काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह बीच फागुन २१ को चुनावमा मिलेर जाने सहमति भएको छ। आइतबार ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनीहरूले रास्वपाकै नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्ने निर्णय गरेका हुन्।
सम्झौताअनुसार रास्वपाको केन्द्रीय नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आगामी निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि बढाइनेछ।
बालेन शाह पार्टी राजनीतिमा सक्रिय हुने र आवश्यक परे मेयर पदबाट राजीनामा दिने सङ्केत गरिएको छ। सम्झौतामा भ्रष्टाचार र कुशासनविरुद्धको जनआन्दोलनको अपनत्व, नीतिगत तथा संरचनागत सुधार, र नेपाललाई १० वर्षभित्र मध्यम आय भएको मुलुक बनाउने लक्ष्य उल्लेख छ।
समानुपातिक उम्मेदवारहरू रास्वपा मार्फतै प्रतिस्पर्धा गर्ने र निर्वाचन आयोगमा पार्टीका कागजात छिट्टै अद्यावधिक गर्ने भनिएका छ। अन्य वैकल्पिक शक्तिहरूसँगको एकता र उम्मेदवार व्यवस्थापनबारे विस्तृत व्यवस्था सम्झौतामा उल्लेख गरिएको छैन।
वैकल्पिक शक्ति निर्माण गरी आगामी निर्वाचनमा जाने सम्बन्धमा कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीसँगसमेत पटकपटक वार्ता भए पनि सहमति भने हुन सकेन।
शक्ति बाँडफाँटमा कुरा नमिलेपछि उज्यालो नेपालसँग एकता हुन सकेन। बालेन र रविसँग सहमति नहुने देखेपछि कुलमान संरक्षित उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनपछि दर्ता भएका नयाँ राजनीतिक दलहरूसँग मोर्चा बन्दी गर्ने गरी छलफल अगाडि बढाएको छ।
सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गर्दै २०८२ साल भदौ २३ र २४ को जेनजी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका सहिद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै समान अठोट बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र बालेन्द्र शाह (दोस्रो पक्ष) बीच ७ बुँदे सहमति भएको हो।
सहमतिका बुँदा
१. नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७.राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.