काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई साक्षी राखेर प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सरकारले सय दिने ‘हनिमुन पिरियड’ पूरा गरेपछि बल्ल शीर्ष तहमा संवाद सुरु गरेको हो।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतृत्वसँग प्रधानमन्त्री कार्कीले नियुक्त भएको सय दिन कटेपछि मात्र प्रत्यक्ष छलफल गरेकी हुन्।
प्रतिनिधिसभा विघटन गरी फागुन २१ का लागि घोषणा गरिएको निर्वाचन आउन अब दुई महिना ११ दिन मात्रै बाँकी रहँदा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले लामो समयदेखि कायम रहँदै आएको संवादहिनता तोडेकी छन्।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आफू रहरले प्रधानमन्त्री नबनेको भन्दै दलहरूका दोस्रो र तेस्रो तहका नेताहरूलाई जस्तै शीर्ष नेताहरूसँग पनि जेनजी आन्दोलनलाई नजरअन्दाज नगर्न आग्रह गरेकी छन्। देउवा, ओली र प्रचण्डले भने निर्वाचनमा जान शान्ति–सुरक्षाको ग्यारेन्टी हुनुपर्ने शर्त राखेका छन्।
सरकार शान्ति–सुरक्षाको ग्यारेन्टी गर्न र दलहरू निर्वाचनमा जान सहमत भएको राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ। फागुन २१ गते आउन अब ७१ दिन मात्रै बाँकी रहँदा बल्ल चुनावी माहौल बन्ने संकेत देखिएको छ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक वातावरण बनाउने समझदारी भएको छ। चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने सहमति पनि बनेको छ।
राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आग्रह गरेका थिए। देशको परिस्थिति गम्भीर र संवेदनशील रहेकाले राजनीतिक निकासका लागि निर्वाचनको घोषणा गरिएको स्मरण पनि राष्ट्रपति पौडेलले गराएका छन्।
संवादहिनता कायम रहँदा सरकारले फागुन २१ गते गराउने भनेको प्रतिनिधिसभा निर्वाचनसमेत प्रभावित हुन सक्ने भन्दै दबाब बढ्दै गएपछि अन्ततः शीर्ष तहमा भेट भएको हो। प्रधानमन्त्री कार्कीले सोमबार सिंहदरबारमा आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागीहरूले ‘खुट्टा बाँधेर पौडी खेल्न जाऊ’ भन्ने अवस्थाको अन्त्य गर्दै शीर्ष तहमा संवाद गर्न सुझाव दिएका थिए।
जेनजी आन्दोलनपछि नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी कार्कीले यसअघि देउवा, ओली र प्रचण्डसँग प्रत्यक्ष भेट गरेकी थिइनन्। यद्यपि उनले तीनै दलका दोस्रो र तेस्रो तहका नेताहरूसँग भने निरन्तर संवाद गर्दै आएकी थिइन्।
शीर्ष नेतासँग भेट्न चासो नदेखाएको भन्दै प्रधानमन्त्री कार्कीको आलोचना राजनीतिक वृत्तमा हुँदै आएको थियो। बिघटित प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग प्रधानमन्त्री कार्कीले आइतबार राति अबेरसम्म छलफल गरेकी थिइन्।
रविले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग चुनावमा मिलेर जानेबारे छलफल गरेको भोलिपल्टै तीन दलका शीर्ष नेताहरूले प्रधानमन्त्री कार्कीसँगको संवादहिनता तोडेका हुन्। रवि र बालेनबीच मंगलबार बिहान १ बजेसम्म छलफल भएको थियो।
बालेन र रवि एउटै गाडीमा हुइँकिने, ऊर्जा मन्त्री कुलमान घिसिङसमेत सामेल भई पुराना दलहरुविरुद्ध नयाँ वैकल्पिक शक्ति निर्माणबारे संवाद सुरु भएसँगै राजनीतिमा तरंग आएको छ।
बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा चर्चा गर्न थालिएको छ। तर, रास्वपा सभापति लामिछानेले भने बालेनलाई प्रधानमन्त्री बनाउने कुनै सहमति भइनसकेको प्रतिक्रिया दिएका छन्। उनले बालेनलाई प्रधानमन्त्री मान्ने विषयमा छलफल राजनीतिक तहमा पुगिनसकेको स्पष्ट पारे।
बालेनसँग छ घण्टा लामो भेटवार्ताको भोलिपल्ट लामिछानेले नयाँ शक्तिहरूलाई एकत्रित गर्ने सन्दर्भमा जेनजी अगुवा सुधन गुरुङसँग छलफल भएको र ऊर्जा मन्त्री कुलमान घिसिङलगायतसँग पनि छलफल गर्ने तयारीमा रहेको बताए।
सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछाने गत शुक्रबार मात्रै २ करोड ७४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्। रिहाइसँगै उनले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.