काठमाडौँ – जेनजी आन्दोलनको बलमा बनेको सरकारमा तीन–तीन मन्त्रालयको कार्यभार सम्हालेका कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएका छन्। बालेन साहलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएको रास्वपासँग कुलमान सोमबार बेलुकी अबेर सहमतिमा पुगेका हुन्।
कुलमानसँग यसअघि एकताको प्रस्ताव गरेका बालेन साहले प्रधानमन्त्री आलोपालो गर्न नमान्दा कुरा नमिलेको भनिएको थियो। तर बालेन र रवि लामिछानेबीच शक्ति बाँडफाँड भइसकेपछि जेनजी अगुवाहरूले कुलमानलाई पनि सँगै लैजान दबाब बढाएका थिए। सुदन गुरुङ लगायतका केही जेनजी अगुवाहरूले सोमबार बेलुकी पटक–पटक कुलमानलाई बालेन र रविसँग वार्ता गराउन पुर्याएका थिए।
रास्वपाले बालेनसँग जस्तै कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच पनि ७ बुँदे एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ। रवि र बालेनबीच पनि ७ बुँदे सहमति भएको थियो।
जेनजी आन्दोलनले अपदस्थ कांग्रेस र एमालेको संयुक्त सरकार पनि ७ बुँदे सहमतिमै बनेको थियो। राजनीतिक वृत्तमा कांग्रेस र एमाले हुँदै रवि, बालेन र कुलमानबीच ७ बुँदे सहमतिको चर्चा चलेको छ।
उज्यालो नेपाल पार्टीसँग भएको सहमतिमा रास्वपा सभापति रवि र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने बालेन्द्र शाह साक्षी बसेका छन्।
सहमतिपत्रको सातौँ बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने उल्लेख छ।
रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति भएको छ। उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने उल्लेख गरिएको छ।
रास्वपा पुराना दलहरू कांग्रेस र एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नयाँ तथा वैकल्पिक शक्तिहरूलाई एकतामा ल्याउन सफल भएको छ। पुराना दलहरूसँग चुनावी प्रतिस्पर्धाका लागि साङ्गठनिक रूपमा दरो भएर प्रस्तुत हुने सङ्केत रास्वपाले दिएको छ।
२०७९ मंसिरको चुनावमा चौथो शक्तिको रूपमा उदाएको रास्वपा फागुन २१ गतेको चुनावमा रणनीतिक र साङ्गठनिक रूपमा बलियो भएर प्रतिस्पर्धा गर्ने देखिएको छ। ‘पुराना दलहरूले केही गरेनन्, भ्रष्टाचार मात्रै गरे’ भन्ने भाष्य मतदातामाझ पुर्याउने रणनीतिका साथ रास्वपा मैदान उत्रँदैछ, जसले पुराना दलहरूलाई मिलेर चुनाव लड्नुपर्ने अवस्थामा पुर्याएको छ।
७९ को चुनावबाट उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ भर्खरै बनेको प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएकी छन्।
प्रचण्ड प्रधानमन्त्री हुँदा मन्त्री भएकी रञ्जिता अन्ततः प्रचण्डकै पार्टीमा समाहित भएकी हुन्। रञ्जिताका श्रीमान् रेशम चौधरी भने राजेन्द्र महतोसँग हात मिलाएर निर्वाचन आयोग पुगे।
रञ्जितासँग मतभेद बढेपछि रेशमले नाउपा नेपाल नामको अर्को पार्टी खोलेर अन्य पार्टीसँग चुनावी तालमेल गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) का सहअध्यक्ष रेणु यादव पक्ष आफ्नो मूल पार्टीमा फर्किएको छ।
जनता समाजवादी पार्टीका बहुमत केन्द्रीय सदस्य उपेन्द्र यादव नेतृत्वको पुरानै पार्टीमा एकीकृत भएको रेणु यादव पक्षका नेता प्रदीप यादवले जानकारी दिएका छन्।
उपेन्द्र सरकारमा हुँदा अशोक राई नेतृत्वमा केही सांसद फुटेर अर्को दल बनाएका थिए। लोसपासँग पनि जसपा नेपालको एकता सहमति भइसकेको छ।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर भोट माग्ने सडक निर्माण गरिरहँदा कांग्रेस, एमाले, नेकपासहितका दलहरूले अहिलेसम्म भावी प्रधानमन्त्रीको नाम भने सार्वजनिक गरेका छैनन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.