राजनीतिक सहभागिता कुनै दया हाेइन : सन्ध्या लामा

राजनीतिक सहभागिता कुनै दया हाेइन : सन्ध्या लामा

329
SHARES

काठमाडौँ – समावेशी समाजवादी पार्टीकी सचिव सञ्जिवनी लामा (सन्ध्या)ले राजनीतिमा तेस्रोलिंगी (ट्रान्सजेन्डर) व्यक्तिको सहभागिता आजको अनिवार्य आवश्यकता भएको बताएकी छन्। उनले तेस्रोलिङ्गी समुदायको राजनीतिक सहभागिता कुनै दया, कृपा वा अवसर वितरण मात्र नभई अधिकार, आवश्यकता र समयको माग भएको बताएकी हुन्।

लामाका अनुसार लोकतन्त्र तब मात्र बलियो हुन्छ, जब समाजका सबै वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित हुन्छ। “तेस्रोलिंगी समुदाय पनि यस मुलुकका समान नागरिक हुन्। त्यसैले नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको आवाज समेटिनु अनिवार्य छ,” उनले बताइन्। समावेशी लोकतन्त्रको आधार नै सबै नागरिकको सहभागिताबाट निर्माण हुने उनको भनाइ छ।

राजनीतिमा सहभागिताले तेस्रोलिंगी समुदायले भोग्दै आएका समस्या, भेदभाव र हिंसाका विषयहरू संसद्, सरकार तथा नीति तहसम्म पुर्‍याउन सहयोग पुर्‍याउने उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्। यसले समान अधिकारको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्ने र न्यायमा पहुँच विस्तार हुने उनको तर्क छ।

सचिव लामा राजनीतिक नेतृत्वमा तेस्रोलिंगी व्यक्तिहरू देखिनुले समाजको सोचमै परिवर्तन ल्याउने बताउँछिन्। “राजनीतिमा तेस्रोलिंगी नेतृत्व स्थापित हुँदा लैङ्गिक विविधतालाई स्वीकार गर्ने संस्कृतिको विकास हुन्छ, जसले दीर्घकालीन सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउँछ,” उनले भनिन्।

उनका अनुसार स्वास्थ्य, शिक्षा, रोजगारी, नागरिकता, पहिचानजस्ता विषयमा तेस्रोलिंगी समुदायका वास्तविक समस्या उनीहरू आफैँले नै नीति तथा कानुन निर्माणका तहमा प्रभावकारी रूपमा उठाउन सक्छन्। बाहिरबाट भन्दा भित्रैबाट नीति प्रक्रियामा संलग्न हुँदा मात्र समस्या समाधान सम्भव हुने उनको धारणा छ।

अन्तर्राष्ट्रिय मान्यता र नेपालको संविधानले समेत लैङ्गिक अल्पसङ्ख्यकको अधिकारलाई स्वीकार गरिसकेको सन्दर्भ उल्लेख गर्दै लामाले राजनीतिक सहभागिता संविधानको मर्मअनुसार नै भएको स्पष्ट पारिन्। “संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्न राजनीतिक सहभागिता अपरिहार्य छ,” उनले जोड दिइन्।

उनले समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणका लागि तेस्रोलिंगी समुदायको सक्रिय राजनीतिक सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै आफ्नो धारणा ‘जय समावेशी’ नारासहित टुङ्ग्याएकी छन्।

समाचार शेयर गर्नुहोस्
329
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.