडि पारिएका सीमान्तकृत वर्ग र भुइँमान्छेहरूका लागि प्रजातन्त्र होस् वा गणतन्त्र, जुनसुकै तन्त्रमा पनि सङ्घर्ष जारी रहेको समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बु चञ्चलाले बताएकी छन्।
सडकदेखि नै आएका मानिस आज सदनमा पुग्ने अभ्यासमा रहेको भन्दै उनले यो प्रक्रिया सहज हुनुका कारण पनि उल्लेख गरिन्। पहिलो संविधानसभामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अभियन्ता सुनिल बाबु पन्तको प्रयास, पछाडिबाट समुदायको साथ–सहयोगले समलिङ्गी, तेस्रोलिंगी तथा अन्तरलिंगीका मुद्दामा केही परिवर्तन आउनु त्यसको आधार भएको नुमाले बताइन्।
तर त्यसपछिका चुनावहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुन नसकेको उनको भनाइ छ। २०७० सालको दोस्रो संविधानसभा, २०७४ र २०७९ मा भएका तीनवटै आम निर्वाचनबाट समुदायका एक जना पनि प्रतिनिधि निर्वाचित हुन सकेनन्। संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रतिनिधित्व शून्य नै रह्यो।
मानव सृष्टिदेखि नै महिला र पुरुषको प्रतिनिधित्व हुँदै आए पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व निरन्तर छुटिरहेको नुमाको भनाइ छ। “महिलाको नेतृत्व पनि देख्यौँ, पुरुषको नेतृत्व पनि देख्यौँ। अब हामी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको आवाजलाई पनि बुलन्द रूपमा पहिचान गराउन समावेशी समाजवादी पार्टी खोलेका हौँ,” उनले भनिन्। तेस्रोलिंगी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले पनि पार्टी खोले भनेर अहिले चर्चा भइरहेको उनले बताइन्।
मार्टिन चौतारीमा बुधवार भएको नयाँ राजनीतिक दलको उदय र पुराना दल पुनर्गठनको बहस कार्यक्रममा अध्यक्ष नुमाले देशभरबाट उमङ्गका साथ गर्व गर्दै शुभकामना र बधाई आइरहेको जानकारी दिइन्। ताली मात्र होइन, गाली पनि आएको उल्लेख गर्दै उनले भनिन्, “हामी हिजो पनि ताली र गाली दुवैबाट अघि आएका हौँ। आज पनि ताली र गालीलाई हिम्मतका साथ कसरी अघि लैजाने भन्ने हो।” पुरानो रूढिवादी सोचलाई कसरी परिवर्तन गर्ने र आफ्ना आवाजलाई सदनसम्म कसरी पुर्याउने भन्नेमा आफूहरू शारीरिक र मानसिक रूपमा तयार रहेको उनले बताइन्।
उनले ‘मिसन ८४’ को तयारी भइरहँदा जेनजी आन्दोलनका कारण ८२ कै चुनावमा भाग लिनुपर्ने अवस्था आएको सुनाइन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको दल खोलेर अघि बढ्नुपर्छ भन्ने सुनिल बाबु पन्तको सपना र समुदायको चाहनामाथि छलफल चलिरहेकै बेला जेनजी आन्दोलनले केही समर्थन गरेको उनले बताइन्।
देश विकासका लागि दूरदर्शी र दूरगामी काम गर्ने चाहना रहेको भन्दै नुमाले भनिन्, “हामी पनि देशका लागि दूरदर्शी, दूरगामी काम गरेर परिवर्तनका लागि विकल्प प्रस्तुत गर्न सक्छौँ। सकारात्मक सोच राख्न सक्छौँ। विकासको मोडेल प्रस्तुत गर्न सक्छौँ र अहिलेको भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न सक्छौँ।”
समावेशी समाजवादी पार्टीले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्ने अध्यक्ष नुमाले बताइन्। स्वरोजगारदेखि पर्यटन प्रवर्द्धनसम्मका योजना अघि सारिने उनको भनाइ छ।
राजनीतिकाे ‘क’ पनि नजानेको मान्छे आज सिक्दै आएको उल्लेख गर्दै उनले भनिन्, हिजोसम्म बोल्न डर लाग्थ्यो भने आज बोल्नै पर्ने रहेछ भन्ने महसुस भएको छ।
राजनीतिलाई नजिकबाट बुझ्दै विभिन्न राजनीतिक दलहरूसँग आफ्ना कुरा राख्दै आएको उनले बताइन्। तर, जहिले पनि आफ्ना मुद्दा उठ्दा सीमित रूपमा मात्रै राखिने, कहिल्यै अगाडि नल्याइने अवस्था रहेको उनको भनाइ छ। “हाम्रो उपस्थिति भयो भने मात्र चर्चा हुने, नहुँदा कुनै चर्चा नै नहुने भयो,” उनले भनिन्।
यही अवस्थाका कारण अन्य दलहरू जस्तै आफ्नो पनि उपस्थिति जनाउन पार्टी खोल्नु आवश्यक भएको उनले बताइन्। नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा समावेशी समाजवादी पार्टीलाई नै छुटाइएको प्रसङ्ग उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गरिन्। “हामी पनि थियौँ भनेर बोलाएको भए, हामी पनि आफ्ना प्रस्ताव राख्न सक्थ्यौँ होला,” उनले भनिन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.