काठमाडौं – सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नेपाल प्रहरीको नीति विपरीत कार्य गरेको आरोपमा ५ सय ९९ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्।
आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालमा संगठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, गैरव्यावसायिक तथा अमर्यादित सामग्री पोस्ट गर्ने तथा प्रहरी पोसाकको दुरुपयोग गर्ने प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही गरिएको नेपाल प्रहरीले जनाएको छ।
कारबाही पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक १ जना, प्रहरी वरिष्ठ उपरीक्षक १ जना, प्रहरी उपरीक्षक ४ जना, प्रहरी नायब उपरीक्षक ५ जना, प्रहरी निरीक्षक २४ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ११ जना, प्रहरी नायब निरीक्षक २४ जना, प्रहरी सहायक निरीक्षक ५१ जना, प्रहरी वरिष्ठ हवलदार ७ जना, प्रहरी हवलदार ३५ जना, सहायक हवलदार ७६ जना, प्रहरी जवान ३ सय ५८ जना तथा प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन्। सबैभन्दा बढी ३ सय ५८ जना प्रहरी जवान कारबाहीमा परेका छन्।
उनीहरूलाई सङ्गठनको नीति विपरीत कार्य गरेको ठहर गर्दै सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मका कारबाही गरिएको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन २०७१/०९/११ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोगसम्बन्धी निर्देशिका लागू गर्दै आएको छ। साथै नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश–२०७७ तथा प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा जारी गरिएका परिपत्रहरूमा समेत सामाजिक सञ्जाल प्रयोगका स्पष्ट मापदण्ड तोकिएका छन्।
नियमअनुसार प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा हातहतियार, पोसाक, सवारी साधन तथा प्रहरी गतिविधिसम्बन्धी गैरव्यावसायिक र अमर्यादित आचरण झल्किने भिडियो वा फोटो अपलोड, शेयर तथा टिप्पणी गर्न पाउँदैनन्। यसैगरी गोपनीयता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने कुनै पनि सामग्री पोस्ट, शेयर, लाइक वा टिप्पणी गर्न पनि निषेध गरिएको छ।
पछिल्लो समय नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीतका सामग्री हटाउने तथा त्यस्ता गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने कार्यलाई तीव्र बनाएको जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.