मन्त्रीको भूमिकामा मुख्यमन्त्रीको प्रश्न, गृहमन्त्रीले दिए जवाफ

मन्त्रीको भूमिकामा मुख्यमन्त्रीको प्रश्न, गृहमन्त्रीले दिए जवाफ

273
SHARES

काठमाडौँ – गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन्। शुक्रवार ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोस्रो म्यान्डेट जेनजी जनआन्दोलनबाट प्राप्त म्यान्डेट गरी मुख्य रूपमा दुई वटा म्यान्डेट रहेको बताए।

पहिलो म्यान्डेट सम्बन्धमा सरकार निर्वाचनमा होमिइसकेकोले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उनले आग्रह गरे। त्यस्तै दोस्रो म्यान्डेटको सम्बन्धमा जेनजी जन आन्दोलन सुशासन कायमको लागि भएको बताउँदै उनले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए।

तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे।

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भइरहेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानिया प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ।

कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने तर्फ सचेत गराउँदै स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने विषयमा जोड दिए।

मुख्यमन्त्री बानियाले अहिलेको निर्वाचनमा विगतका निर्वाचनको समयमा जस्तो भय र त्रासको वातावरण नभएको तर अविश्वासको वातावरण भने कायम रहेको बताउँदै कृत्रिम बौद्धिकता, इन्टरनेट लगायतको प्रयोगबाट हुन सक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायहरूलाई सचेत गराए।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा चारवटै सुरक्षा निकायका प्रमुख १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता छ।

समाचार शेयर गर्नुहोस्
273
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.