निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पहिचानको लडाइँ १८ वर्षपछि नयाँ मोडमा

पहिचानको लडाइँ १८ वर्षपछि नयाँ मोडमा

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको जीविकोपार्जनका लागि बरिस्टा र बेकरी तालिम सुरु

96
SHARES

काठमाडौँ– नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको दोस्रो चरणको अधिकारप्राप्तिको अभियान सुरु भएको छ। सामाजिक बहिष्कार, राज्यको उपेक्षा, कानुनी पहिचानको अभाव र जीविकोपार्जनका अवसरबाट वञ्चित हुँदै आएको यस समुदायको लामो पीडा, वेदना र सङ्घर्षपछि सुरु भएको यो अभियानको नेतृत्व पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले गरिरहेका छन्।

पन्तले नेपाल सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेशअनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी,दुईलिंगी, अन्तरलिंगी) व्यक्तिहरूले पहिचानसहितको नागरिकता र वैवाहिक अधिकार प्राप्त गर्न सफल भए। राज्यले अस्तित्व नै नस्विकारेको अवस्थाबाट अदालतको ढोका ढकढक्याउँदै पुगेको समुदायको सङ्घर्षको ऐतिहासिक उपलब्धि यही आदेशसँग जोडिएको छ।

सर्वोच्च अदालतले २०६४ पुस ६ गते दिएको आदेशलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले ऐतिहासिक उपलब्धिका रूपमा उत्सवका रूपमा मनाउँदै आएका छन्। उक्त आदेश जारी भएको १८ वर्ष पूरा भएको छ।

यही आदेशले पहिलो पटक राज्यलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अस्तित्व स्वीकार गर्न बाध्य बनाएको थियो र नागरिकता, शिक्षा, रोजगारी तथा स्वास्थ्यजस्ता आधारभूत अधिकारका लागि सङ्घर्ष गर्ने ढोका खोलेको थियो।

सर्वोच्च अदालतको आदेशपछि नेपालमा समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ। दक्षिण एसियामै समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने नेपाल पहिलो देश बनेको छ। २०६४ पुस ६ को ऐतिहासिक आदेशको जगमा १२ असार २०८० मा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशअनुसार लमजुङको दोर्दी गाउँपालिका कार्यालयले १३ मङ्सिर २०८० मा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको विवाह कानुनी रूपमा दर्ता गरेको थियो।

सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्ग र सचिव सुरेन्द्र पाण्डेले पहिचानसहितको वैवाहिक अधिकार प्रयोग गर्दै पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरेका थिए। विवाह दर्तालाई दशकौँदेखिको सामाजिक अपमान र कानुनी अन्यायविरुद्ध समुदायको ऐतिहासिक विजयका रूपमा लिइएको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई सङ्गठित गर्दै आएको मायाको पहिचान नेपालको पहलमा नेपालको निर्वाचन इतिहासमै पहिलो पटक तेस्रोलिंगी नुमा लिम्बु (चञ्चला)को अध्यक्षतामा समावेशी समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। फागुन २१ गते हुने चुनावमा भाग लिने तयारीमा रहेको समावेशी समाजवादी पार्टीले चुनावी अभियान तीव्र पारेको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले अबको चुनावलाई आफ्ना लागि जनगणनाका रूपमा लिएको बताएका छन्। हालसम्म राष्ट्रिय जनगणनामा नसमेटिएको यस समुदायको वास्तविक सङ्ख्या पत्ता लगाउन छुट्टै पार्टी दर्ता गरेर चुनावमा सहभागी हुन लागिएको समावेशी समाजवादी पार्टीका संरक्षक एवं सल्लाहकारसमेत रहेका पन्तले बताए।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले नेपालमा प्राप्त गरेका अधिकांश अधिकारको नेतृत्वदायी भूमिका पन्तले निर्वाह गर्दै आएकाले आफ्नो समुदायका लागि पन्त गुरु नै भएको समुदायका सदस्यहरूले बताएका छन्। पन्त एसियाकै पहिलो समलिङ्गी सभासद् हुन्।

पन्तको नेतृत्वदायी भूमिकाका कारण नेपालको संविधान २०७२ मा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संवैधानिक अधिकार सुनिश्चित गरिएको छ।

पन्तकै नेतृत्वमा नेपालमा पहिलो पटक इन्द्रेणी अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन सम्पन्न भइसकेको छ। नेपाल पर्यटन बोर्ड र मायाको पहिचान नेपालले आयोजना गरेको पहिलो इन्द्रेणी अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनको पन्तले नै स्थापना गरेको ब्लु डायमन्ड सोसाइटीले भने विरोध गरेको थियो।

ब्लु डायमन्डको वर्तमान अनियमितताको आरोप लागेको नेतृत्वको विरोधकै कारण नेपालमा दोस्रो इन्द्रेणी अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुन नसकेको समुदायका सदस्यहरूले बताएका छन्।

समुदायका सदस्यहरूको जीविकोपार्जनका लागि पन्तले अगाडि सारेका योजना र कार्यक्रममा भाँजो हाल्ने काम ब्लु डायमन्डले गर्दै आएको आरोप समुदायका सदस्यहरूले लगाउँदै आएका छन्। यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी परिसर र राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गरिएको उनीहरूले बताएका छन्।

तर, भ्रष्टाचार र जवाफविहीनताको आरोप लागेको नेतृत्वले अझै पनि अवरोध पुर्‍याइरहेको समुदायका सदस्यहरूको गुनासो छ। यसको असर भूइँतहमा रहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरू अझै माथि उठ्न नसक्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ।

यही अवरोधबीच समुदायको जीविकोपार्जनलाई प्राथमिकता दिँदै मायाको पहिचान नेपालले सीपमूलक तालिम कार्यक्रम सुरु गरेको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको जीविकोपार्जनका लागि बरिस्टा र बेकरी तालिम सुरु गरिएको मायाको पहिचान नेपालले जनाएको छ। उक्त तालिम दुई सातासम्म सञ्चालन हुनेछ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा समुदायका व्यक्तिहरूलाई सीपमूलक तालिम सुरु गरिएको मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले जानकारी दिए।

तालिमका केही तस्बिरहरु :

समाचार शेयर गर्नुहोस्
96
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.