काठमाडौँ – अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामाथि हिंसा हुने गरे पनि कतै सुनुवाइ नहुने, रिपोर्टिङ गर्ने कुनै संयन्त्र नहुने अवस्थाले अब चुप बसेर नहुने निष्कर्षमा आफू पुगेको समावेशी समाजवादी पार्टीकी केन्द्रीय सदस्य भावना तामाङ क्षेत्री बताउँछिन्।
“अब हामी पनि राजनीतिमा आउनुपर्छ, हाम्रो पनि कुरा राज्यले सुनिदिनुपर्छ,” उनी भन्छिन्। यही आवाज संसद्सम्म पुर्याउने उद्देश्यले भावना प्रतिनिधिसभाको आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बनेकी छन्।
उजुरी दिने ठाउँ नै नभएको पीडादायी यथार्थ भोग्दै आएकी भावना सडकबाट आवाज उठाउँदै सङ्घर्षमा होमिएकी हुन्। अब भने उनी व्यक्तिगत होइन, सामूहिक आवाज संसदमा पुर्याउने अठोटका साथ चुनावी मैदानमा उत्रिएकी छन्।
मनोरञ्जन क्षेत्रमा लागेका दिदीबहिनीहरूको पीडालाई लिएर आफू लामो समयदेखि सामाजिक अभियानमा सक्रिय हुँदै आएको उनले बताइन्। नुवाकोट घर भएकी भावना हाल काठमाडौँमा बस्दै आएकी छन्।
समावेशी समाजवादी पार्टीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, पिछडिएको वर्ग, मुस्लिम समुदाय, दृष्टिविहीन, साथै मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूको सक्रिय सहभागिता रहेको उनी बताउँछिन्।
भावनाले अनौपचारिक क्षेत्रमा काम गर्ने महिला दिदीबहिनीहरू तथा पुरुष श्रमिकहरूको आवाज विभिन्न सङ्घ–संस्थामार्फत उठाउँदै आइरहेकी छन्। तर, “सरकारले सुन्ने मात्रै गरेको छ, कार्यान्वयन कहिल्यै भएन,” उनी भन्छिन्। यही कारण प्रतिनिधिसभाको फागुन २१ गते हुने चुनावमा उनी समानुपातिक उम्मेदवार बनेकी हुन्। उनले सम्पूर्ण आमाबुबा, दिदीबहिनी र दाजुभाइलाई भोट दिएर संसद्सम्म पुर्याइदिन अनुरोध गरेकी छन्।
“हिंसा भन्ने कुरा हामी महिलाले घरदेखि नै भोग्दै आएका हुन्छौँ,” भावना भन्छिन्, “विदेशमा गएर त्यही घरकै काम गर्दा महिलालाई सम्मान गरिन्छ, तर नेपालभित्र कसैको घरमा काम गर्दा विभेद सहनुपर्छ।”
अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले आफ्नो हकअधिकारबारे बोल्न र हिंसा भएमा कतै पनि रिपोर्ट गर्न नपाउने अवस्था रहेको उनी सुनाउँछिन्। “राज्यले सुनेको छैन, सरकारी निकाय कसैले पनि हाम्रो कुरा उठाइदिएको छैन,” उनको भनाइ छ। उनी महिला हिंसा अन्त्य हुनैपर्नेमा जोड दिन्छिन्।
मनोरञ्जन क्षेत्र, अनौपचारिक श्रम, महिला र तेस्रोलिंगी समुदायमाथि भइरहेको संरचनागत विभेद र राज्यको बेवास्ताविरुद्ध संसदबाटै आवाज उठाउने सङ्कल्पसहित समावेशी समाजवादी पार्टीका लडाकु उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
तेस्रोलिंगी पहिचानकै कारण रोजगारीबाट वञ्चित भई नेपाल छोड्न बाध्य हुनुपरेको यथार्थ अन्त्य हुनुपर्ने समावेशी समाजवादी पार्टीकी केन्द्रीय सदस्य तेस्रोलिंगी टिना राईको भनाइ छ। राज्यले रोजगारी नीतिमा समावेशी दृष्टिकोण अपनाउन नसक्दा जीविकोपार्जनका लागि बिदेसिन बाध्य भइरहेको उनी बताउँछिन्। “कति मान्छे नेपाल छोडेर विदेश जान्छन्। नेपालमा रोजगारी छैन भन्छन्,” उनले भनिन्, “गर्न सकियो भने नेपालमै पनि रोजगारी छ, तर अवसर दिइएको छैन।”
रोजगारीसँगै स्वास्थ्य र शिक्षामा पनि तेस्रोलिंगी समुदायले संरचनागत विभेद भोग्दै आएको टिना बताउँछिन्। पहिचानकै कारण सरकारी तथा निजी स्वास्थ्य संस्थामा सहज उपचार नपाउने, आधारभूत स्वास्थ्य सेवामा पहुँच कमजोर हुने र शिक्षा प्रणालीभित्रै विभेदका कारण पढाइ छोड्नुपर्ने अवस्था अझै अन्त्य नभएको उनको भनाइ छ। यसले रोजगारीका अवसर थप सीमित बनाएको उनी उल्लेख गर्छिन्।
उनका मुख्य एजेन्डामा वृद्ध–वृद्धालाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने, सडक बालबालिकालाई विद्यालयसम्म पुर्याउने तथा वातावरण संरक्षण रहेका छन्। राज्यको पहुँचबाट बाहिर परेका बालबालिकालाई श्रममा होइन, शिक्षामा जोड्नुपर्ने उनको जोड छ। “बालबालिकालाई सडकमा होइन, विद्यालयमा पुर्याउने सोच हो,” टिना भन्छिन्।
स्वास्थ्य, शिक्षा र रोजगारी एक–आपसमा जोडिएको विषय भएको उल्लेख गर्दै टिनाले यी तीनै क्षेत्रमा समावेशी नीति र व्यवहार लागू नभएसम्म महिला, तेस्रोलिंगी तथा अन्य सीमान्तकृत समुदायको जीवनस्तर नउठ्ने बताएकी छन्। यही मुद्दा संसद्सम्म पुर्याएर राज्यलाई जबाफदेही बनाउन आफू अघि बढेको उनको भनाइ छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.