निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

३५ वर्ष जेलमा रहेका भुटानी राजनीतिक बन्दीको रहस्यमय मृत्यु

३५ वर्ष जेलमा रहेका भुटानी राजनीतिक बन्दीको रहस्यमय मृत्यु

निष्पक्ष छानबिन र सम्पूर्ण राजनीतिक बन्दीहरूको रिहाइको माग

294
SHARES

द हेग – भुटानमा दशकौँदेखि जेलमा थुनिएका राजनीतिक बन्दीहरू उपचार, निगरानी र मानवीय व्यवहारबाट वञ्चित हुँदै कारागारमै मृत्युको सङ्घारमा पुगिरहेका छन् भन्ने गम्भीर यथार्थ फेरि एकपटक उजागर भएको छ।

३५ वर्षदेखि आजीवन कारावास भोगिरहेका भुटानी राजनीतिक बन्दी शा बहादुर गुरुङको जेलमै भएको रहस्यमय मृत्युले भुटानी कारागार प्रणाली, राज्यको दायित्व र राजनीतिक बन्दीहरूप्रति अपनाइँदै आएको व्यवहारमाथि गम्भीर प्रश्न खडा गरेको छ।

भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि गठित ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटानले भुटानका विभिन्न जेलमा रहेका ३१ राजनीतिक बन्दीमध्ये एक शा बहादुर गुरुङको रहस्यमय मृत्युले आफूहरू गहिरो स्तब्ध र अत्यन्त दुःखी भएको जनाएको छ।

६५ वर्षीय गुरुङको १५ डिसेम्बर २०२५ मा थिम्पुस्थित चामगाङ केन्द्रीय कारागारको आफ्नै कोठामा मृत्यु भएको हो। उनको मृत्युले हिरासतमा लापरबाही, दीर्घकालीन दुरुपयोग तथा राज्यको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको अभियानले जनाएको छ।

भुटानको चिराङ क्षेत्रका स्थायी बासिन्दा शा बहादुर गुरुङ सन् १९९० मा रोयल भुटान आर्मीमा कार्यरत रहँदा पक्राउ परेका थिए। शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरी आजीवन कारावासको सजाय सुनाइएको थियो।

तीन दशकभन्दा बढी समयसम्म उनी मुख्यतः वाङ्दी फोड्राङ जिल्लास्थित राबुना कारागारमा थुनिएका थिए, जुन कारागार कठोर, अमानवीय तथा अपारदर्शी हिरासत अवस्थाका लागि कुख्यात मानिन्छ।

संयुक्त राज्य अमेरिका तथा अन्य देशमा बसोबास गरिरहेका गुरुङका आफन्त तथा अन्य विश्वसनीय स्रोतहरूका अनुसार उनले कारावास अवधिभर गम्भीर शारीरिक र मानसिक यातना सहनु परेको थियो। सुरक्षा निकायका कर्मचारीद्वारा उनलाई पटकपटक कुटपिट, अपमान, एकान्त कारावास तथा अन्य अमानवीय व्यवहार गरिएको आरोप छ।

उनका आफन्तका अनुसार उनलाई ‘तिम्रो विरुद्ध मृत्युदण्डको आदेश जारी भइसकेको छ तर तत्काल मार्नुको सट्टा हिरासतमा क्रमशः यातना दिँदै मारिनेछ’ भन्ने कुरा समेत सुनाइएको थियो। दशकौँ लामो दुर्व्यवहार र समयमै उपचार नपाउँदा उनको स्वास्थ्य अत्यन्त कमजोर बनेको र अन्ततः त्यसैको परिणामस्वरूप उनको मृत्यु भयो भन्ने परिवारजनको भनाई छ।

स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रँदै गएपछि डिसेम्बर २०२५ को सुरुआतमा उनलाई राबुना कारागारबाट चामगाङ केन्द्रीय कारागारमा सारिएको थियो। उनी १० डिसेम्बर २०२५ देखि त्यहीँ थुनामा थिए। स्थानान्तरणका क्रममा पनि उनलाई आवश्यक चिकित्सकीय उपचार र निगरानी नदिइएको आरोप छ।

आफन्त तथा अन्य विवरणअनुसार, १४ डिसेम्बर २०२५ को साँझ गुरुङले सामान्य रूपमा खाना खाएर सुत्न गएका थिए र कुनै अस्वाभाविक लक्षण देखिएको थिएन। तर १५ डिसेम्बर २०२५ को बिहान उनलाई कोठाभित्र बेहोस अवस्थामा, झन्डै निर्जीव जस्तै देखिने गरी फेला पारिएको थियो।

तत्काल ड्युटीमा रहेका प्रहरीलाई जानकारी गराइए पनि सम्बन्धित अधिकारीहरूले समयमै प्रतिक्रिया जनाएनन्। उनलाई नजिकैको स्वास्थ्य चौकी पुर्‍याउँदासम्म उनको मृत्यु भइसकेको बताइन्छ। त्यसपछि उनलाई थिम्पुस्थित अस्पतालमा रिफर गरिएको थियो, जसबाट स्थानान्तरणका क्रममा उनी जीवित थिए भन्ने देखाउने प्रयास गरिएको परिवारजनको दाबी छ, जबकि उनलाई कारागारबाट बाहिर लैजानुअघि नै मृत्यु भइसकेको आफन्तहरूको भनाई छ।

गुरुङको मृत्यु १७ डिसेम्बर २०२५ मा मनाइने भुटानको ११८औँ राष्ट्रिय दिवसभन्दा ठिक दुई दिनअघि भएको हो। उक्त अवसरमा राजकीय आममाफीमार्फत राजनीतिक बन्दीहरू रिहा हुने आशा परिवारजन, समर्थक तथा विश्वभरका मानवअधिकारकर्मीहरूले गरेका थिए।

तर त्यसको सट्टा सबैभन्दा लामो समयदेखि थुनामा रहेका एक राजनीतिक बन्दीको मृत्युले गहिरो शोक, आक्रोश र चिन्ता फैलिएको ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटानले जनाएको छ। यो घटना राज्यको हिरासतमा रहँदा दशकौँसम्म सहनुपरेको दुरुपयोग र उपेक्षाको चरम परिणति भएको उसले उल्लेख गरेको छ।

ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटानले शान्तिप्रिय र न्यायप्रेमी भुटानी नागरिक शा बहादुर गुरुङप्रति गरिएको व्यवहार र उनको रहस्यमय मृत्युको कडा निन्दा गरेको छ।

यस घटनाले भुटानमा राजनीतिक बन्दीहरूमाथि भइरहेको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ र यो ‘ग्रस नेशनल ह्यापिनेस, करुणा र सचेतनाजस्ता सिद्धान्तका आधारमा निर्माण गरिएको भुटानको अन्तर्राष्ट्रिय छविभन्दा पूर्णतः विपरीत’ रहेको जनाएको छ।

उसले भुटान सरकारलाई गुरुङको मृत्युबारे तत्काल गहन, पारदर्शी र निष्पक्ष छानबिन सुरु गर्न आह्वान गरेको छ। साथै, स्वतन्त्र बाह्य छानबिन समिति गठन गर्न, त्यसका निष्कर्ष सार्वजनिक गर्न, र अपूरणीय क्षतिका लागि उनका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरिएको छ।

ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटानले स्वर्गीय शा बहादुर गुरुङलाई भुटानमा मानवअधिकार र न्यायको पक्षमा जीवन अर्पण गर्ने भुटानी शहीदका रूपमा औपचारिक मान्यता दिन पनि माग गरेको छ। उनका परिवारलाई सम्मानपूर्वक व्यवहार गर्न, आवश्यक सामाजिक, कानुनी तथा आर्थिक सहयोग प्रदान गर्न, र उनको पीडा तथा बलिदानको कदरस्वरूप उचित मान्यता र क्षतिपूर्ति दिन आग्रह गरिएको छ।

भुटानमा हाल रहेका सबै राजनीतिक बन्दीहरूको बिना सर्त तत्काल रिहाइको माग दोहोर्‍याउँदै अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकार संस्था तथा कूटनीतिक नियोगहरूलाई स्थिति नजिकबाट निगरानी गर्न र मानवअधिकार तथा न्याय सुनिश्चित गर्न आवश्यक कदम चाल्न आह्वान गरिएको छ।

समाचार शेयर गर्नुहोस्
294
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.