"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बेदना सुनाउँदै प्रधानमन्त्री, शक्ति केन्द्र बन्दै बालेन

बेदना सुनाउँदै प्रधानमन्त्री, शक्ति केन्द्र बन्दै बालेन

352
SHARES

काठमाडौँ – गत सोमबार ७ पुसमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफलमा नेकपा एमालेका सचिव महेश बस्नेतले संवाद, सहकार्यबाट हामी भाग्दैनौँ, तर पुराना दललाई गाली गरेर, निषेध गरेर ‘आए आउनुहोस्, नआए नआउनुहोस्’ भन्ने देखाजायगाको राजनीति स्वीकार्य नहुने बताए। “हामी नआए पनि सुनिलजीको पार्टी आउँदैन, यति कुरा तपाईँले टिपेर राख्नुहोस्,” बस्नेतले भने, “कटाक्ष गर्ने मनसाय थिएन। हामी आउला नआउला, आउनुपर्ने पार्टी नै आउँछ।”

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनको वातावरण बनाएर पदच्युत नहुन शुभकामना पनि दिए। यसअघि पहिलो संविधान सभा सदस्य तथा नेपालमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको समावेशी समाजवादी पार्टी का संरक्षक एवं सल्लाहकार सुनिल बाबु पन्तले प्रधानमन्त्री कार्कीलाई कांग्रेस–एमालेको दोहोरो चरित्रले देश बन्दी बन्न नहुने सुझाव दिएका थिए।

पन्तले “चुनावमा आउने आउँछन्, नआउने आउँदैनन्, सरकारले चुनाव गराउनुपर्छ” भन्ने धारणा राखेका थिए। पन्तको उक्त सुझावलाई एमाले सचिव बस्नेतले कटाक्षको रूपमा प्रतिक्रिया दिएका थिए।

एमालेको धारणा राखेर बाहिरिएका बस्नेतले सुनिल बाबु पन्तलाई आफूले नजिकबाट चिनेको बताउँदै भने, “उहाँको तेस्रोलिंगी पार्टी त हो नि। संविधान सभाको सदस्य हुँदा नै म चिन्छु।” प्रधानमन्त्री कार्यालयको सिँढी झर्दै गर्दा पहिचानसँग उनले भनेका थिए, “हामी आएनौँ भने उहाँहरूको पार्टी मात्रै कसरी आउँछ, आउँदैन भनेको हुँ।”

बस्नेतले संसद् पुनर्स्थापना हुनेतर्फ राजनीतिक कोर्स अघि बढेको पनि बताएका थिए। पार्टी अध्यक्षमा निर्वाचित केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनमा कुरा गरेको उल्लेख गर्दै बस्नेतले भने, “एक–दुई दिनमै भेट हुने कुरा छ। राजनीतिक कोर्स चुनावतिर भन्दा पुनर्स्थापनातिर जान्छ।”

सोमबार गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिपछि सम्पन्न सर्वपक्षीय छलफलमा ८ जना नागरिक समाजका अगुवा, १४ जना विभिन्न दलका नेता र २ जना जेनजी प्रतिनिधिले आफ्ना धारणा राखेका थिए। जेनजी प्रतिनिधिहरूले आन्दोलनमार्फत व्यक्त भएको सुशासन, निर्वाचन सुनिश्चितता, कानुनी प्रक्रिया र राजनीतिक जिम्मेवारीको म्यान्डेट स्मरण गराउँदै कुनै पनि पक्षले अनिश्चितता फैलाउन नहुने बताएका थिए।

छलफलको समापन मन्तव्य दिँदै प्रधानमन्त्री कार्कीले भनेकी थिइन, “सबैको धारणा हेर्दा निर्वाचन हुनुपर्छ भन्ने नै आएको छ। एक–दुई दलबाट अदालतमा मुद्दा परेको छ, त्यसबारेमा के हुन्छ भन्ने प्रश्न उठेको देखिन्छ। तर निर्वाचन हुनुहुँदैन भन्ने कसैको पनि भावना वा त्यस्तो विचार छैन। सबैलाई धन्यवाद दिन चाहन्छु, सबै निर्वाचनतर्फ सक्रिय रहेको नै पाइयो।”

त्यसको भोलिपल्ट राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक राखे। केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगे। प्रधानमन्त्री कार्कीसँग प्रत्यक्ष कुराकानी भयो र राष्ट्रपति पौडेल साक्षी बसे।

अबको विस्तृत छलफल बालुवाटारमा हुने भनिए पनि नेताहरू बालुवाटार पुगेका छैनन्। ओली, देउवा र प्रचण्डले प्रधानमन्त्रीसँग भएको कुराकानी के भयो भन्ने विषयमा सार्वजनिक रूपमा बताएका छैनन्। सरकार र दलका शीर्ष नेताबीचको संवादहीनता तोडिएको प्रचार भए पनि प्रधानमन्त्री कार्कीको सचिवालयले छलफलमा भएका कुराहरू बाहिर ल्याएको छैन।

राष्ट्रपति पौडेलको सचिवालयले भने दलका शीर्ष नेताहरूसँग निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने समझदारी भएको र विस्तृत छलफल बालुवाटारमा गर्ने सहमति भएको जनाएको थियो। सोमबारको सर्वपक्षीय छलफललगत्तै मङ्गलवार भएको बैठकको कुराकानी न प्रधानमन्त्री कार्कीबाट न दलका शीर्ष नेताहरूबाट सार्वजनिक भएको छ।

शीर्ष नेताहरूसँगको छलफलको दुई दिनपछि बिहीबार प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा आफ्नो मनको वेदना पोखेकी छन्। शीर्ष नेताहरूसँगको छलफल सकारात्मक बन्न नसकेको सङ्केत दिँदै देशको कठिन अवस्थामा नेतृत्व लिन पुगेकी नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा आफूले काम गर्न नपाएको पीडा उनले सुनाइन्।

जेनजी आन्दोलनको मुख्य म्यान्डेट भ्रष्टाचारविरुद्ध कठोर कारबाही, सुशासन, पारदर्शिता, संवैधानिक प्रक्रियाको सम्मान र जनउत्तरदायी राजनीतिक प्रणाली रहेको सन्दर्भमा उनले परिस्थितिको जटिलता उल्लेख गरिन्।

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने मुख्य माग जेनजीको थियो। तर क्रमशः संसद् विघटन र चुनावको मिति घोषणा भयो। ८४ को चुनाव ८२ मा सार्नका लागि मात्र जेनजी आन्दोलन भएको जस्तो क्रमिक रूपमा पुष्टि हुँदै गएको छ।

चुनाव सार्ने माग जेनजी आन्दोलनको होइन। यति माग त केपी शर्मा ओलीले पनि पूरा गर्थे भन्ने बुझाइ जेनजीका समूहहरूको छ। नेपाली कांग्रेस र नेकपा एमाले दुवै निरन्तर संसद् विघटनलाई असंवैधानिक भन्दै आएका छन् र रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।

राजनीतिक दल र जेनजीका पनि २५–३० वटा समूहका फरक–फरक माग थेग्न नसक्ने अवस्थामा प्रधानमन्त्री कार्की घेरिएकी छन्। करिब एक महिनासम्म राजनीतिक दलका नेताहरू मुखमा पानी हालेर बसे। जब स्थिति सामान्यीकरण हुँदै गयो, तब नेताहरू नै असंवैधानिक कदम सच्याउन भन्दै रिट लिएर सर्वोच्च अदालत पुगे।

‘चुनावबाट भाग्यो’ भन्ने आरोप नलागोस् भनेर निर्वाचन आयोगमा दल दर्ता पनि गरेका छन् कांग्रेस र एमालेले। दुवै दलका नेतृत्वले चुनाव गराउने गरी संसद् पुनर्स्थापनाको दलिल पेश गरेका छन्।

सबैतिरबाट घेरिएपछि प्रधानमन्त्री कार्की रुनु कि हाँस्नुको अवस्थामा पुगेकी छन्। सरकारले काम गर्न नपाउने, सरकारलाई पेण्डुलम बनाइने अवस्था सिर्जना गरिएको गुनासो उनले व्यक्त गरिन्। दल र जेनजीका समूह नै समूहले काम गर्न नदिएपछि प्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमा आफ्नो बेदना पोखिन्।

रुन्चे हाँसोका साथ प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दल र जेनजीका फरक–फरक समूहहरूले दिनदिनै ‘सरकार छोड’ भन्दै गालीगलौज गर्ने गरेको गुनासो गरिन्।

बाह्रखरी कथा प्रतियोगिता कार्यक्रममा सहभागी हुँदै उनले कतै जाँदा पनि सुख नदिने अवस्था आएको बताइन्। उनले आफ्नै बारेमा पनि कथा लेख्न सुझाव दिइन्।

जेनजीका २५–३० वटा समूहको निरन्तर दबाबले आफूहरू गह्रौँ दबाबमा परेको उनले बताइन्। प्रधानमन्त्री कार्कीले मुलुक बङ्गलादेश नबनोस् भन्ने कामना पनि गरिन्।

वर्तमान प्रधानमन्त्री कार्की बसौँ कि उठौँ भन्ने अवस्थामा पुग्दा भावी प्रधानमन्त्रीका रूपमा चर्चा पाएका काठमाडौँ महानगरका मेयर बालेन शाहको राजनीतिक सक्रियता भने बढ्न थालेको देखिएको छ। जेनजी आन्दोलनका क्रममा वैकल्पिक शक्ति केन्द्रका रूपमा उदाएका बालेनले आफूलाई शक्तिकेन्द्रका रूपमा स्थापित गराउने पहल थालेका हुन्।

बालेनले दलका नेतादेखि जेनजी अगुवासम्मलाई दर्शनभेट दिए जसरी पालैपालो छलफल जारी राखेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा कार्कीको नाम सिफारिस गरेर नियुक्त गर्न बाध्य बनाउने भूमिकामा देखिएका बालेनले तीन महिनापछि आफूलाई शक्ति केन्द्रको रूपमा चिनाउन सुरु गरेका छन्।

वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ निर्णायक छलफलमा जुटेको सङ्केत बालेनले दिएका छन्। जेनजी आन्दोलनका क्रममा राजनीतिको शक्ति केन्द्र बनेका बालेन पछिल्लो सोमबारदेखि औपचारिक राजनीतिक छलफलमा जुटेका हुन्।

अन्तरिम सरकार गठनको सय दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट रिहा हुनु नयाँ राजनीतिक कोर्स अघि बढेको रूपमा हेरिएको छ। धरौटीमा छुटे लगत्तै रविले गत सोमबार बालेनसँग करिब ६ घण्टा लामो वार्ता गरेका थिए।

त्यसलगत्तै भावी प्रधानमन्त्रीमा बालेनको नाम चर्चामा ल्याइएको छ। दुई दिनपछि बिहीबार पुनः बालेन र रविबीच वान–टु–वान वार्ता भएको छ। ललितपुर कुपण्डोलस्थित कुमार बेनको निवासमा भएको भेटपछि रविले ‘प्रतीक्षा गर्नुस्’ भन्ने प्रतिक्रिया दिए। चुनाव चिन्ह घण्टी वा लौरोमा सहमति भयो भन्ने पत्रकारको प्रश्नमा रविले “मेरो अनुहारले के बताउँछ?” भन्ने प्रतिक्रिया मात्र दिए।

बिहीबार बिहानै ऊर्जा मन्त्री कुलमान घिसिङसँग भेट गरेका बालेनले त्यसपछि कांग्रेस नेता सुनिल शर्मा, स्वतन्त्र पूर्वसांसद अमरेश सिंह, डा. बाबुराम भट्टराई, राप्रपाका नेता ज्ञानेन्द्र बहादुर शाही, दलित अभियन्ता खगेन्द्र सुनारसहित विभिन्न समूहका जेनजी प्रतिनिधिसँग पालैपालो भेट गरे। बालेनसँगको भेट सकारात्मक भएको र छलफल निरन्तर भइरहने प्रतिक्रिया अमरेश सिंहले दिए।

बालेनसँगको भेटपछि डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरू एक हुनुपर्ने पक्षमा आफू निरन्तर लागिरहेको व्यक्ति भएकाले त्यही विषयमा बालेनले भेट्न बोलाएकाले भेट भएको प्रतिक्रिया दिए। बालेनको चाहना पनि त्यही व्यक्त भएको उनले सुनाए।

संसद् विघटनपछि फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा बालेन–रवि मिलेमा पुराना दललाई विस्थापन गर्न सक्ने आकलन हुन थालेको छ। त्यसमा ऊर्जा मन्त्री कुलमान घिसिङ पनि जोडिन सक्ने चर्चा चलेको छ।

ऊर्जा मन्त्री कुलमान घिसिङले पनि नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्। त्रिपुरेश्वरस्थित आफ्नो पार्टी कार्यालय उद्घाटन गर्दै घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँ शक्तिहरूको उदयको प्रस्थान बिन्दु बनाउनुपर्ने बताए। काठमाडौँका मेयर बालेन शाहसँगको भेटपछि उनले नयाँ शक्तिहरू एक भएर अघि बढ्नु आजको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन्।

जेनजीका अगुवाहरूले पनि बालेनसंगको छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

काठमाडौँ महानगरका मेयर बालेन साहले वैकल्पिक शक्ति निर्माणको होमवर्क तीव्र पार्दा पुराना दलका नेताहरूको भने कन्सिरी तातेको देखिएको छ। जेनजी आन्दोलनको मूल भावना विपरीत पुनः नेकपा एमालेको अध्यक्षमा ह्याट्रिक गरेका केपी शर्मा ओलीले बालेन लक्षित अराजनीतिक टिप्पणी गरेका छन्।

पार्टीको ११औँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ, त्यस्ता मान्छेहरू नसामा भेटिने गरेको टिप्पणी गरे।

जेनजी आन्दोलनले उठाएको जबाफदेही नेतृत्व, शालीन राजनीतिक भाषा र विकल्प निर्माण को म्यान्डेट विपरीत ओलीको अभिव्यक्तिलाई लिइएको छ।

एमाले महाधिवेशनमा स्वयंसेवकहरूमा खैनीको समेत गन्ध नआएको उदाहरण दिँदै ओलीले देशमा चर्चित भनिएका मान्छेहरू नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको आरोप लगाए।

ओलीले युवाहरूले ठिक ढङ्गले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढङ्गले आफूलाई प्रस्तुत गर्न नसक्नु मुलुककै लागि समस्या भएको बताए। मङ्गलवार राष्ट्रपति निवासमा भएको भेटबारे चर्चा गर्दै उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको दाबी गरे। जेनजी आन्दोलनको नाममा टाठाबाठाले फाइदा लिने गरेको ओलीको भनाइ छ।

अर्को छुट्टै कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ओलीको भनाइमा लोली मिलाउँदै फागुन २१ गते निर्वाचन गर्न कठिन रहेको बताएका छन्। फागुन २१ गते निर्वाचन गर्नैपर्ने बाध्यता भए पनि व्यवहारिक रूपमा कठिन भएको उनको भनाइ छ।

मौसमका कारण पनि तोकिएको समयमा निर्वाचन गर्न असहज हुने उल्लेख गर्दै थपलियाले नेपालको हिमाली क्षेत्रमा फागुन २१ गते हिउँ पर्ने, घाम नलाग्ने र चिसोका कारण निर्वाचन सञ्चालन गर्न नसकिने अवस्था हुने बताए।

उनले दुई चरणमा निर्वाचन गर्न सुझाव दिए। फागुन २१ गते निर्वाचन गर्न असहज हुने जिल्लाहरूमा दोस्रो चरणमा निर्वाचन गर्ने गरी तयारी थाल्न निर्वाचन आयोग र सरकारलाई सुझाव दिए।

संसदीय व्यवस्थामा निर्वाचनका लागि राजनीतिक दलहरू पनि तयार हुनुपर्ने उल्लेख गर्दै उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको भए पनि निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारको हुने स्पष्ट पारे।

केपी ओलीको भिडियो :

समाचार शेयर गर्नुहोस्
352
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.