निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

शुल्क तिरे दललाई मतदाता विवरण

शुल्क तिरे दललाई मतदाता विवरण

102
SHARES

काठमाडौँ – निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परे निश्चित शुल्क तिरेर उपलब्ध गराउने जनाएको छ।

आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि १० हजार शुल्क तिरेर लिन सकिनेछ। त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिक पत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

आयोगले मतदाताको जन्म मिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ। आयोगले हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ।

एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा पाँच हजार तिरेर लिन सकिनेछ। निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनुपर्नेछ।

कुनै मतदाताले आफ्नो मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार शुल्क लिई त्यस्तो मतदाताको मात्र विवरण आउने गरी मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

यस्तै आयोगले समानुपातिक तर्फको मतपत्र छाप्न सुरु गरेको छ। आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतदाता नामावली र मतपत्र छाप्न सुरु गरेको हो।

सानो ठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छाप्न ठेक्का पाएको छ। केन्द्रले नमुना मतपत्र छपाई सकेपछि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गरेको हो।

निर्वाचन आयोगका अनुसार समानुपातिकमा कुल मतदाताभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छपाइ हुनेछ। करिब दुई करोड मतपत्र समानुपातिकका लागि छपाइ हुनेछ।

फागुन २१ गते हुने निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम भएका छन्। आयोगबाट स्वीकृत डिजाइन अनुसार समानुपातिक मतपत्रमा सेतो कागजमा कालो रङको प्रयोग हुनेछ।

समानुपातिक निर्वाचनमा भाग लिने गरी उम्मेदवारको बन्दसूची पेस गरेका दलका ५८ चिह्न मतपत्रमा हुने छन्। समानुपातिकमा देशभरका लागि एकै प्रकारको मतपत्र प्रयोग हुनेछ। समानुपातिकतर्फ राजनीतिक दलले पुस १३ र १४ गते बन्दसूची बुझाएका थिए।

समाचार शेयर गर्नुहोस्
102
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.