काठमाडौँ – समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बु चञ्चलाले देशमा बढ्दै गएको राजनीतिक अस्थिरता अन्त्य हुनुपर्ने बताएकी छन्। उनले मुलुकलाई ओरालोबाट उकालो तर्फ लैजान सबै जिम्मेवार वैकल्पिकहरूको विकल्प लिएर पार्टी अघि बढ्ने बताएकी छन्।
उनले आगामी निर्वाचनलाई केवल सत्ता परिवर्तनको प्रक्रिया मात्र नभई सभ्य समाज र राष्ट्रिय निर्माणतर्फको यात्राको रूपमा व्याख्या गरेकी छन्। “राणा शासनले जनतालाई मौन बनायो, पञ्चायतले अधिकार सीमित गर्यो, बहुदलीय प्रजातन्त्रले आशा दियो तर स्थायित्व दिन सकेन,” उनले लेखेकी छन्।
उनका अनुसार गणतन्त्र लोकतान्त्रिक आन्दोलनले राजतन्त्रको अन्त्य गरे पनि आज पनि देश भ्रष्टाचार, नातावाद र कृपावादको चपेटामा परेको छ। स्थानीय तहदेखि केन्द्रीय सत्तासम्म डरलाग्दो राजनीतिक विकृति मौलाउँदै गइरहेको उनले उल्लेख गरेकी छन्। “जहाँ इमानदार आवाज दबाइन्छ र सीमान्तकृत अल्पसङ्ख्यक समुदाय अझै किनारामा छन्,” उनले लेखेकी छन्।
पार्टीकी सचिव सञ्जीवनी लामा (सन्ध्या) ले देशको वर्तमान परिस्थिति नियाल्दा सबै नयाँ तथा पुराना दल गम्भीर रूपमा अघि बढ्नुपर्ने देखिएको बताएकी छन्।
आगामी निर्वाचनलाई मध्यनजर गर्दै समानुपातिक बन्दसूची नामावली तयार पार्दा पनि राज्यका मूलधारमै रहेका धनाढ्य, प्रतिष्ठित कलाकार र आफन्तवाद हाबी भइरहेकाले समानुपातिक अधिकारको दुरुपयोग भइरहेको उनको टिप्पणी छ।
उनले संविधानमा उल्लेखित सहभागिता र समावेशिताका धाराविपरीत कार्य भइरहनुले पुरानै दलहरूको कार्यशैलीलाई झल्काएको लेखेकी छन्। नयाँ र वैकल्पिक भनिएका शक्ति तथा पार्टीहरूले समेत राज्यबाट पछि पारिएका महिला, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, विपन्न वर्ग तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समानुपातिक सूचीमा जानाजान नराखिनुले “जुन जोगी आए पनि कानै चिरेको” जस्तो अनुभूति हुने उनले उल्लेख गरेकी छन्।
“जो आए पनि चित्र मात्र फरक हुन्छ, चरित्र सबैको शक्ति प्राप्तितर्फ नै देखिनुले समावेशिता केवल देखाउने हात्तीको दाँत जस्तै बनेको छ,” उनले भनिन्। “नत्र भने सबै नागरिकले समान रूपमा नागरिक अधिकार किन उपभोग गर्न सक्दैनन्?” भन्ने प्रश्न पनि उनले उठाएकी छन्।
समावेशी समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वराज अधिकारीले अब इतिहास दोहोर्याउने होइन, इतिहास सुधार्ने समय आएको बताएका छन्। “समावेशी समाजवादी पार्टी नेपाली जनताको पीडाबाट जन्मिएको आशा, न्याय र समानताको राजनीति हो,” उनले भने।
उनका अनुसार पछाडि पारिएका समुदाय, दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सबैको समान प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता नै पार्टीको मूल आधार हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.