काठमाडौँ – विशेष महाधिवेशनको कचिङ्गल चर्किँदै गएपछि नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर विवाद उत्कर्षमा पुगेपछि पार्टी फुटसम्मको बहस हुन थालेको अवस्थामा मध्यमार्गी बाटो खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरिएको कांग्रेस स्रोतले जनाएको छ।
कांग्रेसले सोमबार दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बस्ने गरी आह्वान गरेको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी तीव्र पारेसँगै कांग्रेसभित्र तनाव थप बल्झिएको छ।
एकातिर विशेष महाधिवेशनको चटारो, अर्कोतिर संस्थापन पक्षको नियमित महाधिवेशनको कार्यतालिकाले पार्टीभित्र दुई स्पष्ट धार देखिएका छन्।
यसअघि शुक्रवार बसेको कार्यसम्पादन समितिको बैठकले १५ औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको थियो। तोकिएको समयमा महाधिवेशन नगरिएको भन्दै महामन्त्रीद्वयसहितका नेताहरूले उक्त निर्णयप्रति फरक मत राखेका थिए। यही फरक मत र कार्यतालिकाको टकरावले कांग्रेसमा आन्तरिक कचिङ्गल बढ्दै गएको हो।
महामन्त्रीहरूको विशेष महाधिवेशन र संस्थापनको नियमित महाधिवेशनका अलग–अलग कार्यतालिकाको प्रस्तावले पार्टीको तनाव झन् चुलिएको छ। विशेष महाधिवेशन गर्ने पक्षधरहरूले यही पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा हलसमेत बुक गराइसकेका छन् भने देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ बोलाइसकेका छन्।
महाधिवेशनका फरक–फरक मितिले निम्त्याएको कचिङ्गलपछि कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
कांग्रेस अहिले एकातिर फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा जुट्नुपर्ने, अर्कोतिर माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको रणनीति तय गर्नुपर्ने दबाबपूर्ण अवस्थामा छ। यही कारण पनि बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
सोमबारको बैठकमा माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
सभापति देउवाले पछिल्लो समय कार्यवाहक सभापति तथा निकट नेताहरूसँग पटक–पटक छलफल गर्दै आएका छन्। उनले आफूनिकट पदाधिकारी, पूर्व पदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूसँग निरन्तर संवाद गरिरहेका छन्।
आइतबारको छलफलपछि कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकालिएको भन्दै देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ नआउन अनुरोध गर्ने निर्णय गरिएको बताए।
यस्तै, माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनबारे नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायतका राजनीतिक दलसँग संवाद अगाडि बढाउने विषयमा पनि सभापति देउवाले नेताहरूसँग छलफल गरेका छन्।
आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि भेटवार्ता भएको छ। प्रचण्ड नयाँदिल्ली प्रस्थान गर्नुअघि च्यासलस्थित एक घरमा दुई नेताबीच भेटवार्ता भएको थियो।
भेटवार्तामा राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ। ओलीसँगको भेटलगत्तै प्रचण्ड भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.