एजेन्सी – अमेरिकाले साना राष्ट्रहरूमाथि शक्तिको दादागिरी देखाएको आरोप लागेको छ। अमेरिकाले भेनेजुएलामा सैनिक आक्रमण गर्दै राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई गिरफ्तार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो घटनासँगै विश्वभर तरङ्ग फैलिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले एकैसाथ भेनेजुएलाका मुख्य चार स्थानमा आक्रमण गर्दै राष्ट्रपति मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको हो।लागूपदार्थसँग सम्बन्धित अपराध गरेको, अवैध हतियार लुकाएर अमेरिका विरुद्ध प्रयोग गर्ने षड्यन्त्र रचेको लगायतका आरोपमा अमेरिकाको ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डीईए) को फोर्सले उनीहरूलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई भेनेजुएलाबाहिर लगिएको भए पनि कहाँ लगिएको हो भन्नेबारे स्पष्ट पारिएको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पक्राउ परेका मादुरोविरुद्ध अमेरिकी अदालतमा मुद्दा चलाउने तयारी भइरहेको छ।
अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीका अनुसार न्यूयोर्कको दक्षिणी जिल्लामा राष्ट्रपति मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसविरुद्ध आरोपपत्र दायर गरिएको छ। उनीहरूविरुद्ध लागू औषध–आतङ्कवाद षड्यन्त्र, कोकेन तस्करी, मेसिन गन तथा खतरनाक हतियार राखेको लगायतका गम्भीर आरोप लगाइएको छ।
दुवै जनालाई चाँडै संयुक्त राज्य अमेरिका सुपुर्दगी गरिने अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय लागू औषध तस्करीमा संलग्न दुई जनालाई पक्राउ गर्ने अभियान सफलतापूर्वक सम्पन्न गरेको भन्दै बहादुर अमेरिकी सैनिकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।
मादुरो दम्पती पक्राउको विरोधमा अमेरिका तथा भेनेजुएलामा विरोधका स्वर उठ्न थालेका छन्। भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले देशको स्वतन्त्रता र सार्वभौमिकतामा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन्।
वर्तमान अवस्थालाई संवेदनशील भन्दै उनले नागरिकलाई संयमित र एकताबद्ध रहन आग्रह गरेका छन्। शत्रु पक्षले देशभित्र डर र अराजकता फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै उनले एक भएर सामना गर्नुपर्ने बताए।
भेनेजुयलाली जनता र सेनाले पूर्वजहरूले गरेको प्रतिज्ञाअनुसार मातृभूमिको रक्षा गर्न दृढतापूर्वक उभिने उल्लेख गर्दै उनले कुनै पनि प्रकारको आक्रमण वा आक्रामक गतिविधिको सशक्त प्रतिकार गरिने स्पष्ट पारे। भेनेजुएलाको संविधानअनुसार सशस्त्र सेनाका सबै अङ्गलाई पूर्ण रूपमा परिचालन गर्ने निर्णय गरिएको जानकारी पनि उनले दिएका छन्।
राष्ट्रपति मादुरोको गिरफ्तारीपछि भेनेजुएलाको भविष्य अनिश्चित बनेको छ। भेनेजुएलाको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यभार सम्हाल्ने व्यवस्था छ।
उपराष्ट्रपति रोड्रिगेजले सरकारलाई मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको हालको अवस्थाबारे कुनै जानकारी नभएको बताएकी छन्। यससँगै सरकारको भविष्यसमेत थप अनिश्चित बनेको छ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपालजस्ता साना देशले कुनै पनि वैदेशिक हस्तक्षेप र आक्रमणको समर्थन गर्नु आत्मघाती हुने टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले जुनसुकै निहुँमा भए पनि साना देशमाथिको आक्रमण निन्दनीय र अस्वीकार्य हुने उल्लेख गरेका छन्।
उनको विश्लेषणअनुसार साना र कमजोर देशहरूको स्वतन्त्रता, सम्प्रभुता र अखण्डताको सुरक्षा झन् चुनौतीपूर्ण बन्दै गएको छ। आन्तरिक विवाद कसरी बाह्य हस्तक्षेपको कारण बन्छ भन्ने ताजा उदाहरण भेनेजुएला प्रकरण भएको उनले बताएका छन्।
वरिष्ठ पत्रकार दाहालको विश्लेषण
तीन वर्ष अघि रुसले सानो छिमेकी राष्ट्र युक्रेनमाथि हमला गर्यो। त्यससमयमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले राष्ट्रवादका नाममा युरोपियन युनियनको सदस्यता लिन खोजेको हुनाले रुसले क्षेत्रीय सुरक्षा र रुसी स्वार्थरक्षार्थ गरेको आक्रमण भन्दै सही ठहर्याउने नेपाली कथित राजावादी र कम्युनिस्ट नामधारी घोर राष्ट्रवादीहरू निरन्तर सानो देश युक्रेन विरुद्ध खनिइरहेका थिए र पुटिनका पक्षमा कलम मुख सबै चलाई रहेका देखिन्थे।
युक्रेनमाथि रुसी हमला गलत हो भन्नेहरू जति सबैलाई उनीहरू अमेरिकी समर्थक भन्ने ट्याग लगाउने गर्थे। ठुला माछाले साना माछालाई खाने त्यो रुसी खेल अहिले अमेरिकी क्षेत्रमा दोहोरिएको छ।
अमेरिका जस्तै शक्तिशाली चीनले कुनै दिन ताइवान (यद्यपि विशाल चीनकै पूर्व हिस्सा भएपनि सन् १९४९ मा कम्युनिस्ट सत्ता विरुद्ध स्थापित र अहिले अमेरिकी संरक्षणमा रहेको) देखि कोरिया, जापान माथि यस्तै कारबाही गर्दैन भन्ने छैन।
रुस र अमेरिका, जस्तै गरी दक्षिण एसियाको ठूलो देश भारतले पनि छिमेकमा रहेका सानादेश विरुद्ध कुनै यस्तै निहुँमा कारबाही गर्दैन भन्ने हुँदैन। ठूला देशका स्वार्थ अन्तर्राष्ट्रिय प्रभुत्व जमाउने हुन्छ। अहिले ठूलो देशले सानो देशमाथि गरेको आक्रमणको शृङ्खला अमेरिका पुगेको छ।
दक्षिण अमेरिकी राज्य भेनेजुएलामा अमेरिकाले सैनिक कारबाही गर्दै राष्ट्रपति मदुरो र उहाँकी पत्नी समेतलाई पक्राउ गरेको छ। हिजो रुसी सैनिक आक्रमणको समर्थकहरू अब के भन्लान्? युक्रेन विरुद्ध निहुँ रुससँग जसरी थियो अमेरिकासँग पनि छ। मुदरो शासनले लागूपदार्थको कारोबार गरेको हुनाले कारबाही गर्नु बाध्यता भएको दाबी अमेरिकाको छ।
मुख्य कुरा हो नेपाल जस्ता साना देशले कुनै पनि वैदेशिक हस्तक्षेप र आक्रमणको समर्थन गर्नु आत्मघाती हुनेछ। जुनसुकै निहुँमा भएपनि साना देशमाथिको आक्रमण निन्दनीय छ र अस्वीकार्य हुन्छ।
साना र कमजोर देशको स्वतन्त्रता, सम्प्रभुता र अखण्डताको सुरक्षा चुनौतीपूर्ण हुँदैछ। आन्तरिक विवाद बाह्य हस्तक्षेपको कारण कसरी बन्छ भन्ने ताजा उदाहरण हो भेनेजुएला प्रकरण।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.