निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रवि–बालेन मिलनले राजनीतिक वृत्त तरङ्गित

रवि–बालेन मिलनले राजनीतिक वृत्त तरङ्गित

कुलमान जनार्दनतिर, हर्क कसैसँग नमिल्ने

240
SHARES

काठमाडौं – जेनजी आन्दोलनको भावना विपरीत पुराना राजनीतिक दलहरूमा पुरानै नेताहरूको रजगज जारी रहँदा त्यसविरुद्ध नयाँ वैकल्पिक शक्तिको उदय भएको छ।

जेनजी आन्दोलनका सूत्रपात मानिएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेको हो। सहकारी ठगी मुद्दामा धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मध्यराति ७ बुँदे सहमति गर्दै बालेनले राजनीतिक वृत्तमा ठुलो तरङ्ग फैलाएका छन्।

रवि–बालेनको मिलनसँगै फागुन २१ गते हुने चुनावमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। लामो समयदेखि चिसिएको राजनीतिलाई उनीहरूबीचको सहमतिले अचानक गरमागरम बनाइदिएको छ।

सहमतिप्रति कांग्रेस र एमालेका नेताहरूले आक्रोश मिश्रित टिप्पणी गर्न थालेका छन्। आइतबार बिहान झिसमिसेमा बालेन र रास्वपाका सभापति लामिछानेबीच ७ बुँदे सहमति भएको हो। रातभर निरन्तर भएको वार्तापछि फागुन २१ को चुनावपश्चात् बालेनलाई प्रधानमन्त्री बनाउने र रास्वपाको सभापतिमा रवि कायम रहने सहमति भएको छ।

रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवारको रूपमा अघि सार्दै पहिलो शक्ति बन्ने रणनीति लिएको छ। रवि हिरासत पुगेपछि खस्किएको रास्वपाको साख फर्काउन बालेनलाई अगाडि बढाइएको चर्चा पनि राजनीतिक वृत्तमा चलिरहेको छ।

२०७९ सालको निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८ र साबिकको माओवादीले ३२ सिट जित्दा रास्वपाले २२ सिट ल्याएर चौथो शक्ति बनेको थियो।

यसअघि कांग्रेस–एमाले मिलेर सरकार बनाउँदा रास्वपाका नेताहरूले दिएको जस्तै आलोचनात्मक अभिव्यक्ति यतिबेला रवि–बालेन मिल्दा कांग्रेस र एमालेका नेताहरूबाट नै आउन थालेका छन्। केही नेताहरूले नेपाल युक्रेन बन्ने खतरा औँल्याउन थालेका छन्।

कांग्रेस नेता किशोरसिंह राठौरले युक्रेनमा हास्यकलाकार भोलोदीमिर जेलेन्स्की राष्ट्रपति बनेपछि त्यहाँ द्वन्द्व चुलिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

एमाले महासचिव शङ्कर पोखरेलले पनि राठौरकै शैलीमा जेनजी आन्दोलन युक्रेनजस्तै अस्थिरता निम्त्याउने षड्यन्त्रको पहिलो चरण भएको र अहिले त्यसैको दोस्रो चरणको तयारी भइरहेको सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्। त्यतिमात्र होइन, पोखरेलले भदौ २३ र २४ गते भएका विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने तथ्य क्रमशः सार्वजनिक हुँदै गएको दाबी गरे।

एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले जेनजी आन्दोलन हाइज्याक हुनसक्ने भन्दै जेनजी अगुवाहरूलाई सजक रहन आग्रह गरेका छन्। कांग्रेस र एमालेका नेताहरूकै जस्तै धरानका मेयर हर्क साम्पाङले पनि एका बिहानै बालेन–रवि सहमति विदेशको डिजाइनमा भएको बताएका छन्। चितवनकी मेयर रेणु दाहालदेखि बालेनसम्म संसदीय राजनीतिमा होमिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू कसैसँग मिलेर अघि नबढ्ने स्पष्ट पारे।

बालेनले प्रधानमन्त्री आलोपालो अस्वीकार गरेपछि रास्वपासँगको एकतामा सामेल नभएका उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङले आत्मसम्मान र स्वाभिमान नमेटाई मात्र एकता सम्भव हुने बताए।

पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सहकार्य गर्दा सबैको सम्मानजनक भूमिका र उपस्थिति हुनुपर्ने धारणा राखेका हुन्। वैकल्पिक शक्तिसँग सहकार्यको विषयमा छलफल जारी रहेको उनको भनाइ छ।

रास्वपासँग सहकार्यको प्रयासमा रवि नख्खु कारागारमा रहँदा कुलमानसँग लामो छलफल भए पनि सहमति हुन सकेको थिएन। रास्वपा–बालेनसँग एकतामा कुरा नमिलेपछि घिसिङले बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग चुनावी सहकार्य गर्ने सहमतिमा पुगेका छन्। जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा कुलमान नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत बनेका थिए।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस नै सबैभन्दा ठुलो र बलियो पार्टी भएकाले जो–जो मिले पनि फरक नपर्ने जिकिर गरेका छन्। बालेन–रविसँग कुनै वैचारिक तथा सैद्धान्तिक धार नदेखिएको र दुवै नेतामाथि प्रश्न रहेको उनको भनाइ छ।

नेकपा एमालेका नेता मानवीर राईले २०६४ सालमा नेकपा माओवादीले प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको स्मरण गर्दै बालेन पनि घोषणा गर्दैमा प्रधानमन्त्री बन्ने पक्का नभएको तर्क गरेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन निर्वाचित हुँदा जनतामा ठुलो आशा र अपेक्षा रहे पनि गरिबलाई रुवाउनेबाहेक जनअपेक्षा पूरा गर्न नसकेको आरोप उनले लगाए।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले सङ्घीयता र धर्मनिरपेक्षताजस्ता आधारभूत विषयहरू सहमतिमा नसमेटिएको भन्दै आशङ्का व्यक्त गरे।

श्रीमान् रेशम चौधरी बालेन–रविसँग निरन्तर छलफलमा जुटिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग भेटघाट गरेकी छन्।

पेरिसडाँडामा आयोजित भेटमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग रञ्जिताले आगामी चुनावका लागि तालमेलको प्रस्ताव राखेकी छन्।

रवि–बालेन सहमतिलाई जेनजीहरूले भने सकारात्मक रूपमा लिएको बताएका छन्। जेनजी अगुवा पुरुषोत्तम यादवले यसलाई स्वागतयोग्य कदम भनेका छन्।

अर्का जेनजी घाइते प्रकाश बोहराले रवि–बालेन मिल्नु स्वागतयोग्य भए पनि पदीय बाँडफाँडमा पुरानै नेताको झल्को आएको टिप्पणी गरे।

जेनजी फ्रन्टकी सदस्य रक्षा बमले यसबारे आधिकारिक धारणा बनाइनसकेको बताइन।

रवि–बालेनबीच भएको समझदारीमा मुलुकलाई दीर्घकालीन निकास दिने ठोस एजेन्डा नदेखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागले आयोजना गरेको कार्यक्रममा विश्लेषक इन्द्र अधिकारीले उक्त सहमतिलाई जनताको रिस र निराशालाई प्रयोग गरेर छोटो समय लोकप्रिय बन्ने पुरानै शैलीको राजनीति भनेकी छन्।

समाचार शेयर गर्नुहोस्
240
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.