निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संयुक्त जेनजी आन्दोलन घोषणा, सरकारलाई ‘कामचोर’को संज्ञा

संयुक्त जेनजी आन्दोलन घोषणा, सरकारलाई ‘कामचोर’को संज्ञा

100
SHARES

काठमाडौँ- संयुक्त जेनजी आन्दोलनले सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत संयुक्त जेनजी आन्दोलनले प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको हो।

जेनजी आन्दोलनले बालुवाटार र सिंहदरबार खाली गर्न चेतावनी दिएको छ। नयाँ दलाल र भ्रष्टहरूले सत्ता कब्जा गरेको आरोप जेनजी आन्दोलनका प्रतिनिधिहरूले लगाएका छन्।

भुटानी शरणार्थीहरूलाई नेपाल भित्र्याएर देशको अस्तित्व मेटाउन खोजिएको आरोप लगाउँदै जेनजी अगुवाहरूले सुशीला कार्की नेतृत्वको सरकारलाई भाग्न तयार रहन चेतावनी दिएका छन्।

जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले भने, “यो सरकार जेनजीको होइन। युवालाई विदेश लखेट्ने यो सरकार हाम्रो होइन।” युवाको विद्रोहलाई लत्याउने काम गरेको आरोप आन्दोलनले सरकारमाथि लगाएको छ।

८४ को चुनाव ८२ मा सारौँ भनेर आन्दोलन गरेका थिएनौँ, प्रतिनिधि ढुङ्गानाले भने, “भ्रष्टाचारीमाथि अनुसन्धान गर्न कुन कानुनले रोकेको छ?” कार्की नेतृत्वको सरकारले धमाधम सेटिङमा काम गरिरहेको आरोप पनि ढुङ्गानाले लगाए।

राज्यप्रतिको भरोसा कमजोर भएको उल्लेख गर्दै उनले प्रश्न गरे, “जेनजी आन्दोलन कसैको ब्रान्ड होइन। आन्दोलनमाथि टेकेर को अग्लो हुँदैछ?” उनका अनुसार जेनजी आन्दोलन सुशासन र राज्यको चरित्र सुधारका लागि थियो तर अहिले राज्य भएको अनुभूति नै छैन।

उनले आजको आवश्यकता सर्वपक्षीय सरकार भएको बताए। “एक चरणको आन्दोलन भयो, आन्दोलन सकिएको छैन,” उनले भने। सुशीला कार्कीले जनतालाई भ्रममा पारेको आरोप पनि उनले लगाए। आन्दोलनको माग आन्दोलनको सरकारले नै गर्नुपर्ने उनले बताए।

भ्रष्टाचारीलाई कारबाही नगर्ने वर्तमान सरकारलाई ढुङ्गानाले ‘कामचोर सरकार’को संज्ञा दिए। “प्रधानमन्त्री जेनजीले बनाएको होइन। तपाईँलाई कसले प्रधानमन्त्री बनाएको हो?” उनले प्रश्न गरे।

सरकारको विकल्प खोज्न आन्दोलन गर्न लागिएको उनले बताए। “भोलि ११ बजेदेखि शान्तिपूर्ण आन्दोलन सुरु हुन्छ, माइतीघरबाट,” उनले भने, “शान्ति सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ। हामी शान्तिपूर्ण ढङ्गले प्रस्तुत हुन्छौँ। यो जेनजी मात्रको आन्दोलन होइन।”

जेनजी आन्दोलनले पछिल्लो समय सुशासन, भ्रष्टाचारविरुद्ध कारबाही, युवाको पलायन, राज्यप्रति विश्वासको सङ्कट र राजनीतिक उत्तरदायित्वको प्रश्न उठाउँदै निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनपछि जेनजी आन्दोलनले आफूलाई कुनै दल वा नेतासँग नजोडिएको स्वतन्त्र नागरिक आन्दोलनका रूपमा प्रस्तुत गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्
100
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.