काठमाडौँ – काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईबीचको राजनीतिक सम्बन्ध सार्वजनिक रूपमै विच्छेदको चरणमा पुगेको छ।
कुनै समय एउटै ‘वैकल्पिक राजनीतिक धार’को प्रतीकका रूपमा देखिएका बालेन र हर्क यतिबेला एक–अर्काविरुद्ध उभिएका छन्, जसलाई राजनीतिक वृत्तमा ‘बालेन–हर्कको राजनीतिक डिभोर्स’ का रूपमा हेरिएको छ।
हर्क साम्पाङले ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौँका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै सार्वजनिक रूपमै कठोर प्रश्न र आरोपहरू गरिरहेका छन्।
हर्कको प्रश्नले ऊर्जा मन्त्री घिसिङ, बालेन, रास्वपाका सभापति लामिछाने मात्र होइन, समग्र वैकल्पिक राजनीति र नयाँ शक्तिको समीकरणलाई समेत तरङ्गित बनाएको छ।
हर्कले एमसिसी परियोजनाको विरोध गर्न नसक्नुको कारण के हो भन्ने प्रश्न ऊर्जा मन्त्री कुलमान घिसिङसँग गरेका छन्। यस्तै, सिंहदरबार किन जलाएको भन्दै उनले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई पनि प्रश्न तेर्स्याएका छन्। सहकारी ठगी प्रकरणलाई लिएर उनले रास्वपा सभापति रवि लामिछानेलाई समेत खुलेर चुनौती दिएका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन लगत्तै बालेन र हर्कबीचको सम्बन्ध सार्वजनिक बहसमै पुगेको थियो। सोही क्रममा बालेनले सामाजिक सञ्जालमा हर्कलाई सम्बोधन गर्दै भावनात्मक स्ट्याटस लेखेका थिए, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। यु आर माई ट्रियु लभ।”

तर, बालेनको उक्त अभिव्यक्तिपछि नै हर्कले पनि कडा प्रतिक्रिया दिएका थिए। उनले लेखेका थिए, “देश जलाएर खरानीको व्यापार, विदेशीको कठपुतली बनेर रमाइलो गर्दै लभको कुरा। मुखमा राम राम, बगलीमा बम्फक। कठै! मुतको न्यानोमा जुनी बिताउनेहरूको कमी छैन फेरि।”
जेनजी आन्दोलनपछि सुरु भएको बालेन र हर्कबीचको ‘समानलिंगी राजनीतिक सम्बन्ध’मा यसैसँगै दरार देखिएको थियो। पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले उक्त सम्बन्धलाई ‘समानलिंगी राजनीतिक सम्बन्ध’को संज्ञा दिँदै स्वागत गरेका थिए। हर्क र बालेनलाई मेन्सन गर्दै पन्तले लेखेका थिए,“एउटा पुरुष युवा नेताले अर्का पुरुष नेतालाई खुला प्रेम प्रस्ताव राखेका छन्। समानलिंगी राजनीतिक सम्बन्धको स्वागत गरिन्छ।”
तर समयसँगै अवस्था बदलिएको छ। बालेनले अहिले हर्कप्रति कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् भने हर्क भने निरन्तर बालेनमाथि आरोपहरू लगाइरहेका छन्। राजनीतिक रूपमा बालेन र हर्कबीच स्पष्ट डिभोर्स भइसकेको अवस्था देखिएको छ।
हर्कले श्रम संस्कृति पार्टी दर्ता गरी चुनावी अभियान अघि बढाएका छन्। बालेन भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिँदै चुनावी अभियानमा सक्रिय छन्।
हर्कको आक्रोश बालेनमा मात्र सीमित छैन। उनले रवि लामिछाने र कुलमान घिसिङलाई समेत विदेशी शक्तिका रूपमा चित्रण गरेका छन्। बालेन, रवि र कुलमानलाई ‘विदेशी शक्ति’को संज्ञा दिँदै आफू मात्रै ‘स्वदेशी शक्ति’ भएको दाबी हर्कले गर्दै आएका छन्।
प्राइम टेलिभिजनको अन्तर्वार्तामा हर्कले तीनै जनालाई फेसबुकमा रमाएर चुनाव जित्न नसकिने टिप्पणी गरेका छन्। विदेशी सहयोगलाई उनले ‘सिनोको टुक्रा’को संज्ञा दिँदै भनेका छन्, “सिनोको टुक्रामा रमाउनेहरू झिँगा प्रकारका मान्छे हुन्।”
हर्कले कुर्सीका लागि गठबन्धन किन गर्ने भनेर प्रश्न पनि गरेका छन्। “दम छ भने सिङ्गल भिड्न आऊ,” भन्दै उनले नयाँ र पुराना सबै राजनीतिक दल तथा नेताहरूलाई चुनौती दिएका छन्। फरक–फरक विचार बोकेकाहरू एकै ठाउँमा आएर चुनाव लड्नु गलत भएको उनको तर्क छ।
एक्लाएक्लै लड्न नसक्ने भएपछि मात्रै गठबन्धनको सहारा लिनुपर्ने अवस्था आएको भन्दै उनले गठबन्धन राजनीतिलाई कडा आलोचना गरेका छन्।
तर बालेन, रवि र कुलमान एकता गरेर चुनावी मोर्चामा उत्रिएसँगै नेपाली कांग्रेस र नेकपा एमालेमा पनि गम्भीर तरङ्ग देखिएको छ। भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अगाडि सार्दै कुलमान घिसिङलाई रास्वपाको दोस्रो वरियतामा राख्ने सहमतिसहित रवि लामिछानेले पार्टी सभापति आफैँले हाँक्ने समझदारी गरेका छन्।
निर्वाचनका लागि नयाँ भनिएका र जनमत भएका चर्चित अनुहारहरू एकै ठाउँमा उभिएपछि कांग्रेस र एमालेभित्र पनि गठबन्धन गरेर अघि बढ्न नेताहरूले नेतृत्वमाथि दबाब बढाएका छन्।
एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लोकतन्त्रको अपहरण भएको जटिल अवस्थामा कांग्रेस–एमाले मिलेर अघि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि एमालेसँग सहकार्यको ढोका खुला रहेको बताएका छन्। उद्देश्य एउटै भए पनि फरक–फरक बाटोमा हिँडिरहेका कांग्रेस र एमालेको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
बालेन–हर्कको राजनीतिक विच्छेदसँगै नयाँ र पुराना राजनीतिक शक्तिहरूबीचको एकता, गठबन्धन र त्यसप्रतिको खुला चुनौतीले आगामी निर्वाचनको राजनीतिक परिदृश्य थप ध्रुवीकृत बन्दै गएको सङ्केत गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.