निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“फेसबुकमा लेखेर उम्मेदवारी फिर्ता हुँदैन”

“फेसबुकमा लेखेर उम्मेदवारी फिर्ता हुँदैन”

149
SHARES

काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले प्रत्यक्षतर्फका उम्मेदवारको नाम धमाधम सिफारिस गर्न थालेका छन्।

चुनाव हुँदैन भन्ने दाबी गर्दै आएका दलहरूले नै अहिले उत्साहका साथ निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारहरूको नाम भटाभट सिफारिस गरिरहेका छन्। यसले राजनीतिक दलहरू चुनावी तयारीमा पूर्ण रूपमा होमिएको सन्देश दिएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेले सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाको कानुनी सम्भावनासमेतलाई मध्यनजर गर्दै चुनाव भए हाले नभाग्ने सङ्केत दिन प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको विश्लेषण गरिएको छ।

चुनाव अनिश्चित रहेको भनिँदै आए पनि प्रत्यक्ष र समानुपातिक दुवै संरचनामा दलहरूको सक्रियताले निर्वाचन अपरिहार्य भएको सन्देश प्रवाह भएको छ।

जेनजी आन्दोलनलाई ‘हाहु’को संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि पनि झापाबाटै चुनाव लड्ने भएका छन्। एमाले झापा क्षेत्रीय समन्वय समितिको बैठकले झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको छ। ०७९ सालको निर्वाचनमा पनि ओली सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

एमाले जिल्ला कमिटीको बैठकले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई पनि एकल रूपमा सिफारिस गरेको छ। सुहाङ हालै सम्पन्न एमाले महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन्। उनका पिता संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि ०८० वैशाख १५ गते भएको उपनिर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका रहेको छ। सो समयसीमालाई लक्षित गरी विभिन्न दलहरूले अहिले क्षेत्रीय र जिल्ला तहबाट आफ्ना उम्मेदवारहरूको नाम सिफारिस गर्ने क्रम तीव्र बनाएका छन्।

चुनावकै तयारीस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार दिउँसो १ बजे बैठक बस्ने रास्वपाले जनाएको छ।

समानुपातिक उम्मेदवारी सूचीको मर्म र मान्यताविपरीत शक्ति, पैसा, पहुँच र पहिचान भएकाहरूलाई बढी समावेश गरिएको भन्दै असन्तुष्टि चर्किँदै गएपछि रास्वपाबाट उम्मेदवार सिफारिस भएका व्यक्तिहरूले धमाधम नाम फिर्ता लिन थालेका छन्।

संविधानले समानुपातिक निर्वाचन प्रणालीमार्फत सीमान्तकृत, पिछडिएका, उत्पीडित वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न खोजिएको भए पनि नयाँ दलहरूको सूचीमै भाइरल व्यक्ति, धनाढ्य र प्रभावशालीहरूको बाहुल्यता देखिएको आरोप लागेपछि पार्टी आलोचनाको केन्द्रमा परेको छ।

विरोध बढ्दै गएपछि दबाबमा परेका उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत नै नाम फिर्ता लिएको घोषणा गर्न थालेका हुन्। तर निर्वाचन आयोगले भने सामाजिक सञ्जालमा गरिएको नाम फिर्ताको घोषणा कानुनी रूपमा मान्य नहुने स्पष्ट पारेको छ।

विधिअनुसार नाम फिर्ता लिन उम्मेदवार स्वयं वा सम्बन्धित दलमार्फत आयोगमा औपचारिक निवेदन दिनुपर्ने आयोगले आग्रह गरेको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले सामाजिक सञ्जालमा गरिएको घोषणाको कुनै कानुनी अर्थ नहुने बताएका छन्।

कलाकार आसिफ साहले समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। उनले जनता र पार्टी कार्यकर्ताको भावना अनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन्। आफू काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा रहेको जानकारी पनि उनले दिएका छन्।

यसैगरी व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकालले पनि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले समानुपातिक निर्वाचन प्रणालीको मर्म, भावना र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन्।

यसअघि गायिका त्रिशला गुरुङले आफ्नो पेसागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्ने जनाउँदै उम्मेदवारी फिर्ता लिएकी थिइन्। पर्वतारोही टासी लाक्पा शेर्पाले पनि नाम फिर्ता लिन चाहेको बताएका छन्। आफ्नै कर्ममार्फत देशका लागि योगदान गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले उम्मेदवार सिफारिसबाट नाम फिर्ता लिन चाहेको बताएका छन्।

समानुपातिक सूचीमा विवाद चर्किएपछि पार्टी सभापति रवि लामिछानेले सूची सच्याउने बताएका थिए। सोहीअनुसार आयोगमा पेस गरिएको नामावलीमा क्लस्टर, समावेशिता र समानुपातिकको मर्म मिलेको छ कि छैन भन्ने बुझ्न दल र तिनका नेता आयोग पुग्ने क्रम बढेको छ।

दल स्वयं वा उम्मेदवार बनेको व्यक्तिले मात्र औपचारिक रूपमा नाम फिर्ता लिन सक्ने व्यवस्था रहेकाले केही समय पर्खिन दलहरूलाई आग्रह गरिएको आयोगको भनाइ छ। सहायक प्रवक्ता न्यौपानेले कानुनी प्रक्रिया पूरा नभएसम्म उम्मेदवारी यथावत् रहने स्पष्ट पारेका छन्।

समाचार शेयर गर्नुहोस्
149
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.