निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एलजीबीटीआईको लाखौँ रकम गायब : ८ वर्षसम्म न शेयर न जवाफ

एलजीबीटीआईको लाखौँ रकम गायब : ८ वर्षसम्म न शेयर न जवाफ

251
SHARES

काठमाडौँ – यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमाथि हुने गरेका विभेद, लाञ्छना र बहिष्कारजस्ता सामाजिक कुरीति तथा अमानवीय व्यवहारको न्यूनीकरणका अन्य थुप्रै विकल्पहरूमध्ये आर्थिक समृद्धि एउटा मुख्य विकल्प हो। एलजीबीटीआईको अधिकार संविधानमा लेखेर कानुन बनेता पनि जबसम्म आर्थिक रूपमा सबल र सक्षम हुँदैनन्, तबसम्म एलजीबीटीआई समुदायका सदस्यहरू सामाजिक, आर्थिक तथा सामुदायिक रूपमा अरूमा निर्भर रहनु पर्ने अवस्था रहन्छ।

तत्कालीन नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) की अध्यक्ष सञ्जीव गुरुङ (पिंकी) ले २०७३ चैत महिना अर्थात् सन् २०१७ अप्रिल १२ मा सामाजिक सञ्जाल फेसबुकमा लेखेका यी शब्द यतिबेला विवादको केन्द्रमा छन्।

पिंकीले सो स्ट्याटसमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको आर्थिक समृद्धिका लागि अपर मैलुङ हाइड्रोपावरमा शेयर लगानीसम्बन्धी जानकारी नयाँ शक्ति पार्टीका कार्यकारी सदस्य, भूतपूर्व सभासद् तथा रसुवा जिल्लाका संयोजक प्रेम तामाङद्वारा उपलब्ध गराइएको उल्लेख गरेकी थिइन्।

पिंकीले तस्बिरसहित एलजीबीटीआई समुदायबाट २५ लाख रुपैयाँ बराबरको शेयर लगानी गरिने सार्वजनिक गरेकी थिइन्। “आशा गरौँ, यस आर्थिक समृद्धिको अभियानले साथीहरूको जीवनमा केही परिवर्तन ल्याउनेछ,” भन्दै उनले समुदायलाई शेयर भर्न आह्वान गरेकी थिइन्।

तर, समुदायका सदस्यहरूको जीवनमा परिवर्तन ल्याउने आशा देखाएर शेयर भर्न लगाएको उक्त अभियान यतिबेला प्रश्नको घेरामा परेको छ। ब्लु डायमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष पिंकी गुरुङले शेयरमा लगानी गर्न लगाएर आर्थिक परिवर्तन ल्याउने दाबी गरेको स्ट्याटसलाई आधार बनाएर अहिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले सामाजिक सञ्जालमार्फत प्रश्न उठाइरहेका छन्।

समुदायका सदस्यहरूका अनुसार, पिंकीले शेयर भर्न लगाएर झन्डै आठ वर्ष बितिसक्दा पनि शेयर प्रमाणपत्र उपलब्ध गराएकी छैनन्। विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको रसिद दिएर समुदायका सदस्यहरूसँग लाखौँ रुपैयाँ उठाइए पनि न त शेयर प्रमाणपत्र दिइएको छ, न त रकम फिर्ता गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालयमा समुदायका सदस्यहरूले उजुरी गरेपछि रकम फिर्ता गर्ने सहमति भएको भए पनि पिंकीले हालसम्म कुनै चासो नदिएको पीडितहरूको भनाइ छ। शेयरमा लगानी गरेका समुदायका सदस्यहरूका अनुसार, पिंकीले अहिले इनर्जी इन्जिनियरिङलाई देखाउँदै आफू रकम फिर्ता गर्नुपर्ने दायित्वबाट पन्छिन खोजिरहेकी छन्।

समुदायलाई आर्थिक समृद्धिको सपना देखाएर शेयर भर्न लगाई रकम उठाएर लामो समयसम्म जवाफविहीन बनेको भन्दै पिंकीको काम कानुनविपरीत भएको आरोप पीडितहरूले लगाएका छन्। पिंकीको व्यक्तिगत सम्पत्तिको छानबिन गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ।

पीडित समुदाय आफ्नै रकम फिर्ता पाउन हारगुहार गरिरहेको भए पनि प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले सामान्य रूपमा लिँदा आफूहरूलाई रकम फिर्ता पाउन सकस भइरहेको पीडितहरूले बताएका छन्। यस विषयमा प्रतिक्रिया लिन खोज्दा पिंकी भने सम्पर्कमै आउन चाहिनन्।

सम्बन्धित समाचार :

बिरामी तेस्रोलिंगीको बेवास्ता, दान दिएर उजुरी दबाउने ब्लु डायमन्डको प्रयास

पिंकीको शेयर घोटाला र ब्लु डायमण्डको उर्दीले समुदाय लक्षित व्यापार धराशायी

‘समुदायकै नेतृत्वबाट ठगी, प्रहरी प्रशासन र सरकारी वकिल कार्यालय दोषी बचाउने भूमिकामा’

“पिंकीविरुद्ध हुलाकमार्फत उजुरी, प्रहरी–वकिल कार्यालय मौन रहेको आरोप”

समाचार शेयर गर्नुहोस्
251
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.