निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

निर्वाचन कानुन संशोधन : विदेशबाट मतदान, अन्तर क्षेत्र र ‘नो भोट’को व्यवस्थामा छलफल

निर्वाचन कानुन संशोधन : विदेशबाट मतदान, अन्तर क्षेत्र र ‘नो भोट’को व्यवस्थामा छलफल

258
SHARES

काठमाडौँ – गृह मन्त्रालयले फागुन २१ का लागि घोषणा भएको निर्वाचनका लागि एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आइसकेको जनाएको छ। मतदान केन्द्रको वर्गीकरण भइसकेको र नियमित गस्तीसमेत बढाइएको गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्लेले जानकारी दिए।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन तथा व्यवस्थापनसम्बन्धी विषयमा राजनीतिक दलहरू र नागरिक प्रतिनिधिहरूसँग सिंहदरबारमा गरेको छलफलका क्रममा सहसचिव एवं महाशाखा प्रमुख काफ्लेले चुनावका लागि सुरक्षाको पूर्ण तयारी भएको प्रस्तुतीकरण दिए।

उनले विदेशमा रहेका सबै नेपालीलाई मतदानको अधिकार, अन्तर क्षेत्र मतदान र ‘नो भोट’को व्यवस्था राखेर निर्वाचन कानुन संशोधनको मस्यौदा तयार भएको बताए। निर्वाचनसम्बन्धी चार वटा कानुन संशोधनको खाका तयार भएको जानकारी पनि उनले दिए।

काफ्लेका अनुसार सरकारले तयार गरेको मस्यौदामा विदेशमा रहेका नेपालीले समानुपातिक प्रणालीमा मात्र मत दिन पाउने व्यवस्था गरिएको छ। अन्तर निर्वाचन क्षेत्रमा भने प्रत्यक्ष र समानुपातिक दुवैमा मत दिन पाइने व्यवस्था राखिएको सहसचिव काफ्लेले बताए।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले चुनावको मिति घोषणा भएको भोलिपल्टदेखि नै आयोगले काम सुरु गरेको जानकारी गराए।

प्रवक्ता भट्टराईले २०७९ को निर्वाचनको तुलनामा फागुन २१ को निर्वाचनका लागि १० लाख १६ हजार नयाँ मतदाताले नाम दर्ता गराएको जानकारी दिए। २०७९ को चुनावमा ८७ वटा दलले भाग लिएका थिए भने फागुन २१ को चुनावमा ११४ वटा दलले भाग लिने प्रवक्ता भट्टराईले बताए।

निर्वाचन पर्यवेक्षणका लागि २०७९ को चुनावमा २१ वटा राष्ट्रिय पर्यवेक्षण संस्था रहेकामा अहिले २७ पुगेको उनले जानकारी दिए।

देशभर ७५ मतदान स्थल थप्ने निर्णय आयोगले गरेको छ। साथै, ६ वटा निर्देशिका र कार्यविधि तयार गरिसकेको भट्टराईले बताए। निर्वाचन आचारसंहिता पारित गरेर लागू गर्न मात्र बाँकी रहेको पनि उनले जानकारी दिए।

उनका अनुसार मतदाता नामावली छपाइको काम पुस १६ गतेबाट सुरु हुनेछ। पुस २३ र १४ गते समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने तालिका रहेको उनले स्मरण गराए।

निर्वाचनमा मौज्दातमा रहेका सामग्री र स्वदेशी सामग्री नै प्रयोग गर्ने तयारी गरिएको पनि उनले बताए। आयोगले निर्वाचनका लागि ५१ प्रकारका सामग्री पहिचान गरेको छ। तीमध्ये ३७ प्रकारका सामग्री जिल्ला तहबाट र १४ प्रकारका सामग्री केन्द्रबाट व्यवस्थापन गर्ने तयारी गरिएको उनले जानकारी दिए।

आयोगले अब मतपत्र छपाइको काम पनि अघि बढाउने निर्वाचन आयोगका प्रवक्ता भट्टराईले बताए।

समाचार शेयर गर्नुहोस्
258
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.