काठमाडौँ – नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा संलग्न हुन थालेपछि राजीनामाको क्रम सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास गरी तीन वटा प्रभावशाली मन्त्रालयको बागडोर सम्हालेका कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका छन्।
ऊनी कुनै पनि राजनीतिक दलको सदस्य नरहेको जवाफ सार्वजनिक रूपमा दिएको भोलिपल्टै राजीनामा बुझाउन पुगेका हुन्। एक सार्वजनिक कार्यक्रममा प्रश्नकर्ताले घिसिङलाई नागरिक सरकारको मन्त्री कि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मन्त्री ? भनेर प्रश्न गरेका थिए। त्यसक्रममा मन्त्री घिसिङले आफू कुनै पनि दलको सदस्य नरहेको बताएका थिए।
चुनाव नजिकिँदै जाँदा घिसिङसहित सञ्चारमन्त्री जगदीश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ता राजनीतिक क्रियाकलापमा सक्रिय रहेको आरोप लागेको छ। घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी नै रास्वपासँग एकीकरण भएको तथ्य पनि बाहिर आइसकेको छ।
जेनजी आन्दोलनको बलमा गठन भएको स्वतन्त्र र निर्दलीय दाबी गरिएको चुनावी सरकारका मन्त्रीहरू नै राजनीतिक गतिविधिमा लागेपछि सरकारको तटस्थतामाथि प्रश्न उठ्न थालेको छ। कतिपय विश्लेषकले यस अवस्थाले आगामी निर्वाचनको निष्पक्षतामाथि गम्भीर असर पार्न सक्ने टिप्पणी गरेका छन्।
चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमै राजनीतिमा संलग्न हुन चाहने मन्त्रीहरूले राजीनामा दिनुपर्ने स्पष्ट निर्देशन दिएकी थिइन्। मन्त्रीहरूको राजनीतिक सक्रियताप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री कार्कीले कुलमानलाई सरकार छाड्न स्पष्ट रूपमा भनेकी थिइन्।
सरकारप्रति अविश्वास उत्पन्न नहोस्, चुनावको तयारीका लागि पर्याप्त समय मिलोस् र नैतिकता पनि प्रदर्शन भएको देखियोस् भन्ने दृष्टिले राजीनामा दुवै पक्षका लागि उपयुक्त हुने प्रधानमन्त्रीको भनाइ थियो। यही सन्दर्भमा कुलमानको राजीनामाले नैतिकताको आधारमा दिएको यो कदम अरू मन्त्रीहरूमा पनि लागू हुन्छ कि हुँदैन ? भन्ने प्रश्नलाई समेत सतहमा ल्याएको छ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै कुलमान घिसिङले बुधबार अबेर मन्त्री पदबाट राजीनामा दिएका हुन्। २०८२ भदौ ३० गते नियुक्त भएका घिसिङले हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पेस गरेका छन्।
जेनजी आन्दोलनपछि गठन भएको सरकारको मन्त्रीको रूपमा काम गर्ने अवसर प्रदान गरेकोमा कुलमानले प्रधानमन्त्रीप्रति धन्यवाद ज्ञापन गरेका छन्। आफूले सम्हालेका मन्त्रालय र मातहतका निकायमा सुशासन कायम गर्न, काम नगरी वर्षौँदेखि अलपत्र पारिएका विकास परियोजनालाई बन्धक बनाउने प्रवृत्ति रोक्न, ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको सुधार, पूर्वाधार विकास र जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको कुरा उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
कुलमानले बुधबार नै बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरी राजीनामा पत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे तीन महिना अवधिमा तीन वटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व गरेको भन्दै उनलाई बधाई तथा धन्यवाद दिएकी छन्।
‘निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘रातदिन नभनी खट्नुभयो। देशका विभिन्न भागमा पुग्नुभयो। विपद्को बेला उस्तै सक्रिय रहनुभयो। विपद्ग्रस्त क्षेत्रमा आफै पुगेर खट्नुभयो। विकास निर्माणका बेथितिविरुद्ध कठोर कदम चाल्नुभयो। यो कुरा देशले सम्झनेछ, जनताले मूल्याङ्कन गर्नेछन्।’
प्रधानमन्त्री कार्कीले कुलमानको आगामी राजनीतिक जीवन अझ सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गरिन्। ‘तपाईँ आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनुभएको होइन। हामीले नै निम्त्याएका हौँ। जेनजी युवाले तपाईँको माग गरेका हुन्। चुनाव लागेपछि राजनीतिमा जान छुट पाउने गरी नै तपाईँलाई भित्र्याएका हौँ,’ उनले भनिन्, ‘कुनै सुविधा नलिएर निःस्वार्थ सेवा गर्नुभयो। आउँदा दिनमा देशका लागि अझ ठूलो काम गर्न सक्नुहुनेछ। त्यसका लागि म अहिले नै बधाई दिन चाहन्छु।’
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार मन्त्री घिसिङले पनि यो अन्तरिम अवधिमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.