निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

टी–२० विश्वकप ट्रफी नेपालमा, फोटो सुटका लागि पोखरा लगिने

टी–२० विश्वकप ट्रफी नेपालमा, फोटो सुटका लागि पोखरा लगिने

155
SHARES

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकपको ट्रफी सार्वजनिक गरेका छन्। ट्रफी टुर अन्तर्गत नेपाल आइपुगेको उक्त ट्रफी सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा सार्वजनिक गरिएको हो।

कार्यक्रममा राष्ट्रपति पौडेलसँगै पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, प्रशिक्षक स्टुआर्ट ल, महिला टोलीकी कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, प्रशिक्षक हर्षल पटेल तथा क्यान अध्यक्ष चतुरबहादुर चन्द सहभागी थिए।

ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन्। यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा राष्ट्रपति पौडेलले व्यक्त गरे।

उनले भने,“नेपाल आज खेल प्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ।”

आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक सङ्केत भएको उनको भनाई थियो।

नेपालमा विश्व कप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उनले धन्यवाद व्यक्त गरे। “नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस्, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलङ्कामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार ट्रफी मङ्गलवार बिहान पोखरामा फोटोसुट र स्थानीय आउटरिच कार्यक्रम हुनेछ। त्यसपछि मङ्गलवार नै काठमाडौं फिर्ता ल्याएर वसन्तपुरमा प्रदर्शनीमा राखिनेछ भने बुधवार बौद्धमा प्रदर्शन गरिनेछ।

समाचार शेयर गर्नुहोस्
155
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.