एमाले महाधिवेशन : सात पदाधिकारी रिङआउट, शपथसँगै ओलीको धम्की

एमाले महाधिवेशन : सात पदाधिकारी रिङआउट, शपथसँगै ओलीको धम्की

297
SHARES

काठमाडौं – नेकपा एमालेको निवर्तमान सात पदाधिकारी एघारौँ महाधिवेशनबाट बाहिरिएका छन्। दसौँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका ईश्वर पोखरेल एघारौँ महाधिवेशनबाट रिङ आउट भए।

एमालेको इतिहासमै कर्णालीले पहिलो पदाधिकारी पाएको छ। कर्णाली प्रदेशका वर्तमान मुख्यमन्त्रीसमेत रहेका कँडेल र कोसी प्रदेशका मुख्यमन्त्री कार्की पहिलोपटक पदाधिकारीमा पुगेका हुन्।

निवर्तमान उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य भने उम्मेदवारी नै नदिएर पदाधिकारीबाट बाहिरिए। उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र गुरुप्रसाद बराल पनि पदाधिकारीबाट आउट भए।

ओली प्यानलबाट महासचिव नपाएपछि आशु बगाएका निवर्तमान उपमहासचिव प्रदीप ज्ञवाली पनि केन्द्रीय सदस्य मात्रै चुनिएका छन्। ओलीले नपत्याए पछि पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका गोकुल बाँस्कोटाले ११९५, कृष्ण गोपाल श्रेष्ठले ९९४, लालबाबु पण्डितले ७९६, अग्नि खरेलले १११९, र ठाकुर गैरेले १२८४ मत ल्याएर पराजित भए।

कर्ण थापाले १०२६, विनोद ढकालले ६८४, पेम्बा लामा ९०१, इन्द्रलाल सापकोटा ७१२ र पुरुषोत्तम पौडेलले ४६२ले मत पाए पनि जितका लागि पर्याप्त हुन सकेन।

अध्यक्षमा तेहेरिएसँगै ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पार्टी निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले ओलीलाई शपथ गराए।

ओलीसँगै पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष प्रा.डा. भरतराज पहारी र केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेलले पनि शपथ ग्रहण गरे। नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले पनि बिहीबार नै शपथ ग्रहण गरेका छन्।

शपथपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले फुटोस् भनेर धूप हाल्नेहरू सफल नहुने बताएका छन्। एमालेमा जस्तो लोकतान्त्रिक अभ्यास अरूमा नभएको भावनात्मक टिप्पणी ओलीले गरे।

चुनाव जितेपछि थप हौसिएका अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको लागि एमालेले देशव्यापी आन्दोलन गर्ने बताए। जेनजी आन्दोलनका नाममा एमाले नेतृत्वमाथि झुटा मुद्दा लगाउने प्रपञ्च रचिएको भन्दे ओलीले आफूमाथि हात हालेको दिन देश ठप्प पार्ने चेतावनी दिए। ओलीले एक साताभित्र सुरक्षा टोली बनाउन निर्देशन समेत दिएका छन्।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रवार दिउँसो १ बजे बस्ने भएको छ।

समाचार शेयर गर्नुहोस्
297
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.