निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

निवासमै पुगेर ओलीसँग जेनजी आयोगले लियो बयान

निवासमै पुगेर ओलीसँग जेनजी आयोगले लियो बयान

166
SHARES

काठमाडौँ – भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ जाँचबुझ गर्न गठित आयोगले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनकै निवासमा पुगेर बयान लिएको छ। आयोगका पदाधिकारीहरू ओली निवासमै पुगेर लिखित बयान लिएका हुन्।

आयोगमा उपस्थित भई बयान नदिने अडान लिँदै आएका ओलीसँग अन्ततः आयोग स्वयं निवासमै पुगेर बयान लिएको हो। आयोग स्रोतका अनुसार ओलीले जाँचबुझ आयोगसमक्ष आफ्ना भनाइ र धारणा लिखित रूपमा प्रस्तुत गरेका छन्।

भदौ २३ र २४ गते युवा पुस्ताको अगुवाइमा भएको जेनजी आन्दोलन रोजगारी, शासन प्रणाली, राजनीतिक जबाफदेहिता र राज्य संयन्त्रप्रति असन्तोषको अभिव्यक्तिका रूपमा देशभर फैलिएको थियो।

काठमाडौँका विभिन्न स्थानमा भएको आन्दोलनमा सुरक्षाकर्मीको हस्तक्षेप, धरपकड र बल प्रयोग भएको भन्दै व्यापक आलोचना भयो। आन्दोलनकै क्रममा सरकारी दमन, मानवअधिकार उल्लङ्घन र राज्य संयन्त्रको भूमिकामाथि प्रश्न उठेपछि घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरिएको थियो।

जेनजी आन्दोलन उत्कर्षमा पुगेकै दिन भदौ २४ गते प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिएका थिए। आयोगले ओलीको स्टेटमेन्ट प्राप्त भइसकेको जानकारी दिएको छ। आयोगका अनुसार ओलीको बयानपछि अब उनको स्थानहद हटाइनेछ।

जाँचबुझ आयोगको कार्यक्षेत्र र अधिकारमाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएका ओलीले सिंहदरबारमा पुगेर आयोगसमक्ष बयान नदिने अडान लिएका थिए। आयोग भने पद, हैसियत वा स्थानको आधारमा छुट नदिने र जसरी पनि बयान लिने अडानमा थियो। यही तनावपूर्ण अवस्थाबीच आयोग ओली निवासमै पुगेर बयान लिन सफल भएको हो।

आयोगले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बयानका लागि पत्राचार गरिसकेको छ। यस्तै, जेनजी आन्दोलनका बेला तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकसँग आयोगले बयान लिइसकेको छ। बयानपछि लेखकविरुद्ध लगाइएको स्थानहद हटाइएको थियो।

राष्ट्रिय मानवअधिकार आयोगले पनि आइतबार नै एमाले अध्यक्ष ओलीलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको मानवअधिकार हनन र राज्य दमनका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले ओलीसँग विस्तृत बयान लिएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
166
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.