निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, सल्लाहकार रिमाल पराजित

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, सल्लाहकार रिमाल पराजित

पदाधिकारीमा महिला एक जना मात्रै

109
SHARES

काठमाडौँ – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले लगातार तेस्रो कार्यकालका लागि ह्याट्रिक पूरा गरेका छन्। ९औँ महाधिवेशनदेखि ११औँ महाधिवेशनसम्म ओली अध्यक्षमा निर्वाचित भएका हुन्।

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनका लागि आयोजना गरिएको ११औँ महाधिवेशनमा अध्यक्षमा ओलीले पुनः जित हासिल गरे। यसअघि नवौँ र दसौँ महाधिवेशनबाट पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए। यस पटक ओलीले १६६३ मत प्राप्त गरेका छन् भने अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलले जम्मा ५६४ मत पाएका छन्।

एमाले महासचिवमा पनि ओली प्यानलबाटै दोस्रो कार्यकालका लागि शङ्कर पोखरेल निर्वाचित भएका छन्। ईश्वर प्यानलका सुरेन्द्र पाण्डे पराजित भएका हुन्।

एमालेका पाँच उपाध्यक्षमध्ये चार जना ओली प्यानलबाट र एक जना पोखरेल प्यानलबाट निर्वाचित भए। विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्त ओली प्यानलबाट विजयी भए भने गोकर्ण विष्ट पोखरेल प्यानलबाट निर्वाचित भएका छन्।

उपमहासचिवमा दोहरिन खोजेका ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल भने पराजित भए। एमालेको विधान अनुसार तीन जना उपमहासचिव निर्वाचित हुन्छन्। अध्यक्ष ओलीले आफ्नो प्यानलबाट रिमालसहित लेखराज भट्ट र रघुवीर महासेठलाई उम्मेदवार बनाएका थिए।

यसमा भट्ट र महासेठ विजयी भए भने रिमाल पराजित भए। उपमहासचिवमा पोखरेल प्यानलबाट योगेश भट्टराई विजयी भएका छन्। रिमालले १ हजार ९१ मत ल्याए पनि पदमा पराजित भए।

सचिव पदमा ओलीका अर्का निकट नेता महेश बस्नेत सर्वाधिक मत ल्याएर विजयी भएका छन्। ९ जना सचिव हुने व्यवस्थामा उनी १ हजार ५ सय ४४ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

सचिवमा पद्मा अर्याल, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, हिक्मत कुमार कार्की, राजन भट्टराई, खगराज अधिकारी र छविलाल विश्वकर्मा पनि निर्वाचित भएका छन्।

एमालेको पदाधिकारीमा निर्वाचित अर्याल एकमात्र महिला हुन्। उपाध्यक्षमा बिन्दा पाण्डे र सचिवमा अर्याल मात्र महिला उम्मेदवार थिए। पाण्डे उपाध्यक्षमा पराजित भइन भने अर्याल सचिवमा निर्वाचित भएकी छन्। एमालेकाे १९ जना पदाधिकारीमा एक जनामात्र महिलाकाे प्रतिनिधित्व भएकाे छ।

समाचार शेयर गर्नुहोस्
109
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.