पुसे ठिहीमा योपाली नेपाली भाषा–साहित्यका अग्रज साधक प्राध्यापक गोविन्दराज भट्टराईको साथमा लागेर म भारतको सिलिगुढी पुगेको थिएँ। सिलिगुढीको महाकवि लक्ष्मीप्रसाद देवकोटा मार्ग, प्रधान नगर पुग्दा बिहानको नौ बजिसकेको थियो। सिलिगुढी नै भएपनि हामी उत्रिएको ठाउँ नेपाली स्थाननाम भएकाले मलाई स्वदेशमै छु जस्तो लाग्यो। त्यसो त यो नेपाली माटो नै हो तर विश्वमान चित्रमा भारतको सीमाभित्र परेको मात्र न हो। मेची पारीको भूमिलाई देख्दा मलाई यति दुःख लाग्छ, जति मेरा हजुरबा र बुबाले बेचेको बेँसी खेत देख्दा लाग्छ। बेचिएको खेत भए पनि पहिले हाम्रो थियो भन्दा लाग्ने एक किसिमको गौरव दार्जिलिङ, कालिम्पोङ र सिक्किमलाई देख्दा लाग्छ मलाई। त्यसो त दुई देशले सीमाना लगाएर के भयो र? हाम्रो नाता सम्बन्धमा कुनै सीमाना छैन। हामी कयौँका मावल मेची पारि छन् भने त्यताकाको मेची वारि छन्। त्यसैले मलाई ती स्थानहरू त्यति धेरै विदेशजस्तो पनि लाग्दैन। वैदेशिक सीमाना आफ्नै ठाउँमा छ तर मेरो मनमा कुनै सीमारेखा कोरिएको छैन।
२०८२ पौष १२ गते शनिवार बिहान तदनुसार २७ डिसेम्बर २०२५ का दिन त्यहाँ हामीलाई मिठो मुस्कानसाथ हँसिलो मुहार भएका सिलिगुढी देवकोटा सङ्घका अध्यक्ष मिलन रुचाल स्वागत गर्न आइपुग्नु भयो। उहाँका साथमा देवकोटा सङ्घका सचिव श्याम श्रेष्ठ, सङ्घद्वारा प्रकाशित बाडुली पत्रिकाका सम्पादक प्रा. कृष्णराज धतानीलगायत अरू पनि आउनु भयो। हामी दमक, झापा (नेपाल)का तर्फबाट २२ साहित्यकार भारत गएका थियौँ।
प्रा.डा. भट्टराईको निर्देशनमा हाम्रो नाम खेमराज पोख्रेल सरले पालैपालो वाचन गर्नुभयो। आफ्नो नाम वाचन हुँदा हामीले जुम्लिया हात गरेर उभियौँ। परिचयका लागि उभिएका हामीलाई प्रा.डा. भट्टराईले थप सिँगारपटार गर्दै हाम्रा विशेषतासहित परिचय गराउनु भयो। हामी उहाँको यही स्नेही विशेषताले लोभिएर त हो, महमा झिँगो ठासिएझैँ उहाँसँग टासिरहन्छौँ। उहाँलाई प्रकाशनार्थ कुनै कृतिको भूमिका लेखिदिन आग्रह गर्दै हौसला दिँदै त्यसको पाण्डुलिपि अक्षरशः पढेर त्यहाँ भएका गल्ती कमजोरीहरूलाई औँल्याई दिनुहुन्छ। त्यतिमात्र कहाँ हो र हाम्रा कृतिहरूलाई पनि आफ्नैझैँ ठानी प्रचारप्रसार गर्नुहुन्छ। उहाँको यही मित्रवत् र अभिभावकीय भूमिकाको कारण हामी चुम्बकले तानिएझैँ तानिइरहन्छौँ।
हामी सबै एकसे एक लेखक तथा साहित्यकार भएकाले किताब नलेख्ने कुरै भएन। अनि आफूले लेखेको किताब कुन मूर्खले नबोकोस् र? आआफ्नो परिचयको पालामा सिलिगुढी देवकोटा पुस्तकालयका लागि हाम्रा पुस्तकहरू अध्यक्ष रुचालमार्फत बुझायौँ। मैले मेरो गुम्सिएको अभिव्यक्ति उपन्यास बुझाएँ।
त्यसपछि उक्त भवनको सम्मुखमा रहेको झोल भात नामक होटलमा खाजानास्ता गर्न लगियो। त्यहाँ मिठो खाजाका साथै हामीले बिहानीको आआफ्ना औषधीका क्याप्सुलहरू कुखुराले मकै निलेझैँ किक्लिक्क निल्यौँ। त्यहाँ केही समय कृति आदानप्रदान चल्यो।

जलपानपश्चात् प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, मुख्य अतिथि प्रा. मोहन पी. दाहाल र डा. रिन्जी वाङ्दीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सुनौलो सालिकमा माल्यार्पण गर्ने कार्यक्रम सुसम्पन्न भयो। त्यो सालिक देवकोटा भवनको प्रवेशद्वारको देब्रेतर्फ बनाएर सुरक्षार्थ फलामे बार लगाइको थियो।
त्यहाँबाट भित्र पस्नासाथ टेबल कुर्सी सजाइएको फराकिलो सिकुवामा पुगियो। त्यहाँ बुद्धको सुनौलो प्रतिमा थियो। हामी नेपालका पाहुनाहरूका तर्फबाट हाम्रा टोली नेता प्रतिभा निकेतन, दमकका अध्यक्ष कमलराज भट्टराईले उक्त प्रतिमामा माल्यार्पण गर्नुभयो।
त्यसपछि हामीलाई ससम्मान भवनको तेस्रो तलामा रहेका सभाहलमा लगियो। त्यो देवकोटा सङ्घको निजी सभाहल रहेछ। हामी भन्दा उहाँहरू भाषालाई कति माया गर्नु हुँदो रहेछ भने सभाहललाई उहाँहरूले प्रेक्षागृह भनेर लेखेका थिए। मैले नेपालमा तपाईँ सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ लेखिएको देखेको थिएँ र छु तर त्यहाँ तपाईँ सीसी क्यामेराको आवेक्षणमा हुनुहुन्छ लेखिएको थियो। यहाँ मैले के बुझेँ भने भाषाको प्रेम सीमानाले होइन भावनाले गर्दो रहेछ। भारतको सिलिगुढीमा बसेर पनि उहाँहरूको भाषालाई उच्चप्रेम देखेँ।
….
त्यो प्रेक्षागृह ज्यादै सफा त थियो नै त्यति नै सुन्दर पनि थियो। भित्तोमा सिलिगुढी देवकोटा सङ्घ, महाकवि लक्ष्मीप्रसाद देवकोटा पथ, प्रधान नगर, ९८औँ अगमसिंह गिरी जयन्ती –२०२५, प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, मुख्य अतिथि प्रो. मोहन पी. दाहाल र डा. रिन्जी वाङ्दी, देवकोटा साहित्य सेवा पुरस्कार–२०२५, श्रीमान् मनप्रसाद सुब्बा, गिरी साहित्य सेवा पुरस्कार–२०२५, श्रीमान् मुक्तिप्रसाद उपाध्याय बराल लेखेर देब्रेतर्फ मनप्रसाद सुब्बा र दाहिनोतर्फ मुक्तिप्रसाद उपाध्याय बरालको छायाछवि राखिएको थियो। त्योभन्दा तल वार्ताको शीर्षक समकालीन साहित्य चिन्तक र अगमसिंह गिरी, र वार्ताकार डा. इन्द्रमान सुब्बा लेखिएको थियो। यहाँ मैले देखेको भिन्नता के भने हामी श्रीमान् त निवेदनमा बाध्य भएर मात्र प्रयोग गर्छौँ। अरूलाई प्रयोग गर्नै परे श्रीसम्म प्रयोग गर्छौ तर प्रायः श्रीमान् प्रयोग गर्न कन्जुस्याइँ गर्छौ तर त्यहाँ त ससम्मान प्रयोग गरिएको थियो। आहा, कस्तो राम्रो!
मञ्चमा नेपालको साहित्यिक कार्यक्रममा जस्तो खचाखच कुर्सी कोचिएको थिएन। त्यहाँ पाँचसातवटा प्लास्टिकका कुर्सी मात्र थिए। हामी प्रवेश गर्नसाथ माइकिङ भयो, “अतिथिगणहरू! कृपया आआफ्नो नाम खोजेर आसन ग्रहण गर्नुहोला।”
ओहो, त्यहाँ त सबै अतिथिको नाम लेखेर कुर्सीमा अघि नै टाँसिएको रहेछ। कति राम्रो व्यवस्था!
अतिथिहरू बस्नासाथ हातहातमा कार्यक्रम तालिका बाँडियो। त्यो तालिकाको राम्रो पक्ष त्यहाँ कार्यक्रमको रूपरेखामा मात्र थिएन, समयसमेत निर्धारण गरिएको थियो। त्यो कुरो मलाई यति मन पर्यो कि त्यसको तारिफ नगरी मनै मानेन। नेपालमा श्रोताभन्दा अतिथि धेरै भएको कार्यक्रम हेर्दा हेर्दा दिक्क भएको मलाई त्यो व्यवस्था मन नपर्ने कुरो थिएन। ५८ मिनेट लामो स्वागत भाषण पनि नसुनेको होइन। डेढ घण्टा लामो पट्यारलाग्दो कृति समीक्षा पनि सुन्नैपरेको थियो मैले। तर उहाँ त स्वागत भाषणका लागि मात्र ५ मिनेट र सम्मानित व्यक्तिहरूको मन्तव्यका लागि मात्र १० मिनेट समय छुट्टाइएको थियो। हामी नेपालकाले सिक्नैपर्ने एउटा कुरो थियो यो। यसले हामी नेपालीहरू काममा थोरै र बोल्नमा धेरै समय खर्च गर्दा रहेछौँ भन्ने बुझिँदैन र? म गलत छैन भने मेरो बुझाइ यही हो।

हातमा कार्यक्रम तालिका लिएर मैले त्यहाँ सप्रेम बाँडिएको नरिवल पानी खाँदै समय याद गरिरहेँ। ठ्याक्कै निर्धारित समयभन्दा एक मिनेट तलमाथि नगरी कार्यक्रम सुरु भयो। अनावश्यक विशेषता र उपमा नथपी सामान्य ढङ्गले प्रमुख अतिथि, मुख्य अतिथि र अन्य अतिथिको आसन ग्रहण उद्घोषक देवराज शर्माबाट गराइयो। अचम्म त के देखियो भने धेरैले मञ्चमा नचढी तलैबाट आतिथ्य ग्रहण गरे। यो उहाँहरूको मञ्चप्रतिको सम्मान थियो। मलाई पनि आसन ग्रहण गराउनुपर्छ अझ प्रमुख अतिथि बनाइनुपर्छ भन्दै दाबी गर्नेहरूको समाजमा हुर्केको मलाई यो अचम्म त लाग्ने नै भयो। डा.जसयोन्जन ‘प्यासी’, डा. एकलव्य, …लगायत धेरैले तलै बसेर मञ्चको उच्चसम्मान गर्नुभयो। शायद उहाँहरूले सम्झनु भयो होला, हामी मञ्चमा चढ्दा हामीलाई सम्मान भए पनि हामीभन्दा सम्मानितलाई त अपमान हुन्छ नि।
प्रमुख र मुख्य अतिथिहरूले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरेर गर्नुभयो भने कार्यक्रम सञ्चालक शर्माले मन्त्रोच्चारण गर्नुभयो।
त्यसपछि सबै अतिथिलाई मञ्चबाट झरेर आआफ्नो स्थानमा बस्न ससम्मान आग्रह गरियो। अतिथि स्वागतका लागि तृषादास पालले शास्त्रीय वन्दना नृत्य प्रस्तुत गरिन्। सभ्यताका नाममा विदेशी नाचमा हल्लिने हामी नेपालीका लागि यो (शास्त्रीय नृत्य) पनि गतिलो झापड थियो। यो कार्यक्रमबाट सिक्नै पर्ने अर्को कुरो के थियो भने कसैको पनि प्रस्तुति सकिनासाथ तुरुन्तै सम्मानस्वरुप खादा, मायाको चिनो दिइहाल्ने परिपाटी। जिउँदो बिरुवा उपहार दिएको देखेर मैले त्यसको अर्थ पर्गेल्न खोजेँ। मैले एउटा अर्थ लगाएँ, तपाईँको जीवन र कलासाहित्य यो बिरुवाजस्तै बढोस्, फलोस्, फुलोस्। यसलाई बचाउनुहोस्, हुर्काउनु होस् पनि हो। अर्को अर्थ लगाएँ, बिग्रँदो विश्व पर्यावरणमा एउटा भए पनि बिरुवा रोपिइयोस् जसले स्वच्छ वातावरणका लागि योगदान पुगोस्। भलै मेरो अर्थ सही होस् नहोस् तर मेरो बुुद्धिविलास त भयो नि यति भए पनि, भएन र?
तृषापाल त कुशल नृत्यकलाका लागि सम्मानित हुने नै हो तर सङ्घले त्यसको अतिरिक्त उनका सासुससुरालाई पनि सम्मान गर्यो। ठुलो कुरो चाहिँ यो थियो किनभने बुहारीको कारणबाट सम्मानित हुन पाउँदा ती सासुससुराहरु साहै खुसी देखिए। मैले सोचेँ, पक्कै पनि उनीहरूले आफ्नी बुहारीलाई हीराको टुक्रो सम्झेनन् होलान्? र नसम्झनुपर्ने कारण पनि थिएन। सायद यसैलाई भनिएको होला, फूलको सङ्गत गर्ने कीरो पनि मानिसको शिरमा पुग्न पाउँछ।
त्यसपछि जुन ठाउँमा बसेका छौ, जहाँको दाना पानी खाएका छौँ त्यो ठाउँको स्तुति गान गर्नैपर्छ भनेर भारतीय राष्ट्रिय गीत सङ्घका सबै सदस्यहरू शालीनताका साथ उभिएर गाए। हामीले पनि उठेर सम्मान र साथ दियौँ।
त्यसपछि सचिव श्याम प्रधानले स्वागत भाषण गर्न पाएको ५ मिनेटलाई पनि पूरा खर्च नगरी चाँडै सकेर समय बचत गर्नुभयो। सङ्घका १४ जना सेतो सारी र सुनौलो चोली लगाएका महिला र नेपाली टोपी ओडेका ४ पुरुष सदस्यले हात जोरेर स्वागत गीत गाए, “सत्यं शिवं सुन्दर…..।”
तालिकाभन्दा तलमाथि केही भएन र नेपालमा जस्तो बिच बिचमा उद्घोषकलाई यसो गर उसो गर भनेर अध्यक्ष वा अरू कसैले दबाब दिन पनि आएन। न कार्यक्रममा कुबेला आउने जति सबैलाई आसन ग्रहण नै गराइयो। नेपालमा जस्तो आसन ग्रहणको कार्यक्रममा बाँकी राख्दै भनेर बारम्बार उद्घोषक चिच्याइ रहेन पनि।
त्यसपछि पालो थियो डा. इन्द्रमान सुब्बाले वार्ता सुनाउने। कलिलो उमेरै विद्यावारिधि गरेका सुब्बाले आफ्नो वार्ता पनि निर्धारित समयमै सक्नुभयो। उहाँले वार्तामा लक्ष्मीप्रसाद देवकोटाले शङ्कर लामिछानेलाई मेरै बाटोमा हिँड्ने भए यस क्षेत्रमा नआउनुहोस् भनेका प्रसङ्ग उठाउँदै सबैले फरक ढङ्गबाट काम गर्नपर्छ भन्ने सन्देश दिनुभयो। असाध्य समाजमा साध्य भएर बाँचेका छौँ। समाजमा केही मिलेको छैन, हामी आवेशपूर्वक मिलाउन खोजिरहेका छौँ भन्दै अगमसिंह गिरीको साहित्यिक योगदानको चर्चा गर्नुभयो। सभ्यता सिक्न त हामीले त्यो कार्यक्रमबाट पर्छ नै किनभने त्यहाँ सियो खस्दा पनि चाल पाइने स्तब्धता थियो।
त्यसपछि कवि अगमसिंह गिरीको जन्मजयन्तीको अवसरमा उनको ‘तिमी त नचिनिने भएछौ’ कवितालाई प्रियांश राईले सस्वर वाचन गरिन् भने ‘चिहान बोलिरहेछ’ नितेश राईले। सङ्घको मुखपत्र ‘बाडुली’ र ‘जातीय कवि अगमसिंह गिरी’ समीक्षा पुस्तकको लोकार्पण भयो। कृष्ण माग्रान्तीले ‘बिर्ताको चिनो’ गीत गाएर वीरताको स्मरण गराए। त्यति बेला गायक र श्रोता सबैको अनुहारमा गौरव देखियो। मैले नेपालमा यो गीतलाई सायदै गाएको सुनेको छु तर त्यहाँ त यति गौरव मानेर गाइयो कि गीतले साँच्चै न्याय पायो। मैले सङ्घमा सदस्यहरू तथा त्यहाँ उपस्थित भएका नेपाली भाषीहरूको मुहार अध्ययन गर्दा साँच्चै नै उनीहरूले हृदयदेखिनै नेपालीपन चाहेको पाएँ। नेपालमा केही छैन भन्दै बिदेसिनेहरूलाई यो शिक्षा कहिले प्राप्त होला। त्यसो त कुनै कुरो नगुमाएसम्म त्यसको महत्त्व हुँदैन नै। विदेशमा बस्नुको पीडा उनीहरूको गीतहरूमा पोखिएको पाएँ र देखेँ मैले।
त्यसपछि बडो हर्षका साथ कवि मनप्रसाद सुब्बालाई देवकोटा साहित्य सेवा पुरस्कार–२०२५ प्रदान गरियो। खादा, दोसल्ला, टोपी, प्रमाणपत्र, बुद्धको प्रतिमा, जिउँदो बिरुवा र नगदनारायणले हृदय खोलेर सम्मान गरेको देखेँ। मैले मन नपराई नपराई ईष्र्याभाव राखेर सम्मान गरिटोपलेको पनि धेरै देखेको छु तर यहाँ भने हृदयबाटै सम्मान गरेको भान भयो मलाई। त्यसरी नै एवम् रीतले साहित्यकार मुक्तिप्रसाद उपाध्याय बराललाई अगमसिंह गिरी साहित्य सेवा पुरस्कार– २०२५ले सम्मान गरियो। उपाध्यक्ष देविका मंग्राती राईले उहाँहरूको सम्मान पत्र वाचन गरेर योगदान सुनाउनुभयो। मैले त्यहाँ नेपालमा जस्तो त्यहाँ दल देखिन, गुट देखिन, जात देखिन। त्यहाँ त मैले एउटै कुरो मात्र देखेँ। त्यो हो नेपाली भाषी।
त्यसपछि चन्द्र भण्डारी र लीला अनमोलले आआफ्ना मन्तव्य राखी मायाको चिनो ग्रहण गर्ने कार्यक्रम भयो। अनि ‘प्यारो प्यारो मेरो नेपाली’ बोलको गीत पार्वती ठकुरीले र ‘हे गोर्खाली….’ गीत ममता प्रधानले प्रस्तुत गरे। स्नेह गुरुङले नेपाली पोसाकमा मारुनी भाकाको गीतमा नृत्य प्रस्तुत गरिन्। देवकोटालाई समर्पण गीत ‘युग युगसम्म बाँचिरहोस्’(सरी, गायिकाको नाम टिप्न छुटेछ)ले गाएर सुनाउनुभयो। मुख्य अतिथि डा. वाङ्दीले आफ्नो अर्ग्यानिक मन्तव्य राख्दै नेपालको विश्वविद्यालयमा अध्ययन गर्न आउँदा भएको कवि अगमसिंह गिरीको चर्चा गर्नुभयो। उहाँले दान खालिङ, अरुणा लामा र इन्द्रबहादुर राईको प्रसङ्ग पनि कोट्याउनु भयो।
त्यसपछि अन्य प्रतिभाहरू अमर बानियाँ ‘लोहोरो’, युवा बराल, सुवास ठकुरी साङ्गु लेप्चा आदिलाई सम्मान गरियो। तर २०८१ सालको मदन पुरस्कार विजेता छुुदेन काविमो कार्यव्यस्तताले अनुपस्थित हुनुभएको जानकारी मिल्यो।
….
अन्त्यमा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले कार्यक्रम आयोजकलाई सभ्य र भव्य कार्यक्रमको आयोजनाको लागि धन्यवाद दिँदै आफ्ना सारगर्भित मन्तव्य राख्नुभयो। आफूले अनुवाद विधामा विद्यावारिधि गर्दा कवि मनप्रसाद सुब्बाको .कवितालाई पनि अनुवाद गरेको स्मरण गर्दै त्यस्ता विद्वत कवि सम्मानित भएको देख्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो। त्यसरी नै आफ्नो मुगलान उपन्यासलाई बङ्गाली भाषामा अनुवाद गर्ने बहुमुखी प्रतिभाशाली साहित्यकार मुक्तिप्रसाद उपाध्याय बराल सम्मानित भएकामा खुसी व्यक्त गर्नुभयो। उहाँले नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई विश्व साहित्यमा प्रतिस्थापन गर्न उहाँका बारेमा अङ्ग्रेजीमा केही कृतिहरू निकालेको भनेर पुस्तकै देखाउनु भयो। निर्धारित समयमा मन्तव्य सिध्याएर प्रा.डा. भट्टराईले सबैसँग भलाकुसारी गरी बिदा लिनुभयो।
ठिक ३ बजे मिठा मिठा खानाका परिकारहरू खाएर हामीले बाटो ततायौँ। बाटामा कार्यक्रमको गम्भीर समीक्षा भयो। वरिष्ठ पल्टेर ठालुपन नदेखाउने, सबैसँग हाँसेर बिना भेदभाव बोल्ने र सबैलाई बोल्न बराबर समय दिने प्रवृत्ति भएका प्रा.डा. भट्टराईले हामी सबैलाई कार्यक्रमको समीक्षा गर्न पालैपालो लगाउनु भयो। समीक्षाको निष्कर्षको रूपमा हामी सबैले अब नेपालमा त्यस्तै व्यवस्थित कार्यक्रम गरौँ भन्ने भयो।
हाम्रो सवारी सिलिगुढी हुँदै पानीटंकीतिर बढ्यो। हामी सवार गाडीमा गोविन्दराज भट्टराई, खेमलाल पोख्रेल, नारायण शर्मा फुयाल, विन्दुप्रसाद दाहाल ‘मूकदर्शक’, लक्ष्मण गाम्नागे, हरि गौतम, वैदिक अत्रि र म गरी जम्मा ९ जना थियौँ भने एउटा गाडीमा डा. अञ्जना वस्ती, डा. व्यञ्जना शर्मा, निर्मला भट्टराई र खगेन्द्र भट्टराई हुनुहुन्थ्यो। त्यसै गरी अर्को सवारीमा कमलराज भट्टराई, रेवतप्रसाद घिमिरे, इन्द्रप्रसाद घिमिरे, चूडामणि पौडेल, यज्ञ परिश्रमी लगायत ९ जना हुनुहुन्थ्यो भने प्रेमप्रकाश फलाहारी, देवीभक्त श्रेष्ठ, नवीन दाहाल, डिल्लीराम परदेशी, चन्द्र भण्डारी, लीला अनमोललगायत अरू बेग्लै सवारीमा सवार हुनुहुन्थ्यो।
बाटामा दमक साहित्य सङ्गमका अध्यक्षसमेत रहेका छन्द कवि विन्दुप्रसाद दाहाल ‘मुुकदर्शक’ले केही छन्द कविता सुनाए मनोरञ्जन गराउनु भयो। वैदिक अत्रिले गफ चुटेर यात्रालाई रमाइलो पार्नुभयो।
धुलाबारीमा बसेर छुट्नेसी मिठो चिया खाइयो। पालै पालो गाडीमा बसेर सबैलाई आत्मीयता बाँड्ने भट्टराई चारालीदेखि अर्को सवारीमा स्थानान्तरण हुनुभयो। उहाँको अनुपस्थितिमा केही साथीहरूले उन्मुक्त हुँदै रमाइलोका लागि गफलाई लिक बाहिर लानुभयो।
अन्त्यमा हामीले छुट्नै पर्थ्यो र छुटेर घर घर लाग्यौँ। मैले प्रा.डा. भट्टराई फूलको सङ्गतले म कीरो पनि मानिसको शिर चढ्न पाएँ (सिलिगुढीको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा भाग लिन पाएँ ) भन्ने सम्झँदै खुसी भएँ। कवि अगमसिंह गिरीको ९८ औँ जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली!
—झिलझिले, झापा
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.