निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विश्व कीर्तिमानका लागि विश्वकै ठूलो इट्टा निर्माण

विश्व कीर्तिमानका लागि विश्वकै ठूलो इट्टा निर्माण

62
SHARES

काठमाडौँ – घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठुलो आकारको इट्टा तयार पारिएको छ। जसलाई ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा समावेश गर्ने तयारी गरिएको छ।

यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासमा लम्बाइ २.९४ मिटर (९ फिट ८ इन्च) र उचाइ तथा चौडाइ ०.९९ मिटर (३ फिट ३ इन्च) रहेको इट्टा निर्माण भएको थियो।

यही आकारलाई अझै ठुलो बनाउने उद्देश्यले कीर्तिमान कायम राख्ने गरी इट्टा निर्माण गरिएको आयोजकले जनाएको छ। यही पुस १२ देखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा ४० हजार बढी दर्शकले सहभागिता जनाउने आयोजकको अनुमान छ।

इट्टाका मुख्य विशेषता :

१) नेपाली इट्टा, नेपाली सीप र नेपाली सोच

घर निर्माण फेस्टमा प्रदर्शन गरिने विश्वकै ठुलो इट्टा पूर्ण रूपमा नेपाली कच्चा पदार्थ, नेपाली कालीगढको सीप र नेपाली प्रविधि–सोचको प्रयोगबाट तयार गरिएको हो। यसले नेपालमा परम्परादेखि विकसित इट्टा बनाउने कला, निर्माण प्रविधि र श्रमिकको दक्षता सक्षम र प्रतिस्पर्धी रहेको प्रमाणित गर्छ।

आयोजकका अनुसार विदेशी प्रविधिमा निर्भर नभई स्वदेशी स्रोतको अधिकतम उपयोग गरेर यस्तो विशाल संरचना निर्माण हुनु नेपाली सीपको आत्मनिर्भरता र मौलिकताको प्रतीक हो।

२) विश्वलाई देखाउने

यस परियोजनामार्फत नेपालले आफ्नो निर्माण कला र नवप्रवर्तन क्षमता विश्वसामु प्रस्तुत गर्ने अवसर पाएको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश हुने लक्ष्यले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान विस्तार गर्न सहयोग पुर्‍याउँछ। यसले विदेशी दर्शक, लगानीकर्ता र पर्यटकलाई नेपाली निर्माण उद्योगतर्फ आकर्षित गर्दै नेपाल पनि विश्वस्तरीय उपलब्धि हासिल गर्न सक्षम छ भन्ने सन्देश दिन्छ।

३) अद्वितीय पहिचान

विश्वकै सबैभन्दा ठुलो इट्टाले नेपाललाई एक फरक र स्मरणीय पहिचान प्रदान गर्छ। यो केवल आकारको प्रतिस्पर्धा मात्र नभई नेपाली मेहनत, सृजनशीलता र आत्मविश्वासको प्रतीक हो। यस्तो उपलब्धिले “नेपाल केवल प्राकृतिक सौन्दर्यको देश मात्र होइन, सीप र कलाको देश पनि हो” भन्ने पहिचान स्थापित गर्दै राष्ट्रिय गौरवलाई थप मजबुत बनाउँछ।

४) ऐतिहासिक रेकर्डको अवलोकन

घर निर्माण फेस्टमा राखिने विश्वकै सबैभन्दा ठुलो इट्टा केवल प्रदर्शनका लागि मात्र नभई दर्शकको प्रत्यक्ष अवलोकनका लागि खुला रहनेछ। आगन्तुकहरूले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश हुने तयारीमा रहेको यस ऐतिहासिक इट्टालाई नजिकबाट हेर्न, यसको आकार, बनावट र विशेषता बुझ्न पाउनेछन्। साथै, यस महत्त्वपूर्ण क्षणलाई सम्झनाका रूपमा सुरक्षित गर्न दर्शकले फोटो खिच्न सक्ने व्यवस्था गरिएको छ। यसले दर्शकको उत्साह बढाउनुका साथै ऐतिहासिक उपलब्धिको साक्षी बन्ने अवसर पनि प्रदान गर्नेछ।

“जे गर्छौँ नेपालमै गर्छौँ” भन्ने नारासहित चार दिनसम्म हुने प्रदर्शनीमा २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा छ। निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठुलो यो फेस्टमा कुनै पनि निर्माणको तयारी देखि निर्माण सम्पन्न नहुँदा सम्मका सबै चरणहरूको प्रत्यक्ष प्रदर्शनी गरिने छ।

अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीका छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन्।

प्रदर्शनीमा सहभागी हुने विभिन्न ब्रान्डले ग्राहक लक्षित विशेष अफरहरू समेत सार्वजनिक गर्ने तयारी गरेका छन्। नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित फेस्ट गर्न लागिएको हो।

नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्न घर फेस्ट आयोजना गर्न लागिएको आयोजकले दाबी गरेको छ।

समाचार शेयर गर्नुहोस्
62
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.