निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

साइबर युद्धको मारमा तेस्रोलिंगी, ‘गरिखान देऊ’को गुहार

साइबर युद्धको मारमा तेस्रोलिंगी, ‘गरिखान देऊ’को गुहार

279
SHARES

काठमाडौँ- उमेरले भरखर २३ वर्ष, व्यक्तिगत इच्छा–चाहना जेनजी पुस्ताकै छ। त्रिभुवन विश्वविद्यालयबाट भरखरै मात्र दीक्षित भएका बाबु दुमि राईलाई केही गर्ने हुटहुटी जागेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुदान सहयोग कटौती गरिदिएपछि उनी एक वर्षदेखि नै बेरोजगार छन्। सडकमा उभिनुपर्ने सोचसम्म झन्डै बाध्य हुनुपरेको थियो, तर समयमै आत्मसम्मानले रोकेर उनलाई उद्यमशीलताको बाटोमा डोर्‍यायो।

उनी सानोतिनो काम गरिरहेका त थिए, तर त्यसैमा सीमित नहुन चाहन्थे। जीविकोपार्जनको चाप र भविष्यप्रतिको अन्योलबीच पनि उनले आफ्ना सोच र मान्यतामा सम्झौता गरेनन्। थप केही हासिल गर्ने चाहनामा रहेका उनलाई सुनिल बाबुले आइडिया र भिजन देखाइदिए, जसले उनलाई अझै अगाडि बढ्न थप उत्साहित बनायो।

उनी सानोतिनो जमघट आयोजना गरिरहन्थे। कसैको कुभलो सोच्ने तिर उनको ध्यान कहिल्यै गएन। नजाओस् पनि, सबैले गरिखान पाउनुपर्छ, उनी भन्छन्। यस्तै सोचमा भौँतारिरहेका थिए बाबु दुमि।

नयाँ-नयाँ आइडियामा मन डुलाइरहेका बेला समुदायभित्रबाटै पीडामाथि पीडा थप्ने, समुदायलाई नै शोषण गर्दै आएको समूहको गतिविधि सतहमा आउन थाल्यो। युएसएआइडीको अनुदान कटौती भएपछि सेवा रोकियो।

एचआइभी परीक्षणबाट सेवाग्राही वञ्चित भए। अनुदान रोकिनेवित्तिकै सेवा प्रभावित बन्न नहुनेमा लागे सुनिल बाबु पन्त। पन्तले नेपालमा समलिङ्गी, तेस्रोलिंगी र अन्तरलिंगी व्यक्तिहरूलाई खुलेर आउन सहज बनाइदिए।

२०६४ साल पुस ६ गते सर्वोच्च अदालतले पुरुष र महिलाभन्दा भिन्न पहिचानका तेस्रोलिंगी व्यक्ति छन् मात्र भनेन, नागरिकता दिन र वैवाहिक कानुनका लागि अध्ययन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दियो। जुन आदेश विश्वकै इतिहास बन्यो।

सर्वोच्चले दिएको आदेशअनुसार नेपालको संविधान २०७२ मा लैङ्गिक पहिचान अनुसार नागरिकता दिने व्यवस्था गरिएको छ। संविधानको धारा १८ मा कानुनबमोजिम छुट्टै व्यवस्था गर्न सकिने उल्लेख छ। समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन। पैतृक सम्पत्तिमा लैङ्गिक भेदभावबिनै सबै सन्तानको समान हक हुनेछ भन्ने कुरा पनि संविधानको धारा १८ मा स्पष्ट लेखिएको छ।

संविधानअनुसार भेदभाव कम भएको छ, तर रोजगारी पाउन कठिन छ, मुस्किल छ। फरक पहिचानकै कारण काम नदिने, दिए पनि पारिश्रमिकमा भेदभाव हुने अवस्थाका कारण बाबु दुमिले काम पाएनन्।

संविधान कार्यान्वयनका लागि सरकारलाई खबरदारी गर्ने नेतृत्व भएन। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ताका लागि समेत सुनिल बाबु पन्तले नेतृत्व गर्नुपर्‍यो। लमजुङको दोर्दी गाउँपालिका दक्षिण एसियामै पहिलो पटक समलिङ्गी र तेस्रोलिंगीको विवाह दर्ता गर्ने पहिलो पालिका बन्यो। माया गुरुङ र सुरेन्द्र पाण्डेको वैवाहिक जीवन कानुनी रूपमा दर्ता भयो।

नेपालमा विवाह पुरुष र महिलाबीच मात्र हुने परम्परा तोडाउने नेतृत्व पन्तले नै लिए। २०८१ वैशाख १२ गते राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न परिपत्र नै जारी गर्‍यो।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले पहिचान र वैवाहिक अधिकार पाए। संविधानका व्यवस्थाहरू कार्यान्वयन गराउन पन्त भिक्षु अवतार त्यागेर फर्केदेखि निरन्तर लागिरहेका छन्। पर्यटन प्रवर्द्धन गर्न पन्तकै नेतृत्वमा पहिलो पटक रेन्बो टुरिजम कन्फ्रेन्स आयोजना भयो।

रेन्बो टुरिजममा लागेका ख्यातिप्राप्त अन्तर्राष्ट्रिय व्यक्तिहरूसँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको सम्बन्ध गराइयो। पर्यटन व्यवसायबाट हुने सम्भावित आम्दानीको प्रस्तुति समेत कन्फ्रेन्समा गरियो।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारप्राप्तिको अभियान दोस्रो चरणमा प्रवेश गर्दा केही पुरातनवादी मानसिकताले ग्रस्त समूहलाई यो मन परेन। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पन्त कन्फ्रेन्स आयोजना गर्न सफल भएको विषय मन नपराउनेहरूले पन्तलाई व्यक्तिगत रूपमै आक्रमण गरे।

एण्टी जेण्डर मुभमेन्ट नै चलाइयो। सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमसम्म पन्तमाथि प्रहार गरिरहे। यो काम अरू कोही नभई समलिङ्गी र तेस्रोलिंगी पहिचानको अभियानमा साथ लिएर हिँडेकाहरूकै तर्फबाट भइरह्यो।

उनीहरू बालक जन्मेकाले महिला र बालिका जन्मेकाले पुरुष पहिचान पाउनुपर्ने अभियान चलाइरहेका थिए। पहिचान त महिला वा पुरुष मात्रै हो, हामी फरक भए पनि महिला वा पुरुषकै पहिचान पाउनुपर्छ भन्दै उनीहरूले लबिङ गरे। पन्तलाई एकोहोरो ‘एण्टी जेण्डर’को आरोप लगाइरहे, जुन आरोप लगाउन अहिले पनि उनीहरूले छोडेका छैनन्।

दातृ निकायको अनुदानमा तलब र भत्ता बुझेर ‘एण्टी जेण्डर’को आरोप लगाउनेहरूको चर्तिकला बाबु दुमिले बुझ्न सकेनन्। आरोपको यथार्थ बुझ्न उनले सुनिल बाबु पन्तसँग भेटे। कुराकानी गरे। केही गर्ने आफ्नो तीव्र चाहना व्यक्त गरे।

समलिङ्गी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी व्यक्तिको पहिचान गराउने ऐतिहासिक आन्दोलनका नेतृत्वकर्ता पन्तसँग बाबु दुमिले लैङ्गिकताबारे थप स्पष्टता पाए। ऐतिहासिक अभियान विपरीत पुनः ‘महिला र पुरुष मात्रै दुई लैङ्गिक पहिचान’को वकालत गर्नेहरूलाई राईले अन्य लिङ्गमा नागरिकता लिएर झापड हानिसकेका थिए।

पीडित समुदायका अनुसार समुदायको नाममा समुदायलाई नै शोषण गर्न पल्केकाहरूले उद्यमशीलतामा लागेकाहरूको खेदो खन्न छोडेनन्। अन्य पहिचानमा लिएको नागरिकता परिवर्तन गराउने नेतृत्वसमेत उनीहरूले लिए।

अदालतमा व्यक्ति–व्यक्तिका मुद्दा पुगेका छन्। जुन पहिचान पाउनका लागि पन्तले सर्वोच्च अदालतबाट सरकारका नाममा निर्देशनात्मक आदेश पाएका थिए, त्यसकै विपरीत चलेको अभियान अदालतसम्म पुर्‍याइएको छ। यसले समलिङ्गी, तेस्रोलिंगी र अन्तरलिंगी समुदायको ऐतिहासिक पहिचानमाथि प्रत्यक्ष प्रहार भएको समुदायका सदस्यहरूको बुझाइ छ।

पत्रकारलाई कारबाही गर्ने ब्लु डायमन्डको धम्की, युएसएआइडीको ८ करोड गायबको हिसाब माग्दा मिडियामाथि आक्रमण

शून्य आइडियामा अभियान चलाउँदै आएकाहरूले पाइरहेको पहिचान मेटाउन थाले। पुरुष र महिलाभन्दा भिन्न अनुभूति गर्नेलाई अन्य लैङ्गिक पहिचानमा नभई स्वअनुभूतिको आधारमा पुरुष र महिलाकै नागरिकता लिन पाउने आदेश लिएका व्यक्ति यतिबेला अभियन्ता कहलिएका छन्।

घुमाइ–फिराइ अमेरिकी राष्ट्रपति ट्रम्पको दुईलिंगीवादको नीति मात्र लागू गराउन नेपालको न्यायिक क्षेत्रमा नै प्रभाव पार्ने कोसिस जारी राखिएपछि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत निर्णय दोहोर्‍याइ पाउन ‘दोपा’ निवेदन दिन बाध्य भएको बताएको छ। यो विषय अझै कानुनी र राजनीतिक विवादको केन्द्रमा छ।

समुदायका सदस्यहरूका अनुसार बालक जन्मेकालाई महिला बनाउने अभियानकी नेतृत्वकर्ता सुबेन ढकाल मनिषा हुन्। उनी बालक जन्मिए पनि हुर्कँदै जाँदा महिलाको हाउभाउ र व्यवहारमा लागिन्। त्यस्ता व्यक्तिलाई तेस्रोलिंगी पहिचान दिने संस्थागत अभियानमा जोडिएकी मनिषाले सुनिल बाबु पन्त भिक्षु भएको मौकामा ठिक उल्टो, विवादित धार समातेकी छन्। ‘तेस्रोलिंगी’ पहिचानलाई अस्वीकार गर्ने दिशामा उनी लागेको आरोप समुदायभित्र छ।

पन्तको रिक्ततामा उनले खेल्ने मौका पाइन्। पश्चिमी देशहरूमा जस्तो लिङ्ग परिवर्तन र हर्मोन थेरापीको संस्कृतिलाई संस्थागत रूपमा भित्र्याएको आरोप मनिषामाथि छ। समलिङ्गी, तेस्रोलिंगी र अन्तरलिंगी व्यक्तिहरूलाई शल्यक्रिया गराएर परिवर्तन हुन उक्साएको आरोप यतिबेला समुदायभित्र छ्यापछ्याप्ती बनेको छ। यसलाई समुदायले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउने योजनाबद्ध अभियानका रूपमा हेरिरहेको छ।

घरपरिवारमा नखुलेका, सहर–बजारमा बसोबास गर्दै आएका समलिङ्गी र तेस्रोलिंगी व्यक्तिहरूका नाममा पन्तले स्थापना गरेको संस्था नै पन्तविरुद्ध खनिएको छ। पन्तको रिक्ततामा भएका कामको विवरण लुकाउँदै आएको आरोप छ। संस्थागत अध्यक्ष र सदस्यहरूलाई साधारण सभाबाट वञ्चित गरिएको छ।

समुदायका सदस्यहरूको सामूहिक लगानीमा सञ्चालन भएको चिल पिल जोनमाथि सामाजिक सञ्जालबाट उनीहरू आक्रमणमा उत्रिएका छन्। कारण पुनः पन्तमाथि नै ‘एण्टी जेण्डर’को आरोप लगाइएको छ।

दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने जोडी माया गुरुङ र सुरेन्द्र पाण्डे, तेस्रोलिंगी पहिचानमा सडकमा उभिँदा प्रहरीको लाठी खाएकी ज्ञानु लामा, जेनजी युवा बाबु दुमि राई र अर्का एक जना पहिचान खुलाउन नचाहने गरी पाँच जनाको संयुक्त लगानीमा चिल पिल जोन सञ्चालनमा आएको छ।

पहिचानको अभियान उल्टो दिशातिर लैजाने समूहले अहिले चिल पिल जोनलाई नै ‘एण्टी जेण्डर मुभमेन्ट’ सञ्चालन गर्ने ठाउँ भनेर आरोप लगाएपछि बाबु दुमि बोल्न बाध्य भएका छन्। उनले ‘गरी खान देऊ’ भनेका छन्।

तर समुदायले गरी खाएको सहन गर्न नसक्ने समूहले गत साउन १४ गते भएको मौखिक सहमति त परको कुरा, २३ साउनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको तीन बुँदे लिखित निर्णयलाई समेत धज्जी उडाउँदै आएको छ।

समुदायको नाममा समुदायलाई शोषण गर्नेहरूले प्रशासनकै निर्णयलाई अवज्ञा गर्दै आएको पीडित समुदायले बताएको छ। नियमनकारी निकायहरूलाई प्रभावमा पारेर अनियमितता लुकाउन सफल बनेको आरोपसमेत समुदायका सदस्यहरूले लगाउँदै आएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि समुदायको आरोप पुष्टि हुने गरी अनियमितताको छानबिन आफूले नगर्ने भन्दै पन्छिँदै आएको तथ्यले प्रशासन र शोषण गर्ने समूहबीचको साँठगाँठको आशङ्का अझ बलियो बनाएको छ।

समुदायका सदस्यहरूलाई आर्थिक रूपमा सम्पन्न गराउने भन्दै हाइड्रोपावरको सेयर भर्न लगाएकी संजीव गुरुङ (पिंकी) आठ वर्षदेखि हिसाबविहीन छन्। समुदायसँग उठाइएको रकम फिर्ता मागिन थालेपछि पिंकीले अनेक फण्डा चलाउन थालेको र एण्टी जेण्डरकाे अभियान त्यसैमध्येकाे रहेको समुदायको भनाइ छ।

एचआइभी परियोजनाको आठ करोड रुपैयाँ गायब बनाएको पोल खुलेपछि सञ्जय शर्मा र प्रकाश निरौला आगो बनेको चर्चा समुदायभित्र छ। मनिषा, पिंकी, सञ्जय र प्रकाशले समुदायको नाममा कानुनविपरीतका गतिविधिलाई संस्थागत बनाउन खोजेको आरोप खेपेका छन्। तर उनीहरू सबै जवाफविहीन छन् र प्रशासनकै निर्णयलाई समेत निरन्तर अवज्ञा गर्दै आएका छन्।

आफूमाथि लागेको गम्भीर आरोपको जवाफ नदिई यही समूह उद्यमशीलतामा लागेका समुदायका सदस्यहरूमाथि साइबर आक्रमणमा उत्रिएको आरोप छ। अति भएपछि सामाजिक सञ्जालमा बाबु दुमि राईले कुनै संस्था वा कुनै व्यक्तिको नाम उल्लेख नगरी ‘उद्यमशील बनेकोमा किन रिस गरेको?’ भनेर सार्वजनिक प्रश्न उठाएका छन्।

उनको यो प्रश्न अहिले समलिङ्गी, तेस्रोलिंगी र अन्तरलिंगी समुदायभित्र चलिरहेको पहिचान, शोषण, अपारदर्शिता र अनियमिततामाथि केन्द्रित बहसको प्रतीक बन्दै गएको छ।

यही विषयमा सम्पर्क गर्न खोज्दा आरोपितहरू मानसिक स्वास्थ्यका लागि प्राप्त रकम खर्च गर्न पोखरा गएको नाम उल्लेख नगर्ने सर्तमा ब्लु डायमन्ड सोसाइटीका एक कर्मचारीले बताए। उनीहरू हरेक वर्ष क्रिसमस इभदेखि अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा जाने गर्छन्। यो पटक करिब ५० जना पोखरा गएको ती कर्मचारीले बताए। ‘बजेट सक्ने चटारो छ,’ उनले भने।

‘एण्टी जेण्डर’को आरोप खेपेका पन्त भने संविधानको धारा ४२ कार्यान्वयन गराउने अभियानमा लागेका छन्। पन्त संरक्षक तथा सल्लाहकार रहेको, तेस्रोलिंगी नुमा लिम्बु चञ्चला अध्यक्ष रहेको समावेशी समाजवादी पार्टीले फागुन २१ गतेको चुनावमा भाग लिने गरी निर्वाचन आयोगमा दल दर्ता गराइसकेको छ। सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने तयारी छ।

समाचार शेयर गर्नुहोस्
279
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.