निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समानुपातिक सांसद बन्ने अवसर

समानुपातिक सांसद बन्ने अवसर

235
SHARES

काठमाडौँ – समावेशी समाजवादी पार्टीले समानुपातिकतर्फ सांसदको उम्मेदवार बन्ने महत्त्वपूर्ण अवसर उपलब्ध गराएको जनाएको छ।

विज्ञप्ति निकालेर पार्टीले न्याय र समावेशितामा विश्वास गर्ने सबै नेपाली नागरिकलाई सांसदको उम्मेदवार बन्न पाउने अवसर नगुमाउन आह्वान गरेको छ।

फाल्गुन २१ का लागि अझै पनि समावेशी, प्रगतिशील, सहभागी र वैकल्पिक राजनीतिक मञ्च खोजिरहेका व्यक्तिका लागि यो अवसर रहेको पार्टीले जनाएको छ।

पार्टीले समावेशी समाजवादी पार्टीलाई नागरिकहरूको आफ्नै राजनीतिक विकल्पका रूपमा अगाडि सारेको छ। पार्टीले शुक्रवार बैठक बसेर समानुपातिक उम्मेदवारको सूची तय गरी निर्वाचन आयोगमा पठाउने तयारी गरिरहेको जनाएको छ।

यसका लागि सांसद बन्ने चाहना भएका स्वतन्त्र व्यक्तिहरूले अवसर नछुटाउन आग्रह गरिएको छ। इच्छुक व्यक्तिहरूले शुक्रवार भोलिभित्र इन्सबक्स, एसएमएस वा फोनमार्फत आफ्नो नाम, संक्षिप्त परिचय र सम्पर्क विवरण पठाउन अनुरोध गरिएको छ।

समावेशी समाजवादी पार्टीका अनुसार पार्टीको मूल एजेन्डा सहभागितात्मक लोकतन्त्र हो। पार्टीले साइबरनेटिक लोकतान्त्रिक सङ्घीयता जस्तो नयाँ राजनीतिक मोडल प्रस्ताव गरेको छ। यसले नागरिकलाई प्रत्यक्ष नीति निर्णयमा सहभागी गराउने लक्ष्य राख्छ।

स्थानीय तहलाई सशक्त बनाउने र प्रविधिमार्फत जनता–नेता संवाद खुला बनाउने पार्टीको धारणा छ। पार्टीले समावेशितालाई केवल प्रतिनिधित्वमा सीमित नराख्ने जनाएको छ।

जातीय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, महिला, दलित, जनजाति, युवा, मजदुर तथा पिछडिएका समुदायहरूको न्यायपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

पर्यावरणीय न्याय र दिगो विकास पार्टीको अर्को प्राथमिकता रहेको समावेशी समाजवादी पार्टीले बताएको छ। पार्टीले हरित अर्थतन्त्र र नेपालको जैविक विशेषतालाई सम्मान गर्ने विकास मोडलमा जोड दिएको पार्टीका संरक्षक एवं सल्लाहकार सुनिल बाबु पन्तले बताए।

पन्तका अनुसार खेती र पर्यावरण सन्तुलनलाई विकासको आधार मानिएको छ। पार्टीको विचार अनुसार शक्ति सिंहदरबारमा सीमित हुनु हुँदैन।

वास्तविक शक्ति स्थानीय तह र नागरिकको हातमा पुग्नुपर्छ भन्ने धारणा अगाडि सारिएको पन्तले बताए। यसले स्वास्थ्य, शिक्षा र न्याय सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास पार्टीको छ।

आर्थिक समावेशी र न्यायपूर्ण नीतिमार्फत गरिबी, असमानता र भेदभावविरुद्ध सङ्घर्ष गर्ने लक्ष्य राखिएको पार्टीले जनाएको छ। उद्यम, रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा समान अवसर सुनिश्चित गर्ने भनिएको छ।

पार्टीले समावेशी लोकतन्त्रमा विश्वास गर्ने व्यक्तिहरूलाई खुला रूपमा उम्मेदवार बन्न आग्रह गरेको छ। राज्य शक्ति केही सीमित वर्गमा मात्र केन्द्रित नहोस् भन्ने चाहना राख्नेहरूलाई आह्वान गरिएको छ।

वातावरण, समुदाय र आर्थिक न्यायलाई अगाडि बढाउन चाहनेहरूलाई अवसर दिने पार्टीले जनाएको छ। राजनीतिमार्फत सामाजिक परिवर्तनमा योगदान दिन चाहनेहरूलाई समानुपातिक उम्मेदवार बन्न आग्रह गरिएको छ।

पार्टीले यो केवल उम्मेदवारी मात्र नभई सबैका लागि खुला, सहभागी र दिगो राजनीति निर्माण गर्ने आन्दोलन भएको उल्लेख गरेको छ।

समावेशितालाई नारा होइन, व्यवहारिक बनाउने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ। राजनीतिलाई सबैका लागि खोल्न पार्टीले पुनः आह्वान गरेको हो।

समाचार शेयर गर्नुहोस्
235
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.