निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

220
SHARES

काठमाडौं – गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गरिएको छ। ओमप्रकाश राईको सङ्गीत र पेमा शेर्पा राईले स्वर दिएको गीतमा एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

सार्वजनिक भए लगत्तै गीत श्रोतामाझ चर्चा पाउन थालेको छ। गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ।

गीत ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। यसअघि पनि गीतकार श्रीराम राईका केही गीत रेकर्ड भइसकेका छन्।

शिला खनालले २०७५ मा राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै मनमा बि राईले २०७९ मा र नवराज पराजुलीले २०८१ मा राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका गीतकार राई दश वर्षे शिक्षण पेसा छोडेर काठमाडौं आएका हुन्। हाल उनी साहित्य र पत्रकारितामा सक्रिय छन्।

उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथा सङ्ग्रह प्रकाशित छन्। राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्।

लघुकथाको उन्नयनमा सक्रिय उनी ‘लघुकथा सौन्दर्य’ का संस्थापक हुन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथा सङ्ग्रह प्रकाशित छन्।

गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथा सङ्ग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ। यसअघि उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत सम्पादन अनुभव बटुलेका छन्।

नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदानको कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सव सम्मान (२०८०) र ‘गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।

समाचार शेयर गर्नुहोस्
220
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.