झापा – शुक्रवार राती बुद्ध एयरको जहाज दुर्घटना भएको झापाको भद्रपुर विमानस्थल रनवे घटाएर सञ्चालनमा ल्याइएको छ। विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रनवे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिए।
उनका अनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्र्याकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमानस्थल सञ्चालन भएको छ। उनले विमान दुर्घटनाको कारण यकिन हुन नसकेपनि मौसमलाई दोष दिन नमिल्ने बताए।
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज अवतरण गर्नुअघि यति एयरलाइन्सको जहाज अवतरण भएको थियो। विमानस्थल प्रमुख खत्रीले यति एयर उड्ने तयारीमा रहँदा बुद्ध एयर चिप्लिएको बताए।
जहाज दुर्घटना भएको आवाज सुनेपछि स्थानीयहरूले यात्रुको उद्धार गरेका थिए। दुर्घटनामा विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन्।
घाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ। अन्य ६ जना यात्रुहरू भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
जहाज दुर्घटनाको छानबिनका लागि गठित उच्चस्तरीय टोलीले जहाजको प्राविधिक अवस्था र दुर्घटनाको कारणबारे सूक्ष्म अनुसन्धान सुरु गरेको छ। टोली शनिवार दुर्घटनास्थल भद्रपुर पुगेको हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.