काठमाडौँ- ग्लोबल आइएमई बैङ्क लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरूलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारी पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरे।
समझदारी पश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहजरुपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूको व्यवसाय विस्तार सँगै रोजगारी वृद्धि हुने विश्वास लिएको बैङ्कले जनाएको छ।
सम्झौता अनुसार, डिएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैङ्कको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरुपमा कर्जा पाउनेछन्।
नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलस्वरुप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको बैङ्कले जनाएको छ।
डिएआई–उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आइटी, पर्यटन तथा उत्पादनमूलक उद्योग लगायतका व्यवसायहरूलाई कर्जाको उपलब्धता तथा व्यावसायिक उन्नतिको लागि वित्तीय श्रोतमा सहज वातावरण बनाइरहेको दाबी बैङ्कले गरेको छ।
बैङ्कका अनुसार ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ। बैङ्क अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैङ्क २०१६, बेष्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैङ्क ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको बैङ्कले जनाएको छ।
ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैङ्कले जनाएको छ।
बैङ्कले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैङ्कले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको बैङ्कले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.