काठमाडौं – राष्ट्रिय सभामा रिक्त १८ पदका लागि ४४ जनाको उम्मेदवारी दर्ता भएको छ। बिहान १० देखि दिउँसो ३ बजेसम्मको समयमा विभिन्न कलस्टरबाट ४४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपाले गठबन्धन गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपा एक्लै भिडेको छ। एक्लै भिडेको नेकपाले १७ जनालाई उम्मेदवार बनाएको छ।
गठबन्धन गरेका कांग्रेसले ८, नेकपा एमालेले ८ र जनता समाजवादी पार्टीले ३ जनालाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय जनमोर्चाले ३, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १ र नेपाल मजदुर किसान पार्टीले दुई जनाको उम्मेदवारी दर्ता गराएका छन्।
अघिल्लो चुनावमा तत्कालीन माओवादीसँग चुनावी गठबन्धन गरेको कांग्रेसले यो पटक राष्ट्रिय सभा चुनावमा भने नेकपा एमालेसँग अङ्कमाल गरेको छ।
गत चुनावमा माओवादीको झन्डा बोकेर भोट मागेका कांग्रेस कार्यकर्ताले माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावमा एमालेको झन्डा बोक्ने अवसर पार्टी नेतृत्वले दिएको छ। जसको कांग्रेस भित्र तीव्र विरोध भएको छ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मात्रै तालमेल गरिएकोमा आपत्ति जनाएका छन्।
बुद्धिजीविहरुसँगको छलफलका क्रममा उनले मङ्गलवारको बैठकमा जेनजी आन्दोलनपछि लोकतन्त्र जोगाउन सबै दल मिलेर अघि बढ्ने भनिए पनि नेकपाले एक सिट बढी माग्दा उसलाई एक्लाएको भन्दै आपत्ति जनाए।
उम्मेदवार छनौटमा संस्थापन पक्षले गरेको एकलौटीतर्फ लक्षित गर्दै महामन्त्री थापाले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताए। यसअघिका चुनावमा पनि एक पछि अर्को सत्तासमिकरण गर्दा जेनजी पुस्ताको आन्दोलनले त्यसलाई अस्वीकार गरेको थापाको तर्क छ।
कोशी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीबाट नमिता न्यौपाने महिलामा, दलितमा खेमराज नेपालीको मनोनयन दर्ता भएको छ। नेकपा एमालेबाट महिलामा रोश्नी मेचे र दलितमा सोमनाथ पोर्तेलको उम्मेदवारी दर्ता भएको छ।
कोशी प्रदेशमा अन्य समूहमा नेपाली कांग्रेसका सुनिल बहादुर थापाको एकल उम्मेदवारी दर्ता भएको छ।
मधेश प्रदेशमा महिला समूहमा जनता समाजवादी पार्टी नेपालबाट चन्द्रकला देवी साह, दलित समूहमा चमेली देवी दास र अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट शैलेश कुमार चौधरीको उम्मेदवारी दर्ता भएको छ।
अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। महिला समूहमा नेकपा एमालेबाट रेखा कुमारी झाको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसबाट अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट रञ्जित कर्णको उम्मेदवारी परेको छ।
नेपाली कम्युनिस्ट पार्टीबाट महिला समूहमा शमी कुमारी अग्रवाल, दलित समूहमा शम्भु पासवान हजारी, अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायमा रामनन्दन प्रसाद र अन्य समूहमा लक्ष्मण पौडेलको उम्मेदवारी परेको छ।
बागमती प्रदेशको महिला समूहमा नेपाल मजदुर किसान पार्टीका कविता महर्जन र अन्य समूहमा विक्रम ढुकुछुको मनोनयन पत्र दर्ता भएको छ।
नेपाली कांग्रेसबाट महिला समूहमा गिता देवकोटा र अन्य समूहमा नेकपा एमालेबाट प्रेम प्रसाद दंगालको उम्मेदवारी दर्ता भएको छ। नेपाली कम्युनिस्ट पार्टीबाट महिला समूहमा सरोज कुमारी झा र अन्य समूहमा प्रेम प्रसाद सापकोटाको मनोनयन दर्ता भएको छ।
गण्डकी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीबाट महिला समूहमा गोमा लुइँटेल घिमिरे र अन्य समूहमा कपिल लामाको उम्मेदवारी परेको छ। राष्ट्रिय जनमोर्चाबाट महिला समूहमा लक्ष्मी बास्कोटा र अन्य समूहमा शंकरप्रसाद बरालको उम्मेदवारी परेको छ। महिला समूहमा नेकपा एमालेबाट सम्झना देवकोटा र अन्य समूहमा नेपाली कांग्रेसबाट जगत तिमिल्सिनाको उम्मेदवारी दर्ता भएको छ।
लुम्बिनी प्रदेशको महिला समूहमा नेपाली कम्युनिस्ट पार्टीबाट दुर्गा कुमारी भण्डारी, राष्ट्रिय जनमोर्चाबाट पद्मा पण्डित र नेकपा एमालेबाट राम कुमारी झाँक्रीको उम्मेदवारी परेको छ।
अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहमा नेपाली कांग्रेसबाट वासुदेव घिमिरे र नेपाली कम्युनिस्ट पार्टीबाट सर्जन वि.क.को उम्मेदवारी परेको छ।
अन्य समूहमा नेपाली कांग्रेसबाट चन्द्र बहादुर के.सी., राष्ट्रिय जनमोर्चाबाट वोम बहादुर खत्री र नेपाली कम्युनिस्ट पार्टीबाट वृहस्पति अधिकारीको उम्मेदवारी परेको छ।
कर्णाली प्रदेशको महिला समूहमा नेपाली कम्युनिस्ट पार्टीबाट अन्जु महतारा र नेकपा एमालेबाट मिनासिंह रखालको उम्मेदवारी परेको छ। अन्य समूहमा नेपाली कांग्रेसबाट ललित जङ्ग शाही र नेपाली कम्युनिस्ट पार्टीबाट बुद्धि प्रसाद शर्माको मनोनयन दर्ता भएको छ।
सुदूरपश्चिम प्रदेशको महिला समूहमा नेकपा एमालेबाट लीला कुमारी भण्डारी र नेपाली कम्युनिस्ट पार्टीबाट रोजी बस्नेतको मनोनयन दर्ता भएको छ। अन्य समूहमा नेपाली कांग्रेसबाट खम्म बहादुर खाती र नेपाली कम्युनिस्ट पार्टीबाट टिकाराम जौशीको मनोनयन दर्ता भएको छ।
निर्वाचन आयोगका अनुसार बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। यही पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि १९ सदस्यको पद रिक्त हुँदैछ। १९ मध्ये एक सदस्य भने मनोनीत हुनेछन्। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी निर्वाचन कार्यक्रम तोकिएको आयोगले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.