काठमाडौँ – चुनावको वातावरण नबनेको भन्दै आएका राजनीतिक दलहरूले अन्ततः समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।
प्रतिनिधिसभाको फागुन २१ गते हुने निर्वाचनका लागि ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिएको निर्वाचन आयोगले जनाएको छ।
बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा राजनीतिक दलले आ–आफ्नै निर्वाचन चिह्नमार्फत चुनावमा भाग लिने गरी बन्दसूची दर्ता गराएका छन्। यस्तै, १० वटा राजनीतिक दलले चार वटा एकल निर्वाचन चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने संवैधानिक व्यवस्था अनुसार समानुपातिक प्रणालीबाट ११० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। ११० सिटका लागि कुल ३ हजार ४ सय २४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्। २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।
जेनजी आन्दोलनपछि राजनीतिक प्रणालीप्रति असन्तुष्टि र प्रतिनिधित्वको बहस तीव्र बनेको सन्दर्भमा हुन लागेको यस निर्वाचनमा समानुपातिक प्रणालीमार्फत नयाँ राजनीतिक दल, वैकल्पिक धार र सीमान्तकृत समुदायको प्रतिनिधित्व बढ्ने अपेक्षा गरिएको छ। यही पृष्ठभूमिमा ठुलो सङ्ख्यामा दल तथा उम्मेदवारको सहभागिता देखिएको निर्वाचन आयोगको विश्लेषण छ।
बन्दसूची बुझाएका दलहरूलाई निर्वाचन आयोगले निर्वाचन चिह्नसमेत प्रदान गरिसकेको छ। चिह्न क्रमअनुसार नेकपा एमालेको सूर्य पहिलो नम्बरमा परेको छ भने नेपाली कांग्रेसको रुख दोस्रो नम्बरमा छ। नेपाली कम्युनिस्ट पार्टीको पाँच कुने तारा तेस्रो स्थानमा रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चौथो, राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो पाँचौँ स्थानमा र जनता समाजवादी पार्टी, नेपालको ढल्केको छाता छैटौँ नम्बरमा परेको छ।
यसैगरी, जनमत पार्टीको लाउड स्पिकर सातौँ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको साइकल आठौँ, नेपाल मजदुर किसान पार्टीको मादल नवौँ र राष्ट्रिय जनमोर्चाको गिलास दशौँ नम्बरमा छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको खुलेको एकल आँखा एघारौँ, नेपाल लोकतान्त्रिक पार्टीको दुई हात जोडेको नमस्कार बाह्रौँ, मंगोल नेशनल अर्गनाइजेशनको कुखुराको भाले तेह्रौँ, बहुजन शक्ति पार्टीको जग चौधौँ र नेपाल सद्भावना पार्टीको पन्जा छाप पन्ध्रौँ नम्बरमा परेको छ।
नेपाल जनता संरक्षण पार्टीको डोको १६औँ, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) को हँसिया र तारा १७औँ, नेपाल जनता पार्टीको कमलको फूल १८औँ र संयुक्त नागरिक पार्टीको गितार १९औँ नम्बरमा छ।
नेपाल जनमुक्ति पार्टीको घर २०औँ, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को हँसिया २१औँ, राष्ट्रिय जनता पार्टी नेपालको दायाँ हातले समातेको मसाल २२औँ, समावेशी समाजवादी पार्टी नेपालको भित्ते घडी २३औँ, राष्ट्रिय परिवर्तन पार्टीको बाँसुरी २४औँ, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) को गैँती २५औँ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दापसहितको खुकुरी २६औँ नम्बरमा छ।
राष्ट्रिय एकता दलको तुलसी, मठ २७औँ, गतिशील लोकतान्त्रिक पार्टीको ब्याट्री २८औँ, नेपाल जनश्रमदान संस्कृति पार्टीको मान्छेले काँधमा बोकिरहेको ढुङ्गा २९औँ र नेपालका लागि नेपाली पार्टीको गोलाकारभित्र शङ्ख ३०औँ नम्बरमा रहेको छ।
जनप्रिय लोकतान्त्रिक पार्टीको बज्र ३१औँ, नेशनल रिपब्लिक नेपालको उडिरहेको माहुरी ३२औँ, श्रम संस्कृति पार्टीको अँजुलीमा रहेको माटो ३४औँ र स्वाभिमान पार्टीको बाली बोकेको महिलाको आकृति ३५औँ नम्बरमा छ।
नागरिक शक्ति नेपालको त्रिशूल ३६औँ, मितेरी पार्टी नेपालको घोडा ३७औँ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल ३८औँ, सार्वभौम नागरिक पार्टीको गाढा निलो रङको गोलाकारभित्र २४ किलाको चक्र ३९औँ र राष्ट्रिय जनमुक्ति पार्टीको हात मिलाएको चिह्न ४०औँ नम्बरमा परेको छ।
राष्ट्रिय ऊर्जाशील पार्टी, नेपालको चापाकल (ट्युबवेल) ४१औँ, नेपाली जनता दलको सिठ्ठी ४२औँ, त्रिमूल नेपालको ओदान ४३औँ, प्रजातान्त्रिक पार्टी नेपालको रथ ४४औँ र नेपाल मातृभूमि पार्टीको बलिरहेको दियो ४५औँ नम्बरमा छ।
नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीको एकल चिह्न बस ४६औँ नम्बरमा रहेको छ। राष्ट्रिय गौरव पार्टीको पाँचमुखे रुद्राक्षको दाना ४७औँ, नेपाली काँग्रेस (वी.पी.) को करुवा ४८औँ, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालको षटकोण ४९औँ र राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टी नेपालको चकिया (जाँतो) एकल चिह्न ५०औँ नम्बरमा परेको छ।
राष्ट्र निर्माण दल नेपालको गोलो घेराभित्र पानीको बोतल ५१औँ, उन्नत लोकतन्त्र पार्टीको खुला किताब ५२औँ र समावेशी समाजवादी पार्टीको श्रीवत्स समृद्धिको प्रतीक निर्वाचन चिह्न ५३औँ नम्बरमा रहेको छ।
आम जनता पार्टी र जनादेश पार्टी नेपालको एकल चिह्न मोबाइल ५४औँ, पिपुल फर्स्ट पार्टीको दुई औँला खुलेको, तीन औँला बन्द भएको हातको आकृति ५५औँ, सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालको जगर भएको सिंह ५६औँ, जन अधिकार पार्टीको डुङ्गा ५७औँ र जनता लोकतान्त्रिक पार्टी नेपालको भैँसी ५८औँ नम्बरमा रहेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.