पर्सा – सामाजिक सञ्जाल टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित अभद्र टिप्पणीलाई लिएर मधेश प्रदेशको अवस्था अशान्त बनेको छ। घटनाको केन्द्र धनुषाको जनकपुर रहे पनि त्यसको असर पर्साको वीरगन्जसम्म फैलिँदा वीरगन्ज महानगरपालिका क्षेत्र तनावग्रस्त बनेको हो।
धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर मुस्लिम समुदायले प्रदर्शन गरेका थिए। उक्त घटनाप्रति असहमति जनाउँदै तथा हिन्दु देवीदेवतामाथि अभद्र र आपत्तिजनक टिप्पणी गरिएको भन्दै हिन्दुवादी सङ्गठनहरू पनि प्रदर्शनमा उत्रिएपछि वातावरण तनावपूर्ण बनेको थियो। आपसी प्रदर्शनका क्रममा धार्मिक आस्था र भावना जोडिएका विषय संवेदनशील बन्दै गएपछि प्रशासन सतर्क भएको थियो।
हिन्दुवादी सङ्गठनहरूले वीरगन्जमा प्रदर्शन गर्न थालेपछि अवस्था थप संवेदनशील बनेको थियो। यसबीच प्रदर्शन रोक्नका लागि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेदेखि महानगरका विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। तर निषेधाज्ञालाई बेवास्ता गर्दै प्रदर्शन जारी रहँदा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो।
सुरक्षा स्थिति थप जटिल नहोस् भन्ने उद्देश्यले पर्सा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। कर्फ्यु आदेश जारी भएयता अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी राजु कार्कीले जानकारी दिए। उनका अनुसार पर्सा प्रशासनले मङ्गलवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
निषेधाज्ञाका बीच पनि प्रदर्शन जारी रहेकाले सम्भावित थप दुर्घटना, हिंसा वा मानवीय क्षति हुन नदिन कर्फ्यु लगाउनु परेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
समस्याको समाधान र सामाजिक सद्भाव कायम राख्न मङ्गलवार बिहान साढे ८ बजे जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, मुस्लिम तथा हिन्दु समुदायका अगुवा र सुरक्षा निकायबीच सर्वपक्षीय बैठक आह्वान गरिएको उनले बताए।
धनुषामा पनि प्रदर्शन भएको छ। अवस्था भने हाल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डिएसपी गणेश बमले जानकारी दिए। मस्जिदमाथि आक्रमणमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र घटनामा संलग्न सबैमाथि कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए। टिकटकमा पोस्ट गर्ने दुई जना र मस्जिदमा आक्रमण गर्ने एक जना पक्राउ परेको उनले जानकारी दिए।
केही दिनअघि जनकपुरका हैदर अन्सारी र अमानत अन्सारी नाम गरेका दुई युवाले टिकटकमा हिन्दुस्तानको नाम उल्लेख गर्दै भिडियो पोस्ट गरेका थिए। उक्त भिडियो धार्मिक सहिष्णुतामा खलल पुग्न सक्ने प्रकृतिको भएको भन्दै स्थानीय अगुवा तथा समाजसेवीहरूले आपत्ति जनाएका थिए। यसपछि सामाजिक सञ्जालमा सुरु भएको विवाद सडक प्रदर्शनसम्म पुग्यो।
गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही घटनाले धार्मिक सद्भाव र सहिष्णुतामा खलल पुर्याएको विषयमा गम्भीर ध्यानाकर्षण जनाएका छन्। गृह मन्त्रालयमा नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा उनले सबै पक्षलाई संयम अपनाउन, आपसी सद्भाव कायम राख्न र सह–अस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गरेका छन्।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको धार्मिक सहिष्णुता र धार्मिक स्वतन्त्रताको हकप्रति मन्त्रालय सदैव सचेत रहेको र उच्च सम्मान व्यक्त गरेको जनाएको छ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेको हस्ताक्षरमा जारी विज्ञप्तिमा, जो–कोही व्यक्ति वा समूहले जहाँसुकै रहेर गरेका कानुनद्वारा वर्जित र दण्डनीय गतिविधि कानुनी दायरामा ल्याइने स्पष्ट गरिएको छ। साथै धार्मिक सद्भाव बिगार्ने कार्य नगर्न र नगराउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.