निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पूर्वप्रधानसेनापति प्रज्वल शमशेरसँग घरबहाल विवाद, डोल्पो बुद्धले मागे तीन करोड क्षतिपूर्ति

पूर्वप्रधानसेनापति प्रज्वल शमशेरसँग घरबहाल विवाद, डोल्पो बुद्धले मागे तीन करोड क्षतिपूर्ति

812
SHARES

काठमाडौं – पूर्वप्रधानसेनापति प्रज्वल शमशेर ज.ब.रा. परिवारसँग डोल्पो बुद्धको विवाद भएको छ। १० वर्षका लागि गरिएको घरबहाल सम्झौता ३ वर्ष अगावै तोडिएपछि आफू अन्यायमा परेको दाबी डोल्पो बुद्धले गरेका छन्।

डोल्पो बुद्धले व्यावसायिक प्रयोजनका लागि पूर्वप्रधानसेनापति प्रज्वल शमशेर ज.ब.रा.को स्वामित्वमा रहेको काठमाडौँ महानगरपालिका वडा नं. २ स्थित घर २०७५ असोज १५ गते बहाल सम्झौता गरी लिएका थिए।

सम्झौताअनुसार उनले मासिक ३ लाख रुपैयाँ भाडा बुझाउँदै आएका थिए। सो घरमा ‘नोर्छोक बुटिक होटल’ सञ्चालन गर्ने सम्झौतामा पूर्वप्रधानसेनापति प्रज्वल शमशेर ज.ब.रा.की श्रीमती सिन्धु राना र फुर्वा टाशी गुरुङको हस्ताक्षर छ।

सम्झौताअनुसार बहाल अवधि ३० सेप्टेम्बर २०२८ सम्म कायम रहने उल्लेख छ। २१ बुँदे सम्झौतामा बुँदा नम्बर २(ए) अनुसार मासिक ३ लाख रुपैयाँ भाडा बुझाउनुपर्ने र सम्झौताका तेस्रो, पाँचौँ, सातौँ र नवौँ वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने लेखिएको छ। स्थानीय कर डोल्पो बुद्धले तिर्ने सम्झौतामै उल्लेख गरिएको छ।

डोल्पो बुद्धले २०८१ जेठ २१ गतेसम्म आन्तरिक राजस्व कार्यालयमा घरबहाल कर बुझाएको रसिद सुरक्षित राखेका छन् भने २०८२ असार २४ गते आन्तरिक राजस्व विभागबाट करचुक्ता प्रमाणपत्र पनि लिएका छन्। सम्झौताअनुसार पहिलो वर्ष ६ महिनाको अग्रिम भाडा बुझाउनुपर्ने सर्त पनि रहेको थियो।

उनले नियमित रूपमा भाडा बुझाउँदै आए पनि सम्झौताको अवधि नसकिँदै ‘अर्कै व्यक्तिलाई होटल सञ्चालन गर्न दिएको’ भन्दै सिन्धु रानाले ७ वर्षमै सम्झौता तोडी अर्कैलाई घर भाडामा दिएको उनको आरोप छ। सम्झौता तोडिएपछि डोल्पाको शे फोक्सुन्डो गाउँपालिका वडा नं. १ मा जन्मिएका फुर्वा टाशी गुरुङ क्षतिपूर्ति दाबी गर्ने अवस्थामा पुगेका छन्।

७ वर्षसम्म कुनै मनमुटाब नभएको बताउने उर्गेन गुरुङका नाति तथा नुर्बु गुरुङका छोरा ५३ वर्षका फुर्वा टाशी गुरुङ अहिले भने नेपाली सेनाका पूर्वप्रधानसेनापति प्रज्वल शमशेर ज.ब.रा.बाट पीडित बन्नुपरेको बताउन थालेका छन्। उनले पूर्वप्रधानसेनापति ज.ब.रा.सँग क्षतिपूर्ति माग गरेको र आफूले न्यायका लागि गुहार माग्नुपरेको बताएका छन्।

बौद्ध धर्म अनुसरण गर्ने उनी बौद्ध भिक्षु हुन्। कर्णाली प्रदेशअन्तर्गत डोल्पा जिल्लाको उपल्लो डोल्पामा जन्मिएका उनले प्रारम्भिक शिक्षा पनि सोही जिल्लाबाट पूरा गरेका हुन्। बौद्ध ज्ञान प्राप्त गरी हाल बौद्ध भिक्षुहरूलाई शिक्षादीक्षा प्रदान गर्दै आएका उनी जन्मस्थान उपल्लो डोल्पामा हालसम्म पनि राज्यको तर्फबाट शिक्षामा उचित लगानी हुन नसकेको बताउँछन्। त्यस क्षेत्रमा बालबालिका अझै पनि शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

प्लान इन्टरनेशनल संस्थाले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार डोल्पा जिल्लाको साक्षरता दर ५४.१ प्रतिशत रहेको देखिन्छ। यही विकराल समस्याको निराकरण गर्न फुर्वा टाशी गुरुङले जिल्लाका बालबालिकालाई लक्षित गरी निःशुल्क पठनपाठनका लागि ‘स्नोल्याण्ड रानाङ्ग स्कुल’ सञ्चालन गर्दै आएका छन्।

उक्त विद्यालय काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. २ मा अवस्थित छ। विद्यालय विभिन्न देशका दातृ निकाय तथा दाताहरूको सहयोगमा सञ्चालन हुँदै आएको उनी बताउँछन्।

मनकारी दाताहरू नेपालमा योग, ध्यान तथा बौद्ध धर्म अभ्यासका लागि नियमित रूपमा आउने भएकाले उनीहरूको बसोबास, आतिथ्य तथा अन्य समयमा व्यावसायिक प्रयोजनका लागि उनले पूर्वप्रधानसेनापति ज.ब.रा.को स्वामित्वमा रहेको काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २, कित्ता नं. १४७, लाजिम्पाटस्थित क्षे.फ. ३-११-१-२ रहेको घर २०७५।०६।१५ गते बहाल सम्झौता गरी लिएका थिए।

विगत ७ वर्षदेखि सो घरजग्गा विदेशी दाताहरूको आतिथ्यता तथा अन्य समयमा व्यावसायिक प्रयोजनका लागि बहालमा उपयोग गर्दै आएको उनले बताए। आफूले बहालमा लिएको घरजग्गा मुलुकी देवानी संहिता, २०७४ को दफा २७१ अन्तर्गत रही सम्झौता तथा करार बमोजिम निर्बाध रूपमा भोगचलन गर्दै आएको उनको दाबी छ।

‘मैले नियमित मासिक बहाल रकम सिन्धु रानाका श्रीमानको स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा रहेको संयुक्त खातामा जम्मा गर्दै आएको छु,’ उनले भने।

सम्झौताअनुसार बहालमा लिएको घरको भौतिक संरचना निर्माण तथा फ्रन्ट डेस्क, लबी, बेड, भित्री फिनिसिङ, रेस्टुरेन्टका लागि आवश्यक सम्पूर्ण सामग्री खरिद, गार्डेनिङ, रङरोगनलगायतका काम आफूले आफ्नै लगानीमा सम्पन्न गरेको उनले बताए।

उनका अनुसार यस क्रममा कुल ३,००,००,००० रुपैयाँ (तीन करोड रुपैयाँ) खर्च भएको छ। ‘यो लगानी मैले बहाल सम्झौताको अवधिसम्म होटल सञ्चालन र विदेशी पाहुनाको आतिथ्यका लागि गरेको हुँ,’ उनले भने, ‘यसमा भएको सम्पूर्ण खर्चको विवरण कलमगत रूपमा मसँग दुरुस्त छ।’

घरलाई होटल तथा विदेशी पाहुना बस्न योग्य बनाउँदा गरिएको स्तरोन्नति र सजावटका लागि खर्च गरिएको रकम रु ३,००,००,००० (तीन करोड रुपैयाँ) प्रत्यक्ष क्षति र हानी नोक्सानी भएको भन्दै सो क्षतिपूर्ति भराई पाउन अदालतको ढोका ढकढक्याउने तयारीसमेत उनले गरेका छन्।

बहाल अवधि करिब चार वर्ष बाँकी रहँदै सन् २०२४ मा आफू वैदेशिक भ्रमणका क्रममा ताइवानमा रहेको समयमा सम्झौता एकपक्षीय रूपमा तोडिएको फुर्वा टाशी गुरुङले गुनासो गरेका छन्।

सम्झौता तोड्नुअघि आफूलाई कुनै पूर्वसूचना नदिइएको उनको भनाइ छ। शक्तिशाली व्यक्ति तथा नेपाली सेनाका पूर्वप्रधानसेनापति भएको भन्दै सो पदको रवाफ र प्रभाव देखाई आफू र आफ्नो परिवारलाई जबरजस्ती होटलबाट हटाएर सम्झौता उल्लङ्घन गरिएको आरोप उनले लगाए।

आफू विदेशमा रहेको समयमा पाले, पहरेदार तथा होटलमा कार्यरत कामदारलाई ‘आजबाट बहाल सम्झौता समाप्त भयो, अब घर अर्कै व्यक्तिलाई दिइसकेको छु’ भनी प्रवेश नदिइएको उनले बताए। ‘त्यहाँबाट आफ्नो शक्ति, रवाफ र प्रभावको प्रयोग गरी हटाई होटल प्रवेशद्वारमै मेरा पाहुना, आफन्त तथा कामदारलाई प्रवेश गर्न नदिई हटक गर्ने काम गरियो,’ उनले भने। उनले थपे, ‘त्यसपछि मैले विदेशी पाहुना तथा ग्राहक सुहाउँदो गरी सजावट गरी घर दुरुस्त बनाइसकेको देखेपछि सोही प्रयोजनका लागि घर उपयोग गर्ने सोच बनाइएको जस्तो देखिन्छ।’

तत्कालै सम्झौता समाप्त गरी उक्त होटल सञ्चालनका लागि तेस्रो व्यक्ति (बुकी होटल प्रा.लि.) लाई पूर्वसेनापति जबराले घर दिएको उनले बताए। ‘मैले त्यति ठूलो रकम खर्च गरी विदेशी पाहुनालाई आवासीय रूपमा आतिथ्यता दिन सक्ने स्तरको होटल बनाइसकेपछि मलाई हटाई मसँग भएको सम्झौताको उल्लङ्घन गरिएको छ,’ उनले भने।

बहाल सम्झौता उल्लङ्घन गरी बहाल लिएको घरबाट विदेशी पाहुना बस्न योग्य बनाउने क्रममा सजावट तथा भौतिक संरचनाको स्तरोन्नतिमा भएको खर्च, साथै सम्झौता अवधि बाँकी छदै हटाइँदा भएको आर्थिक मर्का, हानी नोक्सानी र क्षतिका लागि क्षतिपूर्ति भराई पाउन उनले माग गरेका छन्।

प्रज्वल शमशेर ज.ब.रा. नेपाली सेनाको प्रधानसेनापति जस्तो उच्च पदमा कार्यरत रही हाल अवकाश प्राप्त व्यक्ति हुन्। त्यही पदको रवाफ र प्रभावको कारण आफू विदेशमा रहेको अवस्थामा आफ्ना कामदार र कर्मचारीलाई हटाई बहालमा दिएको घर सजिलै कब्जामा लिन सक्षम भएको आरोप उनले लगाएका छन्।

आफ्नो पद र ओहोदाको प्रभाव प्रयोग गरी सम्झौताबाट संरक्षित अधिकारबाट वञ्चित गराउने र एकतर्फी रूपमा बहाल सम्झौता उल्लङ्घन गर्न सकिएको उनको भनाइ छ। ‘यसबाट मैले गर्दै आएको सामाजिक कामको उत्थान, उन्नयन तथा स्रोत सङ्कलनको बाटो बन्द भएको छ,’ उनले भने, ‘यसका कारण मलाई मात्र होइन, मेरो सामाजिक काम, स्कुल सञ्चालनका लागि आउने आम्दानी तथा मेरा कामदार–कर्मचारी समेत बिचल्लीमा परेका छन्।’

घरको संरचना, सजावट तथा स्तरोन्नति गर्दै जाँदा बहाल सम्झौता थप अवधिका लागि पुनः नवीकरण हुन सक्ने आश्वासन आफूले पाएको फुर्वा टाशी गुरुङले बताए। ‘तर जब स्तरोन्नतिमा करोडौँ रकम खर्च भयो, त्यसपछि म विदेशमा भएको अवस्थामा एक्कासि हटाउने काम गरी घर कब्जामा लिइयो,’ उनले भने।

सम्झौता भङ्ग गर्ने यो कार्य मुलुकी देवानी संहिता, २०७४ को दफा ४०२(ख) तथा दफा ५३५ अनुसार स्पष्ट रूपमा बहाल तथा करार सम्झौताको उल्लङ्घन भएको दाबी उनले गरेका छन्।

सम्झौताबमोजिम १० वर्षका लागि दिएको घर, करार अवधि कायम रहँदै आफू विदेशमा रहेको बेलामा जबरजस्ती तथा बलपूर्वक हडपी होटल सञ्चालन गर्न नदिई अन्य व्यक्तिलाई सञ्चालन गर्न दिइएकोले आफूलाई गम्भीर अन्याय परेको उल्लेख उनले गरे।

घरलाई होटल तथा विदेशी पाहुना बस्न योग्य बनाउँदा गरिएको स्तरोन्नति र सजावटका लागि खर्च गरिएको रकम रु ३,००,००,००० (तीन करोड रुपैयाँ) प्रत्यक्ष क्षति र हानी नोक्सानी भएको भन्दै सो क्षतिपूर्ति भराई पाउन अदालतको ढोका ढकढक्याउने तयारीसमेत उनले गरेका छन्।

हाल विदेशी पाहुनाको उपस्थिति बढ्दो अवस्थामा पुगेको बेला यस्तो अवस्था ल्याउन १० वर्षे बहाल अवधिको योजना र परियोजना बनाई रु ३,००,००,००० लगानी गरेको उनले बताए। ‘सम्झौता भएको लगत्तै कोरोना महामारीका कारण विश्वभर पर्यटक आवागमन र होटल व्यवसाय ठप्प भएको अवस्थामा समेत मैले करारबमोजिम नियमित रूपमा भाडा रकम भुक्तान गर्दै आएको छु,’ उनले भने।

‘जब मैले होटलको रूपमा सञ्चालन गर्न योग्य बनाई पाहुना व्यवस्थापन सुरु गरेँ, त्यसपछि मलाई यसबाट वञ्चित गरी मेरो भोगचलनमा बन्देज लगाई घरबाट निकाल्ने काम गरियो,’ उनले भने। उनका अनुसार स्तरोन्नति गराउने र त्यसपछि हटाउने नियत सुरुदेखि नै रहेको देखिने अवस्था छ। यसरी एकपक्षीय हस्तक्षेप गरी सम्झौता उल्लङ्घन गर्दै होटलबाट हटाइएपछि होटल सञ्चालन, रेस्टुरेन्ट सेवा, कार्यक्रम बुकिङ, नियमित ग्राहक आधार, पर्यटन सिजनका आम्दानी तथा भविष्यका व्यावसायिक अवसरजस्ता स्थिर आय–स्रोत गुमेको उनको भनाइ छ। यसबाट अप्रत्यक्ष रूपमा थप आम्दानी र आयस्रोत गुमाउँदै थप क्षति व्यहोर्नु परेको उनले बताए।

करार भनेको हस्ताक्षर गर्ने सबै पक्षलाई नियमन गर्ने निजी कानुन भएको र सबै पक्षका लागि बाध्यकारी हुने उल्लेख गर्दै, करार उल्लङ्घन भए त्यसबाट उत्पन्न हुने सम्पूर्ण प्रत्यक्ष, अप्रत्यक्ष, व्यावसायिक तथा प्रतिष्ठागत क्षतिको जिम्मेवारी उल्लङ्घन गर्ने पक्षले व्यहोर्नुपर्ने उनले बताए।

व्यवसायबाट जबरजस्ती हटाउनु, दुई पक्षबीच भएको दीर्घकालीन सम्झौता अवैध रूपमा तोड्नु तथा तेस्रो व्यक्तिलाई सम्पत्ति र व्यवसाय सञ्चालनका लागि हस्तान्तरण गरिँदा आफ्नो वित्तीय लगानी शून्य अवस्थामा पुगेको उनको भनाइ छ। उक्त कार्यले निजी तथा व्यावसायिक जीवनमा गम्भीर असर परेको भन्दै मुलुकी देवानी संहिता, २०७४ को दफा ५३७(१) र (२) बमोजिम रु ३,००,००,००० (तीन करोड रुपैयाँ) क्षतिपूर्ति भराई पाउन न्यायका लागि अदालत जाने तयारीमा रहेको उनले बताएका छन्।

आफ्ना दाबी पुष्टि गर्ने प्रमाणका रूपमा मासिक रूपमा भाडा रकम भुक्तानी गर्दै आएको भौचर, करार सम्झौताको प्रतिलिपि तथा हाल होटल सञ्चालन गरिरहेको कम्पनीको सेयर लगतसम्बन्धी कागजातहरू आफूले सुरक्षित राखेको उनले जानकारी दिए।

२०५६ साल जेठ ५ गते प्रज्वल शमशेर राणा नेपाली सेनाको प्रधानसेनापति थिए। २०५८ जेठ १९ गते राजदरबार हत्याकाण्ड भयो। त्यसपछि ‘राजाको रक्षा गर्ने काम सेनाको होइन’ भन्ने प्रतिक्रिया दिएका पूर्वप्रधानसेनापति राणा त्यसबेला विवादमा समेत परेका थिए।

यद्यपि नेपाली सेनाभित्र पूर्वसेनापति राणा सामान्य अर्थमा विवादित पात्र भने मानिँदैनन्। उनी आफू अनुशासनमा बस्ने र अरूलाई पनि अनुशासनमा राख्ने सेनापतिका रूपमा परिचित छन्। नेपाली सेनामा उनी ‘एक्स्ट्रा अर्डिनरी’ सेनापति हुन भने नसकेको बुझाइ सेनाभित्र छ।

उनी व्यक्तिगत रूपमा भ्रष्ट वा धूर्त व्यक्ति होइनन्। जानीजानी अन्याय गर्ने स्वभावका पनि होइनन्। तर म्याद थप नगरेका कारण ५–७ जना मध्ये एक जना जर्नेलले अन्याय भएको भन्दै असन्तुष्टि सार्वजनिक नै गरेका थिए।

मेजरदेखि फुल कर्णेलसम्मका सहयोद्धा जर्नेलहरूको भनाइअनुसार पूर्वप्रधानसेनापति प्रज्वल शमशेर दिलीप रायमाझीमाथि विश्वास गर्दा धोका पाएका व्यक्ति हुन्। तत्कालीन माओवादी युद्धका समयमा रायमाझीमाथि विश्वास गर्दा सेनामाथि आक्रमण भएको कुरा एक जर्नेलले आफ्नो पहिचान नखुलाउने सर्तमा सुनाए।

रायमाझी र नारायणसिंह पुनमाथि विश्वास गर्दा माओवादीले उनीहरूलाई प्रयोग गरेको देखियो। उनीहरूलाई झुक्काइयो, मख्ख पारियो र कमजोर देखाइयो। यही कारण उनी ‘एक्स्ट्रा अर्डिनरी चिफ’ बन्न नसकेको विश्लेषण पनि सेनाभित्र गरिन्छ।

पूर्वसेनापतिहरूमध्ये रुक्माङ्गद कटवालको कार्यकालमा उनकी श्रीमतीले प्रयोग गर्ने सामानको सूची नेपाली सेनाको हेडक्वाटरमा पुगेको भन्दै विवाद भएको स्मरण अवकाशप्राप्त एक पूर्वजर्नेलले गराए। तर अन्य सेनापतिहरूको हकमा त्यो तहको विवाद नभएको उनको भनाइ छ।

ती जर्नेलका अनुसार पूर्वसेनापति प्रज्वल शमसेरको श्रीमती बाठी र चतुर महिला हुन्। तर उनी खराब भने होइनन्। उनी बालकृष्ण समकी छोरीकी पनि छोरी अर्थात् नातिनी हुन्। घर–व्यवहार आफैँ मिलाउने स्वभावकी उनी हेडक्वाटरको नभएर आफ्नै नाममा रहेको सम्पत्तिका कारण भने विवादमा आएकी छन्।

सिन्धु रानाले आफूले पनि १० वर्षका लागि घरबहाल सम्झौता गरेको स्वीकार गरेकी छन्। तर, सम्झौता आफ्ना कारणले नभई डोल्पो बुद्धकै कारण तोडिएको उनको दाबी छ।

डोल्पो बुद्ध आफैँले सञ्चालन गरिरहँदा कामदारहरूलाई प्रवेश नदिने रानाले पहिचानसँगको कुराकानीमा भने,आफूलाई जानकारी नै नदिई तेस्रो पक्षसँग सम्झौता गरिएको र त्यसबारे सोध्दै नसोधी घर दिएको भन्ने प्रश्न गर्दा ‘चलाउन सकिन’ भन्ने जवाफ मात्र पाएको जिकिर उनले गरिन्।

‘जुन मान्छेलाई घर दिन मन थिएन, त्यस्तो मान्छेलाई सह–सम्झौता गरेर घर दिनु भएछ, हामीलाई सोध्दै नसोधी। यस्तो मान्छेलाई हामी दिँदैनौँ। तपाईँ नलिने भए, तपाईँ सम्झौता ब्रेक गर्नुहोस्,’ उनले भनिन्।

सञ्चारमाध्यमहरूले नचाहिने कुरालाई प्रोत्साहन दिएर बढाएको आरोप लगाउँदै उनले असन्तुष्टि व्यक्त गरिन्। ‘मलाई त पत्रकारहरूसँग पनि एकदम रिस उठेको छ,’ उनले पहिचानसँग भनिन्,‘यो देशमा अहिले कानुन नै छैन।’ उनले सत्य कुरा नबुझिएको दाबी समेत गरिन्।

समाचार शेयर गर्नुहोस्
812
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.