"/>
काठमाडौँ – नेकपा एमालेमा ‘दुई लाइन सङ्घर्ष’ प्रस्ट रूपमा सतहमा आएको छ। पार्टी अध्यक्षमा तेस्रो पटक निर्वाचित केपी शर्मा ओली र अध्यक्षमा पराजित ईश्वर पोखरेल समूहबीच सुरु भएको हो दुई लाइन सङ्घर्ष।
महाधिवेशनमा अध्यक्षमा पराजित भए पनि पोखरेल समूह मैदानबाट बाहिरिएको छैन। बरु, महाधिवेशनपछि ओलीले “अब एमालेमा प्यानल छैन” घोषणा गरेकै भोलिपल्ट छुट्टै भेला गरेर पार्टीभित्र काखा–पाखा, पक्षपात र गुटबन्दी भए प्रतिवाद गर्ने चेतावनी दिनु यसै दुई लाइन सङ्घर्षको सङ्केत हो।
एमालेभित्रको अहिलेको द्वन्द्व हार–जितको मनोविज्ञानभन्दा माथि उठेर पार्टी कसरी चल्ने, निर्णय कसरी हुने र नेतृत्व कति उत्तरदायी रहने भन्ने मूल प्रश्नसँग जोडिएको छ।
अध्यक्ष ओली नेतृत्वको निरन्तरता, स्थिरता र तीव्रतामाथि जोड दिइरहेका छन् भने पोखरेल समूह त्यो निरन्तरता लोकतान्त्रिक अभ्यास र संस्थागत सन्तुलनबिना खतरनाक हुन सक्ने तर्क गर्दै खबरदारीको भूमिकामा उभिएको छ।
महाधिवेशनपछि पहिलो सम्बोधनमा ओलीले “अब एमालेमा प्यानल छैन” भन्दै पार्टीलाई एउटै भावनामा अघि बढाउने घोषणा गरे। सम्बोधनकै क्रममा उनले मोबाइल बजाउन बन्देज लगाउँदै प्रश्न गरे, “लोकतन्त्रका लागि बोल्ने अरू कोही छ? जनतालाई त्रसित र भयबाट मुक्त गरेर देशमा लोकतन्त्र फर्काउने, शान्ति पुनर्बहाली गर्ने नेतृत्व कसले गर्ने ?” उनले यसको नेतृत्व नेकपा एमालेले नै गर्नुपर्ने दाबी गरे।
“त्यो अभिभारा लिएर आएका छौँ,” ओलीले भने, “गतिशीलता आएको छ, अब यसलाई तीव्रता दिनुपर्छ।” उनले हरेक टोल–टोलमा टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिए। “सिरक ओढेर म जेनजी बोल्दैछु, साना कुरा गर्दैन, तर्सिनुपर्ने कुनै आवश्यकता छैन,” भन्दै ओलीले कार्यकर्तालाई ढाडस दिए।
ताजा मनका साथ अघि बढ्नुपर्ने बताउँदै उनले नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याएको उल्लेख गरे। “अरूले कुरा गर्छन्, हामी कामबाट देखाउँछौँ,” ओलीले भने।
महिलाको राम्रो सहभागिता रहेको र पुराना अनुभवीसँगै नयाँ उत्साही पुस्ता पनि पार्टीमा रहेको उनको भनाइ थियो। उनले नेतृत्वको निरन्तरता आवश्यक रहेको बताउँदै करिब तीन हप्ताभित्र केन्द्रीय कमिटीको अर्को बैठक बस्ने जानकारी गराए र एजेन्डा प्रस्तुत गरे।
तर ओलीले “एमालेमा प्यानल छैन” भनेकै भोलिपल्ट अध्यक्षमा पराजित ईश्वर पोखरेल समूहले छुट्टै भेला गरेको छ। भेलाले नवनिर्वाचित अध्यक्ष ओलीलाई औपचारिक रूपमा बधाई दिएको भए पनि पार्टीभित्र काखा–पाखा गरिए प्रतिवाद गर्ने स्पष्ट सन्देश दिएको छ।
महाधिवेशनपछि अब एमालेभित्र ओलीसँग सङ्गठित रूपमा भिड्ने अन्तिम समूहका रूपमा पोखरेल समूह मैदानमा उत्रिएको देखिएको छ। अध्यक्षमा ह्याट्रिक गरेका ओली सर्वसम्मत अध्यक्ष बनेको घमन्ड प्रस्तुत गर्ने अवस्थामा भने छैनन्। पोखरेल भने अब ओली केन्द्रित पार्टी राजनीतिमा खबरदारी गर्ने भूमिकामा उभिएका छन्।
ओलीले ११ औँ महाधिवेशनलाई लोकतान्त्रिक भने पनि पोखरेल समूह त्यो मान्न तयार छैन। प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका विभिन्न गतिविधिले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको पोखरेल समूहको निष्कर्ष छ। पार्टी संरचनाको दुरुपयोग गरिएको र आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने प्रयास भएको आरोप समूहले लगाएको छ।
पोखरेल समूहबाट उपमहासचिवमा निर्वाचित योगेश भट्टराईले भेलाले यसप्रति गम्भीर चिन्ता व्यक्त गरेको बताए। “यसको समीक्षा आगामी दिनमा हुँदै जान्छ,” उनले भने। पार्टी केन्द्रीय कमिटीको २६, २७ र २८ गते बस्ने बैठकमा यसबारे विस्तृत समीक्षा गरिने जानकारी पनि भट्टराईले दिए।
नवनिर्वाचित अध्यक्ष ओलीमाथि पार्टीभित्र गुटबन्दी गर्ने नेताको रूपमा पनि पोखरेल समूहले हेरेको छ। पक्षपात, गुटबन्दी र काखा–पाखा गर्ने प्रस्ताव आए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पोखरेल समूहले दिएको छ।
उपमहासचिव भट्टराईले पार्टीभित्र कुनै अराजनीतिक बार्गेनिङ नगर्ने प्रतिबद्धता व्यक्त गरे। “विभाजन होइन, आत्मसमर्पण होइन-निरन्तर सङ्घर्ष नै हाम्रो लाइन हुनेछ,” उनले भने।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.