निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रधानमन्त्रीले दिइन दुर्गा प्रसाईँलाई बुद्धको चित्र उपहार

प्रधानमन्त्रीले दिइन दुर्गा प्रसाईँलाई बुद्धको चित्र उपहार

169
SHARES
तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन्।

देश अहिले आम निर्वाचनतर्फ होमिइसकेको र सम्पूर्ण राजनीतिक तथा सामाजिक वातावरण चुनावमय बनेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षलाई अपिल गरिन्।

प्रधानमन्त्री कार्कीले मङ्गलवार बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा निर्वाचनमा सहयोग गर्न आग्रह गरेकी हुन्।

उनले अब मुलुकले थप अस्थिरता र अशान्ति थेग्न नसक्ने अवस्था आइसकेको भन्दै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह गरिन्।

मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै वर्तमान परिस्थितिमा लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन्।

‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ,’ उनले भनिन्, ‘सबै खालका संशयहरूलाई चिर्दै मुलुक पूर्णरूपमा निर्वाचनको माहौलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ।’

प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिइन्। यसअघि प्रसाईँले प्रधानमन्त्री कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका थिए। त्यसको बदलामा प्रधानमन्त्री कार्कीले बुद्धको चित्र उपहार दिएकी हुन्।

‘हामी पनि न्यायका पक्षधर हौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौँ। भ्रष्टाचारको अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशिला तयार पार्दै गएका छौँ। तपाईँले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ। अझै थप छलफल गर्दै जाऔँला।’

समाचार शेयर गर्नुहोस्
169
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.