निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महाधिवेशनको प्रश्नले शेखर दिक्क, मिति सारे जिम्मेवारी नलिने

महाधिवेशनको प्रश्नले शेखर दिक्क, मिति सारे जिम्मेवारी नलिने

201
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित मितिमा नहुने भएको छ। पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको कांग्रेसले क्रियाशील सदस्यताको टुङ्गो लगाउन ढिलाइ गरेपछि तोकिएको मितिमा महाधिवेशन हुन नसक्ने अवस्था बनेको हो।

पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने तयारी थियो। तर क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणमा देखिएको विवाद समाधान हुन नसक्दा कार्यतालिका प्रभावित भएको छ।

कांग्रेस नेता डा.शेखर कोइरालाले महाधिवेशन पछाडि धकेलिनुको कारक आफू नभएको स्पष्ट पारेका छन्। १४औँ महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी समेत रहेका कोइरालाले नयाँ क्रियाशील सदस्यता बाँड्ने क्रममा देशभर सिरियल नम्बर नभएका सदस्यता फाराम पठाइएकै कारण महाधिवेशन धकेलिनु परेको दाबी गरे।

“क्रियाशील सदस्यता बाँड्दा सिरियल नम्बर नै नभएको पठाउने त शेखर कोइराला होइन होला, अरू नै होला,” उनले भने, “मैले त लक्कीले थाहा पाएँ, अलि चनाखो भएँ।”

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधवार बस्ने गरी बोलाइएको छ। बैठकमा महामन्त्री गगन थापाले नै महाधिवेशन मिति १० पछि सार्ने प्रस्ताव गर्ने एक नेताले जानकारी दिए। उनका अनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यतासम्बन्धी विवादकै कारण पार्टीले सम्पूर्ण कार्यतालिका हेरफेर गर्न लागेको हो।

पुस २६ देखि २८ सम्मका लागि घोषित महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण प्रणाली बुधवार दिउँसो १२ बजे ‘लक’ गर्ने तयारी गरिएको छ। महामन्त्री गगन थापा नै संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले बैठकअघि नै नवीकरण प्रणाली बन्द गर्ने तयारी गरेको हो।

समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको सम्पूर्ण काम टुङ्ग्याएर पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने छ।

यसअघि गत मंसिर २९ गते नै सदस्यता वितरण बन्द गर्ने भनिए पनि फाराम वितरणमा देखिएको विवादका कारण समय लम्बिएको थियो। मंसिर २३ गते चार वर्षे कार्यकाल सकिने भए पनि एक महिना पछि महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले हालको केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्मका लागि बढाइसकेको छ।

पार्टीभित्र महाधिवेशनको मिति करिब १० दिनपछि सार्ने तयारी भए पनि महाधिवेशन प्रतिनिधिसभाको चुनावपछि गर्ने भन्ने विषयमा संस्थापन र इतर समूहबीच अझै सहमति बन्न सकेको छैन।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको चुनाव फागुन २१ मा नहुने अवस्थामा मात्र महाधिवेशन यही वर्ष गर्न सकिने बताए। उनको भनाइले महाधिवेशन यही वर्ष हुनका लागि फागुन २१ मा घोषित निर्वाचन नहुनु पर्ने सङ्केत गर्छ।

कांग्रेस नेता डा. शेखर कोइरालाले महाधिवेशनबारे अत्यधिक चासो नदिन पत्रकारहरूलाई आग्रह गरेका छन्। महाधिवेशन, महाधिवेशन भन्दै बारम्बार सोधिँदा आफू दिक्क भएको उनले सुनाए।

कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसको महाधिवेशनबारे धेरै चासो नदिन आग्रह गरे।

“मिडियालाई किन चिन्ता लाग्यो ? यो एउटा पार्टीको अधिवेशन हो, चार–चार वर्षमा हुनुपर्छ भन्ने हिसाबले तपाईंहरू हिँड्नुस्,”उनले भने,“जसले पनि नेपाली कांग्रेसको महाधिवेशनबारे सोधिरहन्छ, मलाई त कहिलेकाहीँ दिक्क नै लाग्छ। किन सोध्यो होला भन्ने लाग्छ।”

हस्ताक्षरसहित संसद् पुनर्स्थापनाको पूरक निवेदन

कांग्रेस केन्द्रीय नेताहरू महाधिवेशनको रस्साकस्सीमा लागिरहँदा सांसदहरू भने हस्ताक्षरसहित संसद् पुनर्स्थापनाको पूरक निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले सभापति शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद सुरु गरेकै दिन कांग्रेसका ६५ सहित ६८ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका हुन्।

विघटित प्रतिनिधिसभामा कांग्रेसकी सचेतक सुशीला थिङले ६८ जना सांसदले लिखित हस्ताक्षरसहित वारेसनामामार्फत पूरक निवेदन दर्ता गराएको जानकारी दिइन।

कांग्रेसका ६५, स्वतन्त्र, जनमत र जसपाका एक–एक सांसदको गरी ६८ जनाको हस्ताक्षर बुझाइएको थिङले बताइन।

एमालेले यसअघि नै ७५ जनाको हस्ताक्षरसहित निवेदन दिइसकेको छ। योसँगै प्रतिनिधि सभा विघटनविरुद्ध हस्ताक्षरसहित सर्वोच्चमा रिट निवेदन दिने सांसदको सङ्ख्या १४३ पुगेको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पुग्न १३८ सांसद आवश्यक पर्छ। सर्वोच्चमा संसद् विघटनविरुद्ध बहुमत भन्दा बढी सांसद पुनर्स्थापनाको रिट लिएर पुगेका हुन्। जुन पूरक निवेदनको पेशी बुधवारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
201
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.