"/>
काठमाडौँ – १२ वर्ष नेपाल प्रहरीको जागिरे जीवन बिताएका रमिना हुसेना (राज)ले स्वैच्छिक अवकाश लिए। बिशेषगरी आफ्नो इच्छाअनुसार सैलुन खोल्ने निर्णय उनले त्यसपछि गरे। सानैदेखि कपाल काट्ने रहर थियो उनका लागि।
पार्टनरसँगको सम्बन्धलाई घरपरिवारले स्वीकार नगरेपछि उनीविरुद्ध मुद्दा हालियो। अपहरणसम्बन्धी मुद्दा परेपछि राज निलम्बनमा समेत परे। तर पछि मुद्दा जितेर पुनर्बहाली भए। उक्त मुद्दा जित्न ब्लु डायमन्ड सोसाइटीले मुख्य भूमिका निर्वाह गरेको राजले बताएका थिए।
ब्लु डायमन्ड सोसाइटीलाई कहिल्यै बिर्सन नसक्ने भन्दै सात वर्षअघि काठमाडौँको महाराजगन्जमा खोलेको सैलुनको उद्घाटन कार्यक्रममा उनले आफ्नो पहिचान सार्वजनिक गरेका थिए।
आफू ट्रान्सजेण्डर मेल भएको उनले बताएका थिए। धेरै तरिकाले चिनाउने गरिन्छ, कसैले टमब्वाइ भन्छन्, तर म आफैँलाई चिनाउँदा तेस्रोलिंगी पुरुष भनेर चिनाउँछु, उनले भनेका थिए।
नेपाल प्रहरीमा रहँदा राजलाई बाँच्न पुग्ने धेरै सुविधा थिए। सुविधा भन्दा पनि आफ्नो मनको इच्छाअनुसार काम गर्न चाहनु ठुलो रहेछ भन्दै यही कारण प्रहरीको पेसा छोडेर सैलुन व्यवसाय रोजेको उनको भनाइ थियो।
उनले दुई महिना हेयर कटिङसम्बन्धी तालिम पनि लिएका थिए। सैलुनको नाम नै उनले ‘टम ब्वाइ’ राखे। टमब्वाइ भनेको फरक मान्छे हो भनेर सबैले चिन्नुहुन्छ, मेरो कम्युनिटीका साथीहरूका लागि खोलेको सैलुन हो, अरू यौनिकता भएका मान्छेहरू पनि सामान्य रूपमा आउँछन्, उनले बताएका थिए।
अन्य सैलुनमा जाँदा केटाले मात्रै कपाल काट्ने भएकाले धेरैले खुलेर भन्न नसक्ने अवस्थामा आफूले सहज वातावरण दिएको उनको दाबी थियो। विशेषगरी बस्न, बोल्न, कुरा गर्नदेखि लिएर सेवा लिनसम्म यहाँ सजिलो छ उनले भनेका थिए।
ब्लु डायमन्ड सोसाइटी र महाराजगन्ज प्रहरी वृत्तबाट सहयोग पाएको पनि उनले बताएका थिए। बजार प्रतिस्पर्धाका कारण सैलुन राम्रोसँग चलाउने चुनौती रहेको, पसल नै नचलेर भाडा तिर्न नसकिएला कि भन्ने डर भएको प्रसङ्ग समेत उनले सुनाएका थिए। साथीहरूको सहयोगले भाडा तिर्ने पैसा उठ्छ, पसल चलेपछि भाडा तिर्नसँगै भात खान पाइन्छ भन्ने ठुलो आशा व्यक्त गरेका थिए।
आफू सधैँ काममा विश्वास गर्ने मान्छे भएको, दालभात खाएर सामान्य जीवन बाँच्न सकिन्छ भन्ने विश्वास रहेको उनले बताएका थिए। फरक यौनिकता भए पनि नेपाल प्रहरीबाट कहिल्यै आरोप, लाञ्छना वा दुर्व्यवहार नभएको उनको भनाइ थियो। नेपाल प्रहरीले सधैँ सहयोग गर्यो, प्रहरीमा रहँदा पनि खुलेर आफ्नो यौनिकता बताउँदा समर्थन पाएको उनले भनेका थिए।
आफूजस्तै फरक यौनिकता भएका व्यक्तिहरू जागिर खोज्न जाँदा यौनिकताकै कारण धेरै ठाउँमा वञ्चित हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै, त्यसभन्दा राम्रो आफ्नै मनले चाहेको, गर्न सकिने, सीपमूलक काम गर्नु नै उचित देखिने धारणा उनले राखेका थिए।
कानुन बने पहिलो विवाह गर्ने इच्छा रहेको उनले आजभन्दा सात वर्षअघि व्यक्त गरेका थिए। हाल उनी ब्लु डायमन्ड सोसाइटीका कोषाध्यक्ष छन्। यही बेला संस्थागत रूपमा मुद्दा लड्ने जिम्मेवारी उनैले पाएका छन् वा भनौँ उनलाई अघि सारेर मुद्दाको टाँसो लगाइएको देखिएको छ।
मनिषाका ‘विवादास्पद गतिविधि’माथि न्यायिक परीक्षणको प्रतीक्षा
नेपाल प्रहरीमा इमानदारीपूर्वक सेवा गरेर स्वैच्छिक अवकाश लिएको छवि बनाएका राजको अनुहारमा अनियमितताको कालो धब्बा लगाउने पात्रको रूपमा ब्लु डायमन्ड सोसाइटीकी कार्यकारी निर्देशक सुबेन ढकाल (मनिषा)ले उनलाई नै अगाडि सारेको तथ्य बाहिर आएको छ।
साधारण सभा, वार्षिक लेखापरीक्षण, बैठकका निर्णय, कर्मचारी नियुक्ति, बर्खास्त, पारिश्रमिक तथा दातृ निकायसँग भएका सम्झौताका विवरण माग गरिँदा ती विवरण सार्वजनिक गर्नुको सट्टा मनिषाले राजलाई अगाडि सारेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको पाइएको छ।
सुनिल बाबु पन्त नेतृत्वमा रहँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई खुलेर अधिकार माग्न प्रेरित गर्ने संस्थाको कोषाध्यक्ष बनेका राजकाे समेत मनिषाको लहैलहैमा गोपनीयता भङ्ग भएको पत्र मुद्दामा समावेश गरेको देखिएको छ।
हिजो आफूलाई तेस्रोलिंगी पुरुष भन्दै सैलुन सञ्चालन गरेका राजले आज सोसाइटीको कोषाध्यक्ष पद जोगाउन आफ्नो इमान नै दाउमा राखेको आरोप लागेको छ। राष्ट्रिय सूचना आयोगजस्तो संवैधानिक निकायलाई सूचना उपलब्ध गराउनु पर्नेमा उल्टै उजुरीकर्ताविरुद्ध मुद्दा दायर गर्ने मनिषाको कदममा उनले साथ दिएका छन्।
राजसँगै अर्का एक व्यक्तिले पनि गोपनीयताको प्रश्न उठाउँदै अनियमितता लुकाउने मनिषाको योजनाको साक्षी बन्न निवेदन दिएको पाइएको छ। आफूलाई तेस्रोलिंगी महिला बताउने भिडियो सार्वजनिक गरेकी सुजाता चौधरीले समेत गोपनीयता भङ्ग भएको भन्दै दिएको निवेदन अदालतमा पुगेको छ।
ब्लु डायमन्ड सोसाइटीले नै सार्वजनिक गरेको भिडियोमा अहिले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि काम गर्ने धेरै संस्थाहरू फन्डिङ अभावमा बन्द हुने अवस्था आएको, धेरै परियोजना कटौती भएको र त्यसको असर समुदायका व्यक्तिहरू सडकमा उभिएर सेक्सवर्क गर्न बाध्य हुनुपरेको उल्लेख गरिएको छ। समानता सबैका लागि हुनुपर्ने बताउने सुजाता पनि मनिषाको अनियमितता लुकाउने जालमा फसेको देखिएको छ।
मनिषाको दबाबमा राज र सुजाताले नुमा लिम्बु चञ्चलामाथि गोपनीयता भङ्ग गरेको आरोप लगाएका छन्। तेस्रोलिंगी अधिकारकर्मीमाथि नै मुद्दा दायर गरेर संस्थालाई दाउमा राख्दै आफ्ना अनियमित काम छोप्न खोजिएको आरोप समुदायका सदस्यहरूले लगाएका छन्।

नेपाल प्रहरीबाट अवकाश लिएका राजलाई पारदर्शिता र जबाफदेहिताबाट टाढिँदै गएको सोसाइटीमा कोषाध्यक्षको जिम्मेवारी दिनु नै शङ्कास्पद भएको समुदायका सदस्यहरूको आरोप छ। उनीहरूको भनाइमा आर्थिक पारदर्शिता, संस्थागत जबाफदेहिता र आन्तरिक अनुगमन प्रश्नको घेरामा परिरहेको अवस्थामा प्रहरी पृष्ठभूमिका व्यक्तिलाई आर्थिक पहुँच हुने पदमा नियुक्त गर्नु सामान्य संयोग नभई अनियमितता ढाकछोप गर्न चालिएको योजनाबद्ध कदम हुन सक्ने आशङ्का छ।
समुदायका सदस्यहरूका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँ, जिल्ला प्रहरी परिसर काठमाडौँ तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सोसाइटीकी तत्कालीन अध्यक्ष संजिव गुरुङ (पिंकी) र कार्यकारी निर्देशक मनिषाविरुद्ध दर्ता गरिएका उजुरीहरू लामो समयदेखि कार्यान्वयनको चरणमा नपुग्नुमा पनि प्रहरीका पूर्वकर्मचारी राजको भूमिकालाई शङ्कास्पद रूपमा हेरिएको छ।
उजुरीहरूलाई कमजोर बनाउने, प्रक्रियागत रूपमा अल्झाउने वा संस्थागत दबाबमार्फत निष्क्रिय बनाउने प्रयासमा उनको पहुँच र अनुभव प्रयोग भएको हुन सक्ने आशङ्का समुदायका सदस्यहरूले व्यक्त गरेका छन्।
उनीहरू भन्छन्, प्रहरी सेवाबाट अवकाशपछि पनि कानुनी प्रणाली, प्रशासनिक संरचना र राज्य निकायसँगको पहुँच कायम रहने व्यक्तिलाई सोसाइटीको कोषाध्यक्ष बनाइनु आफैँमा प्रश्न उठाउने विषय हो। विशेषतः आर्थिक गतिविधि, कोष परिचालन र निर्णय प्रक्रियामा पारदर्शिता नदेखिएको अवस्थामा यस्तो नियुक्तिले अनियमिततामाथि छानबिनलाई कमजोर बनाउने, उजुरी प्रक्रियालाई प्रभावहीन बनाउने र नेतृत्वमाथि उठेका आरोपहरूबाट ध्यान मोड्ने नियत रहेको हुन सक्ने समुदायको दाबी छ।
सोसाइटीभित्र देखिँदै आएका संरचनागत कमजोरी, जबाफदेहिताको अभाव र विवादास्पद नियुक्तिका कारण संस्थाभित्रका अनियमितता ढाकछोप गर्न सत्ता, पहुँच र पहिचानको दुरुपयोग भइरहेको हो कि भन्ने गम्भीर प्रश्नहरू उठिरहेका छन्।
राज र सुजाता दुवै खुलेर पहिचान सार्वजनिक गरेका तेस्रोलिंगी हुन्। तर मनिषाले उनै दुई व्यक्तिबाट गोपनीयता भङ्ग भएको आरोपसम्बन्धी निवेदन कार्यालयमा दर्ता गराई, त्यही निवेदनको प्रतिलिपिलाई उच्च अदालत पाटनमा दायर गरिएको मुद्दामा समर्थन कागजात (सपोर्टिङ डकुमेन्ट)का रूपमा प्रयोग गरेको पाइएको छ।
आफ्नो अनियमितता लुकाउन तत्कालीन अध्यक्ष संजीव गुरुङ ‘पिंकी’ले जस्तै कार्यकारी निर्देशक मनिषाले पनि फेक डकुमेन्ट तयार गरी मुद्दा दायर गरेको आरोप लागेको छ। सोही फेक निवेदनको आधारमा नुमा लिम्बुविरुद्ध दायर गरिएको मनिषाको मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा छ।
पहिचानले यो विषयमा राजसँग सम्पर्क गरेको थियो। ब्लु डायमन्ड राष्ट्रिय सूचना आयोगविरुद्ध मुद्दा लिएर उच्च अदालत पाटन जानुको कारण के हो? भन्ने प्रश्नमा राजले ‘तपाईँ सम्बन्धित व्यक्ति हो?’ भन्दै प्रतिप्रश्न गरे। पत्रकार हो भन्ने जवाफ दिने बित्तिकै उनले ‘सम्बन्धित व्यक्ति होइन भने सरी’ भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे।
समुदायलाई भ्रममा पार्ने ब्लु डायमन्डको चाल: भ्रष्टाचार लुकाउन अदालतको सहारा
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.