निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पुराना दल चुनावी मोर्चाबन्दीमा, कांग्रेसभित्र ‘मुर्दावाद’को नारा

पुराना दल चुनावी मोर्चाबन्दीमा, कांग्रेसभित्र ‘मुर्दावाद’को नारा

136
SHARES

काठमाडौं – जेनजी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक कोर्सले मुलुकको राजनीति फेरि ध्रुवीकरणतर्फ उन्मुख भएको छ। नयाँ दलप्रति मतदाता झुम्मिन थालेपछि कुनै समय एक–अर्काविरुद्ध कित्ताकाटमा उत्रिएका पुराना राजनीतिक दलहरू फेरि एकै ठाउँमा जुट्न थालेका हुन्।

माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नयाँ दलहरूको चुनौती सामना गर्न पुराना दलहरू मोर्चाबन्दी गरेर जाने सहमतिमा पुगेका छन्। त्यसैअनुसार राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय पुराना दलहरूबीच भएको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ता हुँदैछ। राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसले एमालेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग समेत चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ। उक्त तालमेलअनुसार दलहरूबीच सिट बाँडफाँटसमेत गरिएको छ।

मोटामोटी सहमतिअनुसार काँग्रेस र एमालेले ७/७ वटा सिट पाउनेछन् भने नेकपालाई ३ वटा सिट दिने सहमति भइसकेको छ। तर, काँग्रेसले पाउने ७ सिटमध्ये शेखर कोइराला समूहले ३ सिट मागेपछि पार्टीभित्र थप दबाब बढेको छ। काँग्रेसभित्रको तनाव यही विषयमै मात्र सीमित भने छैन।

विशेष महाधिवेशनको मागले काँग्रेसभित्रै सभापति शेरबहादुर देउवा पक्षधर नेताविरुद्ध ‘मुर्दावाद’को नारा लागेको छ। विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालनसमेत गर्नु परेको थियो।

राष्ट्रिय सभा उम्मेदवार टुङ्गो लगाउन मङ्गलवार दिउँसो सानेपामा सुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तनावपूर्ण रह्यो। बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो।

बैठकमा प्रवेश गर्न नदिइएपछि आक्रोशित बनेका निधिले कार्यकर्ताहरूलाई हप्काउँदै सभ्य भाषा प्रयोग गर्न चेतावनी दिएका थिए।

उम्मेदवार टुङ्गो लगाएरै छाड्ने निचोडमा पुगेको काँग्रेसभित्र थप विवाद उत्पन्न भएपछि बुधवार बिहान ९ बजे पुनः बैठक बस्ने गरी बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

एमालेको चुनावी कमान्डरमा ‘बादल’

नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र लेख्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। मङ्गलवार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा ६ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

बैठकले निर्वाचनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डरको जिम्मेवारी दिएको छ। एघारौँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित विष्णु रिमाललाई ओलीले नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा चयन गरेका छन्।

आफूविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेललाई हटाउँदै ओलीले आफ्ना विश्वासपात्र रिमाललाई घोषणापत्र मस्यौदा समिति तथा निर्वाचन परिचालन कमिटीमा पनि समावेश गरेका छन्।

राष्ट्रिय सभा निर्वाचनका लागि तालमेल गर्न काँग्रेससँग निरन्तर संवादमा रहेको एमालेले ७ सिटमा दाबी गरेको छ। सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव भट्टले राष्ट्रिय सभाका लागि हरेक प्रदेशमा एक–एक जना पर्ने गरी ७ सिट माग गरिएको जानकारी दिए।

एमाले केन्द्रीय कमिटीको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्।

कतिपय जिल्लाबाट एकल उम्मेदवारको सिफारिस भएको छ भने केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम केन्द्रमा पठाएका छन्। दोलखासहितका कतिपय जिल्लामा उम्मेदवार सिफारिसमा सहमति नजुट्दा तनावसमेत उत्पन्न भएको छ। सर्वसम्मति हुन नसकेपछि केही जिल्लाले एकभन्दा बढी आकाङ्क्षीको नाम सिफारिस गरेका छन्।

ताप्लेजुङबाट एमाले उपमहासचिव योगेशकुमार भट्टराईसहित पाँच जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ। सिफारिस हुनेमा भट्टराईसँगै तिलकुमार मेन्याङ्बो, क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भीमादेवी ओझा रहेका छन्।

उपमहासचिव भट्टराईले इच्छुक उम्मेदवारको नाम सिफारिस हुनु स्वाभाविक भएकाले यसलाई ठुलो रूपमा नलिएको प्रतिक्रिया दिए।

हालसम्म एमालेले २६ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस गरिसकेको छ। एकल उम्मेदवारी सिफारिस हुनेमा अध्यक्ष केपी शर्मा ओलीदेखि नेता गोकुल बास्कोटासम्म रहेका छन्।

अन्य केही निर्वाचन क्षेत्र र जिल्लामा पनि सर्वसम्मत एकल नाम चयन भइसकेको छ भने कतिपय स्थानमा उम्मेदवार छनोट प्रक्रिया जारी रहेको छ।

मङ्गलवार मात्रै अर्घाखाँचीबाट फागुन २१ गतेको चुनावका लागि एमालेबाट पाँच जनाको नाम सिफारिस भएको छ। सिफारिस सूचीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका नेता टोपबहादुर रायमाझी पनि परेका छन्।

रायमाझीसँगै पीताम्बर भुसाल, बोमबहादुर विश्वकर्मा, बिजुला रायमाझी सिफारिस भएका छन्। सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाइने एमालेले जनाएको छ।

नेकपाले केन्द्रीय कमिटी घोषणा गर्ने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने भएको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले मङ्गलवार बोलाएको परामर्श बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने सहमति गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झलनाथ खनालले पुस २९ गते केन्द्रीय कमिटी घोषणा हुने र सोही दिन शपथग्रहणसमेत हुने जानकारी दिए। बैठकले केन्द्रीय कमिटीभित्रका संरचनाहरू निर्माण गर्ने निर्णय पनि गरेको छ।

राष्ट्रिय सभामा पनि सबैको सहमतिअनुसार अघि बढ्ने प्रयास गर्ने खनालले बताए। प्रतिनिधि सभा सदस्य निर्वाचनबारे आवश्यक तयारी बाँकी रहेकाले पुनः बैठक बसेर थप छलफल गर्ने तयारी रहेको उनको भनाइ छ।

समाचार शेयर गर्नुहोस्
136
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.