निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेसमा कारबाही फुकुवा, घर फर्कन आव्हान

कांग्रेसमा कारबाही फुकुवा, घर फर्कन आव्हान

209
SHARES
तस्बिर : नेपाली कांग्रेस नमोबुद्ध नगरपालिका वडा नं २ को अधिबेशन

काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन तालिकाअनुसार देशभर वडावडामा अधिवेशन चलिरहेका छन्। नयाँ नेतृत्व चयनदेखि क्षेत्रीय प्रतिनिधि छनोटसम्मका प्रक्रियामा वडास्तर सक्रिय देखिएको छ।

केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने तयारी पार्टी केन्द्रले गरे पनि वडास्तरका अधिवेशनहरू भने हालसम्म नियमित तालिकाअनुसार नै सञ्चालन भइरहेका छन्।

पार्टी केन्द्र भने महाधिवेशनको सम्पूर्ण कार्यतालिका व्यवहारिक बनाउने तयारीमा जुटेको छ। आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकिएको समयमै नियमित महाधिवेशन सुनिश्चित गर्ने उद्देश्यले कार्यतालिका संशोधन गर्ने तयारी गरेको हो।

बैठकमा सहभागी सदस्यहरूले वडादेखि केन्द्रसम्मका सबै तहका अधिवेशनहरू आपसमा नजुध्ने, प्रतिनिधि छनोट प्रक्रिया समयमै सम्पन्न हुने तथा केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी व्यवहारिक कार्यतालिका निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिकाअनुसार काम अघि बढ्न नसकेकाले समयमै महाधिवेशन सुनिश्चित हुने गरी नयाँ कार्यतालिका तयार गर्न लागिएको बताए। उनका अनुसार वडास्तरका अधिवेशन, क्षेत्रीय प्रतिनिधि छनोट, प्रदेश र सङ्घीय तहसम्मका प्रक्रिया सहज रूपमा सम्पन्न हुने गरी तालिका परिमार्जनको तयारी गरिएको हो।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनसँगै अन्य महत्त्वपूर्ण राजनीतिक तथा सङ्गठनात्मक निर्णयहरू पनि गरेको छ। बैठकले समानुपातिक तर्फका ११० उम्मेदवार चयनका लागि मापदण्ड तयार गरी नाम छनोट प्रक्रिया प्रारम्भ गरेको छ।

यसैगरी, कांग्रेसले पार्टी कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी–मिनाहा गर्ने निर्णय पनि गरेको छ। विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक, वा असहयोग गरी अनुशासन विपरीतका कार्यमा संलग्न भएका कारण केन्द्रीय अनुशासन समितिबाट निष्कासन, निलम्बन तथा विधानअनुसार स्वतः कारबाहीमा परेका व्यक्तिहरूको बाँकी अवधि माफी–मिनाहा गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

कारबाही माफी–मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता दिँदै क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, कांग्रेसले पार्टी परित्याग गरेकाहरूलाई ‘घर फर्कन’ आह्वान गरेको छ।

विगतमा विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कन केन्द्रीय कार्यसम्पादन समितिको बैठकले औपचारिक रूपमा आह्वान गरेको हो।

फर्किने सदस्यहरूलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। त्यस्तै, विभिन्न पेसा, व्यवसाय तथा विविध क्षेत्रमा रहेर राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरूलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको बैठकले आह्वान गरेको छ।

आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक तथा व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय गरिएको पार्टीले जनाएको छ।

बैठकपछि जारी विज्ञप्ति :

समाचार शेयर गर्नुहोस्
209
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.