निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाल धर्म सापेक्ष किन हुनु पर्छ?

नेपाल धर्म सापेक्ष किन हुनु पर्छ?

208
SHARES

नेपालमा “धर्म” शब्द जति सर्वव्यापी छ, यसको अर्थ त्यति नै सङ्कुचित र विकृत पारिएको छ। हामीले पश्चिमा अवधारणा ‘Religion’ को हचुवा अनुवादका रूपमा ‘धर्म’ शब्दलाई प्रयोग गर्‍यौँ र यसैलाई संविधान, राजनीति एवं राज्यसत्ताको कोलाहलमा मिसायौँ। परिणामस्वरूप, “धर्म सापेक्ष” र “धर्म निरपेक्ष” जस्ता बहसहरू सतहमा आए, जुन भाषिक रूपमा मात्र नभई दार्शनिक रूपमा समेत भ्रान्त छन्।

यस भ्रमको एउटै मूल जड हो— धर्मको वास्तविक स्वरूपलाई नबुझ्नु। जब हामी धर्मलाई नै नबुझी यसको ‘सापेक्षता’ वा ‘निरपेक्षता’ को वकालत गर्छौँ, हामी वास्तवमा शब्दको अँध्यारो सुरुङमा हराइरहेका हुन्छौँ।

धर्म शब्दको व्युत्पत्ति र मूल अर्थ

“धर्म” शब्द संस्कृतको √धृ (धारणे) धातुबाट निष्पन्न भएको हो। यसको अर्थ हो— धारण गर्नु, वहन गर्नु वा कुनै वस्तु वा अवस्थालाई सम्भव बनाउनु।

धर्म कुनै अदृश्य ईश्वर होइन: यो कसैको आज्ञा वा वरदान होइन।

धर्म कुनै कर्मकाण्डी पूजा–पद्धति होइन: धूप, दीप वा बली चढाउनु धर्मको एउटा सानो सांस्कृतिक अंश हुन सक्छ, तर त्यो धर्मको प्राण होइन।

धर्म कुनै संस्थागत सङ्गठन, मजहब वा पन्थ होइन: धर्मको कुनै सदस्यता शुल्क हुँदैन, न त यसको कुनै प्रधान कार्यालय नै हुन्छ।

धर्म भनेको वास्तविकता कसरी टिकेको छ भन्ने ‘प्राकृतिक नियम’ हो। जसरी पानीको धर्म ‘शीतलता’ हो र आगोको धर्म ‘ताप’ हो, त्यसरी नै मानिसको धर्म उसको ‘होस’ र ‘मानवता’ हो।

मजहब (Religion) र धर्म बीचको स्पष्ट सीमारेखा:

हामीले ‘Religion’ र ‘Dharma’ लाई एउटै घानमा मिसाएर ठुलो भूल गर्‍यौँ।

Religion (मजहब वा पन्थ) का विशेषता:

एउटा निश्चित प्रवर्तक (Founder) हुने।

एउटा पवित्र पुस्तक (Scripture) हुने।

एउटा निश्चित ईश्वर शक्तिमा विश्वास (Belief) हुने।

पूजा र प्रार्थनाको एउटा संस्थागत ढाँचा हुने।

यस अर्थमा हिन्दु, बौद्ध, इस्लाम, ख्रिस्टियन, जैन वा सिख हुनु भनेको कुनै निश्चित मजहब वा सम्प्रदायको अनुयायी हुनु हो। यी सबै ‘पन्थ’ हुन्। त्यसैले “हिन्दु, बौद्ध, इस्लाम, ख्रिस्टियन, जैन धर्म” भन्नुको सट्टा ‘हिन्दु, बौद्ध, इस्लाम, ख्रिस्टियन, जैन पन्थ’ वा ‘हिन्दु, बौद्ध, इस्लाम, ख्रिस्टियन, जैन पद्धति’ भन्नु दार्शनिक रूपमा सही हुन्छ। धर्म त यी सबैभन्दा माथि रहने एउटा सार्वभौम सत्य हो।

आचार्य वसुबन्धु र ‘अभिधर्म’ को दृष्टि:

महायान दर्शन र विशेषगरी ‘अभिधर्मकोश’ का प्रणेता आचार्य वसुबन्धुले धर्मलाई अत्यन्त सूक्ष्म ढङ्गले व्याख्या गर्नुभएको छ। उहाँका अनुसार संसार कुनै ठोस वा स्थायी वस्तु होइन; यो त धर्महरूको एउटा प्रवाह मात्र हो।

वसुबन्धुका अनुसार धर्म (धम्म) का १० गहन अर्थ:

१. धारकत्व (Essential Holder): जसले कुनै अवस्थालाई सम्भव बनाउँछ, त्यो धर्म हो।

२. स्वभाव (Inherent Nature): प्रत्येक तत्त्वको आफ्नै निजी गुण हुन्छ।

३. क्षणिकता (Momentariness): धर्महरू स्थायी हुँदैनन्। एक क्षण उत्पन्न हुनु र अर्को क्षण विलय हुनु नै धर्मको आधारभूत स्वभाव हो।

४. अनुभवको विषय: चित्तले जे–जे महसुस गर्छ—रूप, शब्द, गन्ध, रस, स्पर्श—यी सबै धर्म हुन्।

५. कार्य-कारणको नियम: धर्म भनेको ‘यो भए, त्यो हुन्छ र यो नभए, त्यो पनि हुँदैन’ भन्ने विज्ञान हो।

६. यथार्थका घटक: संसार धर्महरूको संयोजन (Aggregates) मात्र हो। ७. यथाभूत ज्ञान: (विपश्यनामा) जे प्रत्यक्ष देखिन्छ, त्यही धर्म हो।

८. अनात्मता (Selflessness): धर्महरूमा कुनै स्थायी ‘आत्मा’ वा ‘म’ हुँदैन।

९. दुःखको विश्लेषण: दुःख र यसको निरोधलाई बुझ्ने आधार नै धर्म हो।

१०. मुक्तिको सत्य: धर्मको अन्तिम गन्तव्य भनेको निर्वाण वा विमुक्ति हो।

बुद्धको धम्म: एउटा मनोवैज्ञानिक र वैज्ञानिक मार्ग;

बुद्धले धर्मलाई कुनै ‘सिद्धान्त’ का रूपमा होइन, ‘औषधि’ का रूपमा प्रस्तुत गर्नुभयो। बुद्धले कहिल्यै धर्मलाई ईश्वर वा पहिचानसँग जोड्नुभएन।

उहाँले भन्नुभयो: “धम्मं सरणं गच्छामी” अर्थात् “म सत्य वा प्राकृतिक नियमको शरणमा जान्छु।” बुद्धका लागि धर्म भनेको:

दुःखको गहिरो विश्लेषण।

दुःखको कारण (तृष्णा र अविद्या) को बोध।

र त्यो दुःखबाट मुक्त हुने अष्टाङ्गिक मार्गको अभ्यास।

बुद्धले धर्म स्थापना गर्नुभएन, उहाँले त केवल अस्तित्वको नियमलाई ‘देखाइदिनु’ मात्र भयो।

संविधान : आधुनिक ‘राजधर्म’ र कर्तव्यको विधान;

“नेपाल धर्म सापेक्ष हो कि निरपेक्ष?”—यो प्रश्न नै दार्शनिक रूपमा त्रुटिपूर्ण छ। राज्य कुनै पनि मजहब (Religion) बाट निरपेक्ष हुनुपर्छ, तर राज्य-धर्म (Dhamma) बाट कहिल्यै पनि निरपेक्ष हुन सक्दैन।

किनकि संविधान स्वयंमा एउटा धर्म हो।

प्राचीन समयमा जसलाई ‘राजधर्म’ भनिन्थ्यो, आजको लोकतन्त्रमा त्यसैको स्वरूप ‘संविधान’ हो। संविधान केवल कानुनी दस्ताबेज मात्र होइन, यो राज्य र नागरिकबीचको ‘नैतिक अनुबन्ध’ हो।

राज्यको धर्म: आफ्ना नागरिकको रक्षा गर्नु, भेदभावविहीन न्याय प्रदान गर्नु र समाजमा समता कायम गर्नु राज्यको सर्वोच्च धर्म हो।

नागरिकको धर्म: समाजप्रति उत्तरदायी हुनु, राष्ट्रिय अखण्डताको रक्षा गर्नु र आफ्नो अधिकारको प्रयोग गर्दा अरूको मर्यादाको ख्याल गर्नु नागरिकको धर्म हो।

समाजको धर्म: करुणा, सद्भाव र सहअस्तित्वमा आधारित समाजको निर्माण गर्नु साझा धर्म हो।

यदि राज्य ‘धर्म-निरपेक्ष’ को नाममा आफ्ना नागरिकप्रतिको दायित्वबाट विमुख हुन्छ भने त्यो राज्यको पतन हुन्छ। त्यसैले राज्य मजहबबाट टाढा बसेर धर्म (कर्तव्य र न्याय) मा आधारित हुनुपर्छ।

धर्म न मजहब हो, न राजनीति हो, न त यो कसैलाई होच्याउने वा उचाल्ने पहिचानको हतियार नै हो। धर्म भनेको— सत्यको बोध, कर्तव्यको पालन र मुक्तिको सम्भावना हो। आचार्य वसुबन्धु र बुद्ध दुवैले सिकाएको सत्य एउटै हो: धर्म मानिँदैन, धर्म त बुझिन्छ र बाँचिन्छ।

अतः

मजहबलाई ‘मजहब’ नै भन्ने: ताकी व्यक्तिगत आस्थाका नाममा सामाजिक र राजनीतिक विभाजन नहोस्।

धर्मलाई दार्शनिक र आध्यात्मिक धरातलमा फर्काउने: ताकी मानिसले कर्मकाण्डभन्दा माथि उठेर आत्मिक शान्ति र सत्यको खोजी गरोस्।

राज्यलाई शब्दगत भ्रमबाट मुक्त गर्ने: ताकी यसलाई केवल ‘मजहबी’ निरपेक्षतामा मात्र होइन, बरु ‘न्याय, विधि र कर्तव्य’ (धर्म) को ठोस जगमा उभ्याउन सकियोस्।

संविधानलाई शासनको धर्म र मानवीयतालाई जीवनको धर्म बनाउनु नै आजको वास्तविक आवश्यकता हो।

समाचार शेयर गर्नुहोस्
208
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.