काठमाडौँ – प्रतीक्षा चापागाईँ समलिङ्गी तथा दृष्टिविहीन महिला हुन्। उनी समावेशी समाजवादी पार्टीकी प्रवक्ता पनि हुन्। उनले समावेशी समाजवादी पार्टीको सिद्धान्त सहभागितामूलक लोकतन्त्रमा आधारित रहेको बताइन्।
पार्टीको सिद्धान्त एउटा व्यक्तिलाई छानेर सबै निर्णय गराउने प्रतिनिधिमूलक लोकतन्त्रमा आधारित नभई सामूहिक सहभागिता र साझा नेतृत्वमा आधारित रहेको उनको भनाइ छ।
‘एक जना व्यक्तिले सबैको नेतृत्व गरेर गर्ने निर्णय फेयर हुँदैन,’ उनले भनिन्, ‘सहभागितामूलक लोकतन्त्रमा गाउँदेखि वडा तहसम्मका जनताको प्रत्यक्ष सहभागिता निर्णय प्रक्रियामा हुन्छ।’
उनका अनुसार यस्तो प्रणालीले शासन प्रक्रियामा सबै वर्ग, समुदाय, क्षमता र पहिचानका मानिसलाई समेट्ने समावेशी लोकतन्त्र सुनिश्चित गर्छ।
सहभागितामूलक लोकतन्त्रमा सेवा, सुविधा र अधिकारको विकेन्द्रीकरण हुने उनले बताइन्। निर्णय प्रक्रियामा सबैको सहभागिता रहने भएकाले बजेट विनियोजन र कर सङ्कलन समेत गाउँपालिका र वडा तहसम्म हुने उनको भनाइ छ। यसले स्थानीय आवश्यकता, प्राथमिकता र वास्तविकतालाई केन्द्रमा राखेर विकास प्रक्रिया अघि बढ्ने उनको तर्क छ।
प्रवक्ता चापागाईँले असमावेशी बजेट विनियोजन प्रणालीकै कारण देश विकासमा धेरै बाधा पुगेको बताइन्। ‘अहिले कर सिंहदरबारमा सङ्कलन हुन्छ र बजेट पनि सिंहदरबारबाटै विनियोजन हुन्छ,’ उनले भनिन्, ‘यस्तो असमान बजेट विनियोजनले देशको समावेशी विकासमा गम्भीर समस्या सिर्जना गरेको छ।’ प्रतिनिधिमूलक लोकतन्त्रको अभ्यासमा यही समस्या देखिएको उनले उल्लेख गरिन्।
समावेशी समाजवादी पार्टीले स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म स्रोतको बाँडफाँड गर्ने नयाँ योजना अघि सारेको उनले जानकारी दिइन्। उनका अनुसार सिंहदरबारमा जम्मा १० प्रतिशत मात्रै कर सङ्कलन गर्ने व्यवस्था गरिनुपर्छ। ‘सिंहदरबारले बाह्य सम्बन्ध व्यवस्थापन, विदेशी पाहुनाको स्वागत र मुद्रा छाप्ने जस्ता केन्द्रीय काम गर्छ,’ उनले भनिन्, ‘त्यसका लागि १० प्रतिशत कर सिंहदरबारमा जम्मा हुने व्यवस्था गर्न सकिन्छ।’
प्रवक्ता चापागाईँका अनुसार कुल बजेटको ६५ प्रतिशत वडा तहको विकासमा खर्च गर्नुपर्छ। सडक, विद्यालय, स्वच्छ पानी, जलवायु न्याय (क्लाइमेट जस्टिस) जस्ता आधारभूत आवश्यकता पूरा गर्न ६५ प्रतिशत बजेट वडा तहमा पुर्याउनुपर्ने उनले बताइन्। यसले स्थानीय तहमा प्रत्यक्ष रूपमा जीवनस्तर सुधार हुने उनको भनाइ छ।
त्यसैगरी कुल बजेटको २५ प्रतिशत प्रदेशको विकासमा विनियोजन गर्न सकिने उनले उल्लेख गरिन्। उनका अनुसार समावेशी समाजवादी पार्टी आफैँमा वैचारिक र संरचनागत रूपमा युनिक पार्टी हो, जसले समावेशिता, समानता र न्यायलाई केन्द्रमा राख्छ।
प्रवक्ता चापागाईँले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समावेशी समाजवादी पार्टीलाई भोट दिन पनि आग्रह गरिन्। ‘यसले देशलाई न्याय दिन्छ,’ उनले भनिन्, ‘प्रकृति, प्रविधि र समाजका सबै वर्गलाई न्याय सुनिश्चित गर्छ।’
उनका अनुसार समानुपातिक प्रणालीमा देशभरबाट र प्रत्यक्ष प्रणालीमा पनि केही निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार हुनेछन्। उनले प्रत्यक्षतर्फका उम्मेदवारलाई समेत भोट दिन मतदातासँग आग्रह गरिन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.